काठमाडौ । नेपाल प्रहरीमा महानिरीक्षक शैलेश थापा क्षेत्रीको अवकाशको दिन नजिकिदै गर्दा उनलाई बदनाम हुनेगरी प्रवन्धमा सामान खरिद गर्न लागिएको छ । नेपाल प्रहरीमा थापा आइसकेपछि २ चरणमा एसपीको सरुवा भए पनि प्रबन्ध निर्देशनालयका प्रेम बस्नेतलाई चलाइएको छैन ।
ठाकुरप्रसाद ज्ञवाली आइजीपी हुँदा प्रबन्धमा ल्याइएका बस्नेतलाई वर्तमान महानिरीक्षकले प्रबन्धमै राखेका छन् । आइजीपी थापा क्षेत्री प्रहरीका बन्दोबस्तीका सामान खरिदमा आफूमाथि अनियमितताको कुनै दाग नलागोस् भनी सचेत देखिन्छन् । तर उनकै निकट एक एसएसपीले एसपी प्रेम बस्नेतलाई प्रबन्धमा राखी खरिदमा चलखेल गर्दैआएका छन् ।
आइजीपी थापाको अवकाशको समय नजिक आइरहँदा प्रहरीको ठेक्कामा सेटिङ भइरहेको स्रोत बताउँछ । प्रबन्धमा बसेर खुलेआम भ्रष्टाचार गर्दै आएका बस्नेतसहितको टोलीलाई उनले न त हटाए न त भ्रष्टाचारको छानबिन नै गरेका छन् ।
नेपाल प्रहरीमा सामान सप्लाई गर्ने ठेकेदारहरूले आफूहरूले विगतका बर्षहरूमा जस्तै ठेक्का पाएको रकमको प्रतिशतको आधारमा कमिशन बुझाउनु परिरहेको गुनासो गरिरहेका छन् । आइजीपी थापा सून्य सहनशीलताको पक्षमा भए खरिदको कमिसन कसले लिइरहेको छ, यसबारेमा भने संगठन प्रमुखले छानबिन गर्न सकेका छैनन् । सामानको ठेक्का पाइसकेपछि पाउने एडभान्स रकमबापत पनि प्रबन्धमा कमिशन बुझाउनुपर्ने, म्याद थप गर्दा पनि कमिशन बुझाउनुपर्ने मात्रै होइन सामानको भुक्तानी लिएपछि पनि कमिशन बुझाउनुपर्ने बाध्यता रहेको ठेकेदारहरुको गुनासो छ ।
अहिले नयाँ निकाल्न लागेको टेण्डरमा पनि त्यस्तै सेटिङ गरी ठूलो कमिशनको चलखेल भइरहेको छ । प्रहरीमा अण्डरभेष्ट ट्राउजर, प्लेन डाङ्री र ब्ल्याङ्केटको टेण्डर निकाल्ने अन्तिम तयारी भइरहेको छ । उक्त टेण्डरमा ठेकेदार श्रवण अग्रवालको समूहसँग सेटिङ गरी उनीहरूको स्पेक (नमुना) राखेर टेण्डर निकाल्ने तयारी भैरहेको स्रोतले बताएको छ । कसरी सेटिङ भइरहेको छ भन्ने दृष्टान्तका रुपमा प्लेन डाङ्रीमा ७५ प्रतिशत पोलिष्टर र २५ प्रतिशत भिसकोस राखी २२५ जिएसएम राखेर टेण्डर निकाल्ने तयारीलाई नै लिन सकिन्छ । स्रोतका अनुसार अहिले यो सेटिङ मिलाउने र निश्चित ठेकेदारको स्पेक राखेर टेण्डर मिलाउने काम एसपी प्रेम बस्नेतले गरिरहेका छन् ।
नेपाल प्रहरीको ठेक्कामा सेटिङ गरी आफ्नो स्पेक राखेर टेण्डर आह्वान गर्न लगाउने ठेकेदार श्रवण अग्रवालको समूहमा राजमान मिश्र, टोपेन्द्र बीसी र वीरेन्द्र जोशी सम्मिलित छन् । विगतमा ज्ञानेन्द्र बस्नेत, पिताम्बर मुन्काहरुको समूहले प्रहरीमा सेटिङमा ठेक्का लिने गरेको थियो । पछिल्ला बर्षमा श्रवण अग्रवालको समूहले आइजीपी निकट एक एसएसपी र प्रेम बस्नेतसँग सेटिङ मिलाएर प्रहरीका ठेक्का लिंदैआएको छ । अहिले निकाल्न लागिएको अण्डरभेष्ट ट्राउजर, प्लेन डाङ्री र ब्ल्याङ्केटको ठेक्का श्रवण अग्रवालकै समूहले पाउने लगभग निश्चित रहेको स्रोत बताउँछ । प्रहरीले बन्दोबस्तीका धेरै सामानको टेण्डर गर्दैछ । श्रवण अग्रवालको समूहको स्पेकिफिकेसनसँग मिल्नेगरी टेण्डर निकाल्ने सेटिङ भइसकेको छ ।
प्रबन्धमा सरुवापछि एसपी बस्नेत मालामाल
आइजीपी शैलेश थापा क्षेत्री प्रहरीको खरिद प्रक्रिया पारदर्शी होस् भन्ने चाहन्छन् । तर प्रबन्धका एसपी प्रेम बस्नेत र उनलाई त्यहाँ टिकाउन आइजीपीलाई सल्लाह दिनेहरुले भने ठेक्कामा विगतकै जस्तो दस्तुरी लिई नै रहेका छन् । । विगतको दस्तुरी लिने क्रम आइजीपीको चाहना नै नभए पनि रोकिएको छैन । प्रबन्धका एसपी बस्नेत २ बर्षभन्दा बढी समयदेखि प्रबन्धमा छन् ।
प्रबन्धमा बस्नेत आएपछि नेपाल प्रहरीमा २ पटक एसपीको सरुवा भइसक्यो तर उनको सरुवा भएको छैन । ठेकेदारहरुसँगको सेटिङबाट उनको आर्थिक बैभव पनि करोडौंमा पुगेको प्रहरीभित्रै चर्चाको बिषय बन्ने गरेको छ । प्रबन्धमा सरुवा भइसकेपछि उनले बुढानीलकन्ठमा १० आना जग्गा खरिद गरी बंगलो निर्माण गरी हालसालै सरि पनि सकेको प्रहरी स्रोतले बताएको छ ।