काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेको छ । बुधबार निगमले इन्धनको मूल्यबृद्धि गरेको हो । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा समान प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरेको जनाएको छ ।
इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्य अनुसारको घाटा समायोजनका लागि भन्दै निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको जनाएको छ । माघ ५ गते राति १२ बजेदेखि लागू हुनेगरि मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।
निगमका अनुसार पेट्रोल, डिजेल र मट्टीतेलको साबिक मूल्यमा ३ रुपैयाँ बढाइएको हो । नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १३९ र डिजेल तथा मट्टितेलको मूल्य १२२ रुपैयाँ कायम भएको छ ।
यस्तै, आन्तरिक हवाई इन्धनतर्फ प्रतिलिटर ५ रुपैयाँ बढाइएको छ । अब हवाई इन्धनको मूल्य आन्तरिकमा प्रतिलिटर १०६ रुपैयाँ प्रतिलिटर र अन्तर्राष्ट्रियमा ९९५ अमेरिकी डलर प्रतिकिलोमिटर पुगेको छ। एलपी ग्यासको मूल्य भने बढाइएको छैन ।
नेपालको पेट्रोलियम पदार्थ भारतमा तस्करी
भारतमा भन्दा पेट्रोलिम पदार्थ नेपालमा सस्तो भएकाले तस्करी हुँदैआएको छ । पर्साका विभिन्न नाकाबाट ट्याक्टरमै राति राति पेट्रोलियम पदार्थ भारततर्फ तस्करी हुँदैआएको छ । प्रहरी प्रशासनकै संरक्षणमा नेपालको सस्तो पेट्रोल भारतमा तस्करी हुने गरेको छ । आयल निगमले घाटामा बिक्री गरेको पेट्रोलियम पदार्थ भारततर्फ तस्करी हुँदा नेपालको अर्थतन्त्रमै संकट पैदा गरेको छ ।