Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • प्रधानमन्त्री ओलीले अध्यादेश ल्याउलान् ?


    बिहिबार, असार १८ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सरकारले मन्त्रिपरिषद बैठक बोलाएर संसद अधिवेशन अकस्मात् अन्त्य गर्ने निर्णय गरेपछि राजनीतिक बृत्तमा अध्यादेश ल्याउने खेल सुरु भएको अड्कलबाजी गरिएको छ । संसदीय दल र पार्टीहरुसँग परामर्श नै नगरी सरकारले अधिवेशनको अन्त्य गरेको छ । अधिवेशनको अन्त्य गर्नासाथ राजनीतिक बृत्तमा पार्टी फुटाउन सहज हुनेगरी प्रधानमन्त्री ओलीले अध्यादेशमार्फत् राजनीतिक दलसम्बन्धि ऐन संशोधन गर्न लागेको चर्चा सुरु भएको छ ।

    संसदको चालू अधिबेशन आजैदेखि अन्त्य गर्न सिफारिस गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याउन खोजेको आशंका पार्टीका नेताहरुले गरेका छन् । पार्टीभित्र अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा मागिएपछि ओली क्रुद्ध भएका छन् । आफूलाई घेराबन्दीमा पारिएकाले पनि उनी नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र शीर्षनेताहरुसँग क्रुद्ध छन् । उनी कुनै हालतमा सरकार पनि नछाड्ने र अध्यक्ष पनि नछाड्ने मनस्थितिमा छन् । यद्यपि पार्टीका उनी निकट नेताहरु शंकर पोखरेल, बिष्णु पौडेल, सुवास नेम्वाङहरु पार्टीभित्र एकता कायम गरेर जानुपर्ने पक्षमा देखिएका छन् । तर प्रधानमन्त्री ओली भने आफूलाई राजीनामा दिन बाध्य बनाए पार्टी फुटाउने तयारीमा रहेको बताइन्छ ।

    यसअघि पनि ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएका थिए । तर पार्टीभित्रै चर्काे आलोचना भएपछि फिर्ता भएको थियो । संसद अधिबेशन आकस्मिक रुपमा अन्त्य गर्नुले त्यसको संकेत मिलेको छ । ओलीका निकट कार्यकर्ताहरुले असार १२ मै निर्वाचन आयोगमा एमाले दर्ताका लागि निवेदन दिइसकेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार