Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • वालिङका वडावडामै योजना सम्झौता, उपभोक्तालाई सहज


    बुधबार, माघ ५ २०७८
    785
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाले वडाबाटै योजना सम्झौता गरिदिएपछि उपभोक्तालाई सहज भएको छ। 

    वालिङ नगरपालिकाको कार्यालयबाट विनियोजन भएका नगरस्तरीय योजना र वडाबाट छनोट भएका वडास्तरीय योजनाको सम्झौता सम्बन्धित वडाबाटै गरिएको प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले जानकारी दिए।

    ‘नगरले छनोट गरेका र वडाले छनोट गरेका योजनाको एकैदिन सम्बन्धित वडाबाटै सम्झौता गरिएको छ’, उनले भने, ‘प्रमुख प्रशासकीय अधिकृत, योजना शाखाका कर्मचारी, इञ्जिनियर नगरपालिकाबाट वडामा जाने र सम्बन्धित वडाध्यक्ष, सचिव तथा छनोट भएका योजनाका उपभोक्ता समितिका पदाधिकारीकाबीच कार्य सम्झौता गरिएको छ।’

    एकैदिन सम्झौता गर्दा काम समयमै र छिटोछरितो सम्पन्न गर्न सकिने, उपभोक्ता समितिलाई सहज हुने, योजना सम्झौताका लागि नगरपालिका कार्यालयसम्म धाइरहनुपर्ने अवस्थाको अन्त्य हुने र सही उपभोक्ता पहिचान गर्नमा सघाउ पुग्ने मुख्य उद्देश्यले वडा-वडामै योजना सम्झौतालाई अभियानको रूपमा अगाडि बढाइएको उनले बताए।

    ‘सरोकारवाला सबै वडामै भेला भएर आ-आफ्नो योजना सम्झौता गर्न सकिने भएकाले उपभोक्तालाई सहज हुन्छ’, उनले भने, ‘यो एक प्रकारको घुम्ती सेवा जस्तै हो, उपभोक्ता समितिले योजना सम्झौतापश्चात अन्तिममा काम सकेर भुक्तानीका लागि मात्रै नगरपालिका कार्यालयमा आए पुग्छ, एउटै कामका लागि पटक-पटक आइरहनुपर्दैन।’

    चालु आर्थिक वर्षदेखि लागू हुने गरी वडा-वडामै पुगेर योजना सम्झौता अभियान थालिएको हो।

    चालु आर्थिक वर्षमा वालिङ नगरपालिकामा नगरस्तरीय ८५ र वडास्तरीय ४७६ योजना तथा कार्यक्रम रहेको योजना शाखाका प्रमुख ज्ञानप्रसाद पाण्डेले जानकारी दिए।

    १४ वटा वडा रहेको नगरपालिकाका हालसम्म १० वटा वडामा सम्झौता गर्ने कार्य सकिएको छ भने बाँकी रहेका वडामा सम्झौता अन्तिम प्रक्रियामा रहेको पाण्डेले बताए।

    नगरपालिकाले चालु आर्थिक वर्षका लागि पुँजीगत र चालु गरी कूल रु ९३ करोड ५७ लाख ५८१ बजेट विनियोजन गरेको छ।

    वालिङ नगरपालिकाले योजनाको सुरूआतदेखि सम्पन्न हुँदासम्मका सबै प्रक्रियालाई एकीकृत गरी योजनापुस्तिका प्रकाशन गरेकाले थप सहजता भएको छ। 

    नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले निर्दिष्ट गरेको स्थानीय तहको अधिकार क्षेत्रभित्रको विकास निर्माण कार्यलाई सरलीकरण र सहभागितामूलक रूपमा सञ्चालन गर्न खरिद ऐन २०६३ नियमावली २०६४ तथा नगरपालिकाको उपभोक्ता समिति कार्य सञ्चालन कार्यविधि २०७४ अनुसार नगरपालिकाको अनुगमन तथा सुपरीवेक्षण कार्य सञ्चालन कार्यविधि २०७८ को प्रावधानलाई समेटेर योजना पुस्तिका निर्माण गरेको नगरपालिकाले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार