खोटाङ । मातृभाषाको प्रवर्धनमा खोटाङमा वहुभाषिक कविता गोष्ठी आयोजना गरिएको छ। विभिन्न भाषाभाषीको संरक्षण र संवर्धनमा टेवा पुर्याउनका लागि नेपाल प्रज्ञा प्रतिष्ठान साहित्य (समालोचना र निवन्ध) विभाग तथा साहित्य (मातृभाषा) विभागले टेम्के तुवाचुङ प्रतिष्ठान खोटाङसँगको सहकार्यमा वहुभाषिक कविता गोष्ठी गरेको हो ।
मंगलबार जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरिएको वहुभाषिक कविता गोष्ठीमा विभिन्न भाषाभाषीका श्रष्टाले आ–आफ्नो कविता वाचन गरेका थिए ।
वहुभाषिक कविता गोष्ठीमा विभिन्न भाषाका ३३ वटा कविता वाचन गरिएको आयोजकले जनाएको छ । वहुभाषिक कविता गोष्ठीमा नेपाली, चाम्लिङ, वाम्बुले, तिलुङ, मगर, भुजेल, तामाङ, नाछिरिङ, साम्पाङ लगायतका भाषाका साहित्य श्रष्टाले कविता वाचन गरेको टेम्के तुवाचुङ प्रतिष्ठानका सदस्य युगसन किरातले बताए । ‘लोपोन्मुख बन्दै गएको मातृभाषा संरक्षण अभियान अब साहित्यका माध्यमबाट सफल बनाउन सम्भव छ,’ किरातले भने, ‘साहित्यको विकास पनि हुन्छ, भाषाको प्रवर्धनमा पनि हुन्छ । यसका कारण वहुभाषिक कविता गोष्ठी आयोजना गरिएको हो ।’
कार्यक्रममा ‘खोटाङ जिल्लामा नेपाली साहित्यको अवस्था’का विषयमा साहित्यकार एवं प्राध्यपक डा. धनप्रसाद सुवेदी र ‘खोटाङ जिल्लामा मातृभाषाको साहित्य लेखन’का विषयमा मातृभाषा संरक्षणका अभियान्ता एवं सितिमि मासिकका सम्पादक तिलक चाम्लिङले कार्यपत्र प्रस्तुत गरेका थिए । सुवेदीको कार्यपत्रमाथि साहित्यकार एवं अध्यापक रामविक्रम थापा र चाम्लिङको कार्यपत्रमाथि साहित्यकार एवं अध्यापक बेदीकुमार राईले टिप्पणी गरेका थिए ।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठान साहित्य (समालोचना र निवन्ध) विभागका प्रमुख प्राध्यपक डा. गोपिन्द्र पौडेल, नेपाल प्रज्ञा प्रतिष्ठान साहित्य (मातृभाषा) विभागका प्रमुख लक्ष्मी माली, वरिष्ठ कवि तथा साहित्यकार स्नेह सायमी लगायतको उपस्थिति रहेको थियो ।