तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेत कांग्रेसको १४औं महाधिवेशनमा खुलातर्फको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । सानै उमेरमा नेपाल विद्यार्थी संघमा आबद्ध बस्नेतले त्रिभुवन विश्वविद्यालय नेविसंघ इकाइको अध्यक्षका रूपमा रहेर काम गरें । नेविसंघको महामन्त्रीसमेत भए । अहिले तरुण दलको केन्द्रीय अध्यक्ष छन् । कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वास पात्रका रूपमा रहेका बस्नेत यो महाधिवेशनलाई एकताको महाधिवेशन भन्न रुचाउँछन् । यतिबेला कांग्रेसमा गुटफुट नभई जो जसले जिते पनि त्यसलाई स्वीकारेर जानुपर्ने भन्छन् । हार्नेलाई जित्ने पक्षले सहयोग र काम गर्ने अवसर दिनुपर्ने उनको तर्क छ । अघिल्लो महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवारी दिनबाट वञ्चित भएका उनी अहिले संस्थापन पक्षबाट उम्मेदवारी दिँदैछन् । केन्द्रीय सदस्यमा आफूले जित्ने विषयमा उनी विश्वस्त छन् । महशाधिवेशनका विषयमा केन्द्रित रहेर गरेको कुराकानी :
महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नुभएको छ, कस्तो छ तयारी ?
राजनीतिमा निष्ठा र इमान्दारी महत्वपूर्ण हुन्छ । म त्यही निष्ठा र इमान्दारीको राजनीति गर्न मैले नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनको खुलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको हुँ ।
मैले राजनीतिमार्फत जे जे दिनुपर्ने हो त्यो राजनीतिक दलमा रहेर गर्दै आएको छ । नेपाली कांग्रेसको एउटा सक्रिय कार्यकर्ता हुँ । केन्द्रीय समितिमा जान चाहेको त्यही निष्ठा र इमान्दारीका कारण हो । युवा साथीहरूको भावना र चाहना पूरा गर्न पनि मैले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने निर्णय गरेको हुँ । युवाहरूको भावना र चाहना मैले बुझेको छु । समस्त युवाहरूको चाहना र भावनालाई पार्टीको केन्द्रीय समितिमा राख्न सक्छु, संगठनलाई बलियो बनाउन सानो भए पनि भूमिका निभाउन सक्छु भनेर उम्मेदवारी घोषणा गरेको हुँ ।
तपाईले केन्द्रीय सदस्यमा जित्ने आधार के हो ?
मैले अहिलेसम्म नेविसंघ र तरुण दलमा रहेर जे जसरी काम गरें, सबैले देखेका छन् । अघिल्लो केपी ओली सरकारको निरंकुशता र भ्रष्टाचारविरुद्ध जसरी ७७ रै जिल्लामा विरोध प्रदर्शन मेरै नेतृत्वमा भएको थियो त्यसलाई आमकांग्रेसीले सराहनीय मानेका छन् ।
तीनै तहको निर्वाचनपछि कांग्रेसको आकार खुम्चेको अवस्था थियो । नेताहरू निराश थिए । त्यस्ता अवस्थामा पनि तरुण दलले कम्युनिस्ट सरकारको गलत कामको देशव्यापी भण्डाफोर गरेको कसैले बिर्सेको छैन । नेपालमा कम्युनिस्ट तानाशाही लाद्ने, संविधानविरुद्धका क्रियाकलाप गर्ने, राज्यकोषको मनपरी दोहन गर्ने काम जसरी अघिल्लो ओली सरकारले गरेको थियो, त्यसको विरोध गर्न टाउकोमा कफन बाँधेर म सडकमा उत्रिएको सबैले देखेजाने बुझेकै कुरा हो । हाम्रो सशक्त प्रतिवादका कारण ओली सरकार केही हदसम्म गलत काम गर्नबाट पछि हटेको हो । नेपाली कांग्रेसको साहस र ऊर्जा बढाउन हामीले केही न केही आन्दोलन गरेकै हौं । त्यसैले युवा तरुण मात्र होइन, पार्टीका पुराना नेताहरूले पनि मलाई केन्द्रीय सदस्यमा मत दिएर जिताउनु हुन्छ भन्ने मैले अपेक्षा गरेको छु ।
तरुण दलले पूर्णता नपाई तपाईको कार्यकाल पूरा भयो नि ?
तरुण दलको कार्यसमितिले पूर्णता नपाए पनि सम्पूर्ण जिल्लामा तरुण भेला, प्रशिक्षण गरेका छौं । पार्टीमा देखिएको गुटगत व्यवहारले तरुण दलले पूर्णता नपाएको हो । सभापतिले पटक पटक चाहनु भएको थियो । तर, भागबन्डाका कारण त्यो सम्भव हुन सकेन । पार्टी केन्द्रीय सभापतिबाहेक कुनै नेताले पनि तरुण दलको कार्यसमितिले पूर्णता पाओस् भनेर चाहेको देखिएन । अध्यक्ष भएकाले त्यसको मैले जिम्मेवारी लिनै पर्छ । कार्यसमितिले पूर्णता नपाएकोमा मैले आत्मालोचना गर्नै पर्छ । कांग्रेसको महाधिवेशनपछि लगत्तै तरुण दलको महाधिवेशन गर्ने विषयमा पार्टी नेतृत्व सहमत भएको छ । त्यसपछि तरुण दल सशक्त ढंगले अघि बढ्छ ।
तपाईको एजेन्डा के हो ?
सामाजिक न्यायसहितको आर्थिक समृद्धिको नेतृत्व गर्नुपर्ने, त्यो भावनालाई लिएर अघि बढेको छु । विभिन्न जात, समुदाय, उत्पीडित वर्ग, धर्म, संस्कृतिलाई जोडेर समावेशी विकासको सुनिश्चितता अघि बढाउनुपर्ने मेरो राजनीतिक ध्येय हो । नेपालका युवारूलाई उद्यमशील बनाउने, भविष्यको पुस्तालाई समान र उच्चस्तरको शिक्षा नेपालमै दिलाउने, सबै नागरिकमा उपचारको सहज र पहुँच पु¥याउने मेरा सपना हुन् । त्यो सपना पूरा गर्न पनि मैले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको हुँ ।
नेपाली कांग्रेसको नेतृत्वमै संविधान जारी भएको हो । नेपालको संविधानलाई संस्थागत गर्दै सामाजिक न्याय र आर्थिक समृद्धि अघि बढाउने ऐतिहासिक जिम्मेवारी नेपाली कांग्रेसको काँधमा छ । पार्टीको नेताहरूलाई गाली गर्ने, उनीहरूको अपमान गर्ने पक्षमा म छैन । पार्टीलाई बदनाम बनाएर मेरो राजनीतिक करियर अघि बढ्दैन ।
युवा पुस्ताको ऊर्जालाई पुरानो पुस्ताले लिन सक्नुपर्छ भने पुरानो पुस्ताको योगदानलाई नयाँ पुस्ताले सम्मान गर्नसकेमा आगामी तीनै तहको निर्वाचनमा कांग्रेसले बहुमत ल्याउँछ । त्यसैले महाधिवेशनमा पराजित हुनेको मुटु जित्नेले लिन सक्नुपर्छ । किनभने हार्नेको मुटु दुखेको हुन्छ । त्यसमा जित्नेले सान्त्वना दिँदै अघि बढेमा नेपाली कांग्रेस एकढिक्का हुन्छ । पार्टीको आन्तरिक प्रतिस्पर्धा भएकाले हारजितलाई सामान्य रूपमा लिनुपर्छ ।
कांग्रेस केन्द्रीय समितिमा ललितपुर धेरै पछि छ नि ?
मेरो घरै ललितपुर हो । ललितपुरमा धेरै ठूल्ठूला नेता हुनुहुन्थ्यो । बेनीबहादुर कार्की, योगेशप्रसाद उपाध्याय, किशुनजी, ओमकार श्रेष्ठ, बासु रिसाल ललितपुरकै नेताहरू कांग्रेसको केन्द्रीय कार्यसमितिमा हुनुहुन्थ्यो । तर धेरै लामो समयसम्म केन्द्रीय कार्यसमितिमा ललितपुरबाट प्रतिनिधित्व हुन सकेको छैन । यसपटक धेरै साथीहरू ललितपुरबाट केन्द्रीय कार्यसमितिमा आउन उम्मेदवारी दिँदै हुनुहुन्छ । उहाँहरू राम्रै स्थानमा आउनु हुन्छ भन्ने लाग्छ ।
कांग्रेसमा अबको सभापति को हो ?
सबै नेता त्यागी हुनुहुन्छ । कसैको योगदानलाई कम आँक्नु हुन्न । शेरबहादुर देउवा, रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलालगायत सबै मूर्धन्य नेता हुनुहुन्छ । हिजो केपी ओलीको निरंकुश सत्ता ढाल्न कांग्रेसका शीर्ष नेताहरू मात्र होइन, देशका बुद्धिजीवी, पूर्वप्रधानन्यायाधीश, कानुन व्यवसायी, कर्मचारी, प्राध्यापक वर्ग, विभिन्न दलले शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेका हुन् । देउवाले कांग्रेसको महाधिवेशन आइरहेको छ । म प्रधानमन्त्री बन्दिनँ भन्दा उहाँ धर पाउनु भएन । त्यसैले अहिले देउवा निर्विकल्प नेता हुन् । उहाँकै नेतृत्वले मात्र कम्युनिस्टलाई चुनौती दिन सक्ने देखिएको छ । कांग्रेसको १४औं महाधिवेशनमा देउवालाई फेरि जिताएर उहाँले गर्न बाँकी अधुरा काम पूरा गर्न दिई विश्राम लिन लगाउनु पर्छ । त्यसपछि दोस्रो तेस्रो पुस्ता जो आउँदा पनि फरक पर्दैन । किनभने कांग्रेस त्यसबेलासम्म एउटा सिस्टममा गइसकेको हुनेछ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend