बुटवल। नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदेशको नेतृत्वका लागि नेताहरूबीच रस्साकस्सी सुरू भएको छ । लुम्बिनी प्रदेशको अध्यक्षका लागि अहिलेसम्म चार जनाले आफ्नो दाबी प्रस्तुत गरेका छन् ।
लुम्बिनी प्रदेशका सांसदद्वय दिपेन्द्र पुन र दामा शर्मा, राष्ट्रियसभा सदस्य तथा पार्टीका प्रदेश कमिटी सदस्य जगप्रसाद शर्मा र पार्टी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले नेतृत्वका लागि आन्तरिक गृहकार्य गरिरहेका छन् ।
माओवादी केन्द्रको लुम्बिनी प्रदेश सम्मेलन २५ र २६ मंसिरमा दाङको भालुवाङमा हुँदै छ । लुम्बिनी प्रदेशमा आफ्नो प्रभाव जमाएका केन्द्रीय नेताहरू वर्षमान पुन र पूर्व सभामुख ओनसरी घर्तीले लुम्बिनी प्रदेश अध्यक्षमा दिपेन्द्र पुनलाई ल्याउन चाहेको कार्यकर्तामाझ चर्चा छ । तर, अर्थमन्त्रीसमेत रहेका माओवादी नेता जनार्दन शर्मा प्रभाकरले भने दामा शर्मालाई प्रदेशको नेतृत्वमा ल्याउन चाहेको माओवादी प्रदेश कमिटीका एक सदस्यले बताए।
तर पार्टी केन्द्रले भने दुई पक्ष लड्दा विवाद चर्कने भन्दै कपिलवस्तुका डोरप्रसाद उपाध्यायलाई प्रदेश कमिटी अध्यक्षमा ल्याउने गरी छलफल थालेको छ । ‘पुन र शर्मालाई केन्द्रीय नेताले बोक्दा दुईथरी गुट सक्रिय भएदेखि नै पार्टी केन्द्रले सहमतिका लागि तेस्रो विकल्पमा पनि छलफल अगाडि बढाएको पाएका छौं,’ ती नेताले भने ।
पार्टीले निर्णय गरेर पठाए आफू प्रदेशको नेतृत्व सम्हाल्न तयार रहेको उपाध्यायले बताए । ‘केन्द्रीय कार्यालयमा रहे पनि पार्टीले निर्णय गरेर पठाउँछ भने म जिम्मेवारी लिन तयार छु,’ उनले भने ।
अर्की दाबेदार दामा शर्माले माओवादीमा महिला सहभागिता धेरै भएको भन्दै नेतृत्वमा पनि यही प्रकारको सहभागिता रहने विश्वास व्यक्त गरिन् । आफूले केन्द्रमा पाएमा भने इच्छा नगर्ने उनको भनाइ छ । माओवादीको प्रदेश कमिटीमा एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, एक सहसचिव र एक कोषाध्यक्ष गरी सातजना पदाधिकारी रहने विधानमा व्यवस्था छ ।
लुम्बिनीबाट नेताहरु कृष्णबहादुर महरा, वर्षमान पुन, ओनसरि घर्ती, कुलप्रसाद केसी, चन्द्रप्रकाश खनाल, बामदेव क्षेत्री, सुदर्शन बराललगायतका नेताहरुले केन्द्रमा प्रभाव जमाएका छन् ।
लुम्बिनी प्रदेश कमिटी इन्चार्जमा माओवादी स्थायी कमिटी सदस्य चन्द्रप्रकाश खनाल बलदेव छन् । प्रादेशिक संरचना बलियो बन्न लागेकाले यसअघि केन्द्रमा रहन चाहेका नेताहरू प्रदेशको नेतृत्वका लागि ईच्छुक देखिएका छन् । माओवादीको विधानअनुसार अब प्रदेश कमिटीमा रहने कुनै पनि नेता केन्द्रीय कमिटीमा रहन पाउँदैनन् । सम्मेलनमा १०९ वटै पालिकाबाट भौगोलिक उपस्थिति हुने प्रचारप्रसार संयोजक जीवन गौतमले बताए । माओवादीको लुम्बिनी प्रदेश कमिटी २०५ सदस्यीय हुनेछ । २०५ सदस्यीय कमिटीमा १०९ जना पालिकाबाट छानिने छन् ।
२०५ सदस्यीय लुम्बिनी प्रदेश सम्मेलनमा ७६ जना खुला रूपमा छानिने प्रचारप्रसार संयोजक गौतमको भनाइ छ । माओवादीले महिला सहभागिता ३५ प्रतिशत गराउने भएको छ । यस आधारमा लुम्बिनी प्रदेश समितिमा ७० जनाको महिला प्रतिनिधित्व हुनेछ । दलितको प्रतिनिधित्व ३० जना अर्थात १५ प्रतिशत हुने छ भने मुस्लिम समुदायको सहभागिता पाँच प्रतिशत हुनेछ । प्रदेश समितिमा १० जना मुस्लिमको कोटाबाट छानिने छन् । लुम्बिनी प्रदेशमा माओवादीको कुल पार्टी सदस्य संख्या एक लाख १२ हजार रहेको छ ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend