Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ‘चार वर्षअघि अस्पताल बनाउन जग्गा दान दिएँ, बल्ल पास भो’


    बुधबार, माघ ५ २०७८
    700
    Shares
    Basu Dev Paudel
  • ५ मिनेट पाठ
  • कर्णाली । तातोपानी गाउँपालिका-६ जुम्ला हियाँखोला निवासी ६० वर्षीय विष्णुदेवी रोकाय १३ वर्षदेखि एकल जीवन बिताइरहेकी छन्।पारिवारिक वेदना र समाजको अपहेलनाले रोकाय सामाजिक, मानसिक र शारीरिक रूपले अस्वस्थ बन्दै गएकी छन्। अहिले उनी सहाराविहीन अवस्थामा छिन्। 

    रोग र शोकले थलिएकी रोकायलाई जीवनमा एकपछि अर्को पीडा थपिरहे।

    अस्पतालको सुविधा नभएकै कारण २०५३/५४ तिर दुःख गरेर हुर्काइसकेका एक छोरा, एक छोरी बिरामी हुँदा राम्रो उपचार नपाएरै बिते। उनीहरूको मृत्युले पारेको पीडा नसकिँदै २०५८ सालमा १८ वर्षको छोरा छक्क रोकायको पनि मृत्यु भयो। 

    नेकपा माओवादीले चलाएको तत्कालीन सशस्त्र विद्रोहका क्रममा भूमिगत समयमा बम विस्फोट भएर छक्कको मृत्यु भएको थियो।

    छोराको पीडा नसकिँदै २०६६ सालमा श्रीमान नरबहादुर रोकायको मृत्यु भयो।

    एकमाथि अर्को पीडा सहेर एकल जीवन जिइरहेकी रोकायले भने आफ्नो पीडाभन्दा ज्यादा समाजले भोग्नुपरेको समस्याबारे पनि चिन्ता गरिन्।

    ‘सानो छँदै छोराछोरी मरे। ती मरेका लालाबालाबाट लागेको पीडाको घाउ नमेटिँदै ठूलो छोरा बित्यो,’ गहभरिको पीडा ओकल्दै उनले भनिन्, ‘पछि आएर आफ्नो जीवनसंगीले नै छोडेर गएपछि १३ वर्षदेखि एक्लो जीवन छ। एक्लो भएर होला, समाजमा पनि निकै अपमान खेपिरहेकी छु। आखिर चित्त बुझाएर बस्दा पनि समाजले सुख दिएन।’ 

    अपमान सहेर एक्लै बस्दा कोही छिमेकीको सहयोग पाउन नसकेको बरु आफूमाथि कुटपिट भएको उनले पीडा पोखिन्। 

    ‘पीडाकै बीचमा मेरा छोराछोरी छैनन् अब त्यो जग्गा के गर्दा ठीक होला भनेर मनमा कुरा खेलाएँ’, उनले भनिन्, ‘अनि सोचे कि पछि जन्मने पनि त मेरा छोराछोरी जस्तै हुन्। उनीहरूको उपचार गर्ने अस्पतालका लागि यो जग्गा दिनुपर्छ।’

    श्रीमान नरबहादुर र छोरा छक्क रोकायको सम्झनामा गाउँ सरकारलाई जग्गादान गरेको उनले बताइन्। जग्गादान गरेको चार वर्षपछि मात्र आधिकारिक रूपमा गाउँ सरकारका नाममा गएपछि रोकायलाई अलि चित्त बुझेको छैन।

    उनले भनिन्, ‘जग्गा चार वर्षअघि दिए, पास अहिले भयो। अहिलेसम्म त अस्पताल निर्माण भइसक्थ्यो नि!’

    गरिब, दुःखीहरूको मुक्तिका लागि युद्ध लडेको छोराले आफ्नो बलिदानपछि सम्पूर्ण जग्गा पार्टीकै नाममा गर्नु आमा भनेकाले विशेषगरी उसकै योगदानको स्मरणमा सुरूमा नेकपा माओवादी पार्टीका नाममा जग्गादान खोजेको उनले जनाइन्।

    तर पछि पार्टीभन्दा पनि सबैले त्यसको लाभ लिन सकून् भनेर सोही वडाको रु ३८ लाख ८२ हजार ६०० बराबरको जग्गादान गाउँ सरकारलाई गरिएको उनले बताइन्। 

    तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले एकल महिला रोकायले दिलैदेखि गाउँ सरकारलाई जग्गा दान गरेको बताए।

    ‘आफैं सहाराविहीन र पीडामा परेको महिलाले अरूको पीडा बुझ्ने कुरा चानचुने होइन,’ अध्यक्ष न्यौपानेले भने, ‘गाउँपालिकाले उहाँको योगदानलाई उचित कदर गर्नेछ।’ 

    उक्त गाउँपालिकाका स्वास्थ्य संयोजक गुरुप्रसाद न्यौपानेले रोकायले दुई कित्ता गरेर तीन हजार ८८२.५ वर्गमिटर जग्गा गाउँपालिकाका अस्पतालका नाममा पास गरेको बताए।

    संयोजकले उक्त जग्गामाथि अब गाउँ सरकारको सुविधा सम्पन्न अस्पताल निर्माण गरिने बताउँदै रोकाय दम्पती र छोरा छक्कसहितको इतिहास रहिरहने गरी योगदानको कदर गरिने जनाए। 

    उनका अनुसार आफ्नो परिवारका सन्तान कोही नहुँदा वरिपरिकाले जग्गामाथि अहिले पनि आँखा गाडिरहेका छन् तर उनको संरक्षण गर्ने मान्छे कोही छैनन्।

    अहिले रोकाया तातोपानी गाउँपालिका-५ निवासी लक्ष्मण पाण्डेसँग आश्रय लिएर बसेका छन्।

    रोकायले भने, ‘मेरै ठाउँमा बनाइदिएको भए कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई आवश्यक जग्गा दिने योजना थियो। तर त्यो मेरो धोको पूरा भएन। त्यो नभए पनि भोलिका दिनमा मेरा छोराछोरी जस्तो उपचार नपाएर कोही कसैले अकालमा ज्यान गुमाउनु नपरोस् भनेर आउँदो पुस्ताको स्वस्थ र सुरक्षित जीवनमा सहयोग पुगोस् भनेर भूमिदान गरेकी छु।’ 

    ‘म छँदै अस्पताल बनेको हेर्ने धोको छ’ एकल महिला विष्णुदेवी रोकाय ज्वरो र कपाल दुख्ने रोगबाट गत साउनमा निकै थलिए।

    उनलाई त्यतिबेला बाँचुला भन्ने आशा हराएको थियो। सौभाग्यवशः उनी बाँच्न सफल भइन्।

    अहिले भने आँखा देख्न नसक्ने रोगले उनी ग्रसित छन्।

    आँखा देख्न छोडेपछि यतिबेला रोकाय कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आँखाको शल्यक्रिया गर्न आएकी छन्। सहाराविहीन उनलाई तातोपानी–६ हाँकु जुम्लाका स्थानीयबासी लक्ष्मण पाण्डेले नै उपचारमा सघाएका छन्।

    सुर्खेत पुगेकी रोकायले भनिन,‘अस्पताल निर्माण गर्न भनेर चार वर्षअघि जग्गा दिएँ तर त्यसको उपभोग गरिएन। एक महिनाअघि मात्र पास गर्ने काम भयो। मैले दिएको जग्गामाथि अस्पताल बनेको हेर्ने मेरो निकै ठूलो धोको छ। जतिसक्दो गाउँ सरकारले छिट्टै अस्पताल निर्माण गरिदेओस्।’ 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार