Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ३३ किलो सुनकाण्डः अग्रवाल समातिंदा रोशन भूसाललाई प्रधानन्यायाधीशले दिए उन्मुक्ति 


    मंगलबार, मंसिर २१ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • ६ मिनेट पाठ
  • काठमाडौं । इन्टरपोलबाट ‘रेड नोटिस’ जारी गरिएका फरार प्रतिवादी कृष्णगोपाल अग्रवाललाई ३ दिनअघि आइतबार प्रहरीले पक्राउ गरेको छ । यूएईको दुबईमा बस्दैआएका अग्रवाल नेपाल आउँदैछन् भन्ने सूचना पाएको प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाबाट खटिएको टोलीले उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिनासाथ पक्राउ गरेको हो ।

    सुनको अवैध चोरीपैठारी र निकासी, अपहरण र शरीर बन्धक तथा कर्तव्य ज्यान मुद्दामा फरार रहेका प्रतिवादी हुन् अग्रवाल । प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाबाट खटिएको प्रहरीले उनलाई विमानस्थलबाटै पक्राउ गरेको हो ।

    आइतबार पक्राउ परेका अग्रवाललाई जिल्ला अदालत मोरङले भोलिपल्टै  २ लाख धरौटीमा छाड्ने आदेश दिएको छ । न्यायाधीश भरत लम्सालको इजलासले सोमबार अग्रवाललाई २ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

    kg agrawal.jpg
    पाँच बर्षपछि विमानस्थलबाट आइतबार पक्राउ परेका कृष्णगोपाल अग्रवाल 

    अग्रवाल र खड्का पक्राउ पर्दा भूसाललाई उन्मुक्ति

    ५ बर्षअघि २०७३ पुसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको ३३ किलो अवैध सुन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले बरामद गरेको थियो । उक्त सुन दुवईबाट नेपालमा पठाउने मुख्य नाइके रोशन भूसाल भनिने गुप्तलाल भूसाल, हरिशरण खड्का र कृष्ण अग्रवालहरुको भएको खुल्यो । भूसाल, खड्का र अग्रवाल दुवईमा बसी नेपालमा सुन तस्करी गर्दैआएको पुष्टि भएपछि सीआइबीले उनीहरुको खोजी गर्यो तर सुनसहित भरिया गोपालबहादुर शाहीहरु पक्राउ परेपछि भुसाल, खड्का र अग्रवाल दुवई फरार भएका थिए ।

    प्रहरीले पक्राउ गर्न नसकेपछि उनीहरुका बिरुद्ध रेडकर्नर नोटिस जारी गरेको थियो । यी तीनजनामध्ये भूसालले तत्कालीन प्रहरी महानिरीक्षक प्रकाश अर्यालसँग सेटिङ गरी थुनामा नबस्नेगरी अदालतमा हाजिर भए । जिल्ला अदालत काठमाडौं हुँदै सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाका भाइ प्रभुशमशेर राणासँग सेटिङ मिलाई नेपालमा एक दिन पनि थुनामा नबसी उन्मुक्ति पाएका छन् ।

    रेडकर्नर नोटिसका आधारमा हरिशरण खड्कालाई यूएई प्रहरीले २०७५ माघमा पक्राउ गरेको थियो । यूएईमा पक्राउ परेका उनी केही समयपछि छुटेका थिए । दुबईको जेलबाट छुटेका खड्कालाई नेपाल आउने क्रममा नेपाल प्रहरीको बिशेष टोलीले २०७७ असार २७ मा त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको थियो । उनी पनि दुवईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लनासाथ पक्राउ परेका थिए ।

    ३३ किलो सुन तस्करीका अर्का नाइके कृष्णगोपाल अग्रवाल आइतबार पक्राउ परेका छन् । खड्का र अग्रवाल पक्राउ परे पनि भूसाल पक्राउ नै नपरी प्रधानन्यायाधीश राणाका भाइ प्रभुसँग सेटिङ गरी जोगिन सफल भएका छन् । प्रधानन्यायाधीश राणाले सुनतस्करबाट समेत घुस लिएको तथ्य भूसाल प्रकरणबाट खुलेको छ ।  

    भूसाल, खड्का र अग्रवाल अहिलेसम्म नभेटिएको ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याप्रकरणमा कैद संजाय भोगिरहेका चुडामणि उप्रेती ‘गोरे’सँग पनि कनेक्सन भएका अन्तर्राष्ट्रिय तस्कर भए पनि अदालत नै सेटिङ गरी जोगिन सफल भएका छन् । प्रहरीले भूसाल र खड्काका बिरुद्ध रेडकर्नर नोटिस जारी गर्दा पनि उनी भने पटक पटक दुबई ओहोरदोहोर गरिरहन्थे ।

    अध्यागमन र विमानस्थल प्रहरी समेत सेटिङ गरी उनी नेपाल पटक पटक आउने जाने गर्दैआएका थिए । त्यसैक्रममा तत्कालीन आइजीपी प्रकाश अर्यालले उनलाई थुनामै नराखी अदालतमा हाजिर हुने प्रबन्ध मिलाइदिएका थिए । अदालतमा सेटिङ गरी अति कम धरौटीमा रिहा भए र आफूबिरुद्धको रेडकर्नर नोटिस नै हटाउन सफल भए ।

    भूसालको सेटिङ कहाँ कहाँसम्म ?

    सुनतस्करीमा संलग्न भनेर त्यतिबेला सीआइबीले विमानस्थलका एसपी श्याम खत्री, गोपालबहादुर शाही, दिलबन्धु थापा, सन्तोष काफ्ले, रामहरि कार्की, विमानस्थल भन्सारका तथ्यांक अधिकृत श्रीनारायण यादव, राजकुमार ढकाल, श्यामकृष्ण श्रेष्ठ, राजेश शाक्य, सुनिल श्रेष्ठ, सपन श्रेष्ठ, मनोज श्रेष्ठलाई पक्राउ गरेको थियो । तर दुवईबाट सुन नेपालमा पठाउँदैआएका भूसाल र खत्रीलाई भने पक्राउ गरेको थिएन । ती मध्ये खड्का पक्राउ परे तर भूसाललाई प्रहरीका उच्च अधिकारीले नै जोगाउने काम गरेका थिए ।

    भूसाल र हरिशरण खड्का नै ३३ किलो सुन तस्करी प्रकरणका प्रमुख नाइके भएको भन्दै सिआइबीले मुद्दा दायर गरेको थियो । तर त्यही सिआइबीले मुख्य अभियुक्त भूसाल पक्राउको घटना गोप्य राखी अदालतबाट छुट्ने वातावरण बनाउन समेत सहज गरिदिएको थियो । प्रहरीकै सहयोगका कारण भुसाल २० लाख रुपैयाँ धरौटीमा छुटेका थिए ।
    स्रोतका अनुसार तत्कालीन प्रहरी महानिरीक्षक प्रकाश अर्याल र सिआइबीका डिआइजी पुष्कर कार्कीले भूसाललाई सहयोग गरेका थिए । सोही कारण उनी पक्राउ परेको घटनालाई गोप्य राखी अदालतमा पेश गरिएको थियो । अदालतमा पनि सेटिङ गरी उनी छुटेका थिए । सुन बरामद गर्दाताकाका सीआइबीका डीआइजी नवराज सिलवाल अवकाशपछि सीआइबीसँग सेटिङ गरी भूसालले उन्मुक्ति पाउँदै गएका थिए ।

    खड्का पक्राउ परे, अग्रवाल पनि नेपालमा आउन सकेका थिएनन् तर भूसालले काठमाडौंमा बसी जग्गाको कारोबार गर्दैआएका छन् । भूसालले सुनतस्करीबाट अरबौंको सम्पत्ति जोड्न सफल भएका छन् । उनका दुवईमा क्लबदेखि ज्वेलरी सप र नेपालमा थुप्रै ठाउँमा घरजग्गा छन् । उनले सुनतस्करीको रकमबाट काठमाडौंको सामाखुसीस्थित टोखा रोडमा भब्य सपिङ कप्म्लेक्स निर्माण गरिरहेका छन् ।

    साविक गोंगबु गाविस ५ ‘क’ कित्ता नम्बर २४९ को ३ रोपनी ८ आना ३ पैसा जग्गामा उनको कम्प्लेक्स निर्माण भइरहेको छ । गेम्जो गुरुङकी श्रीमती ताकडोल्मा गुरुङको नाममा रहेको उक्त जग्गा भूसालले खरिद गरी कम्प्लेक्स निर्माण भइरहेको छ । उक्त जग्गामा कम्प्लेक्स निर्माण गरेको स्रोत के हो ?

    यो बिषयमा पनि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले छानबिन गर्ने भनेर तत्कालीन महानिर्देशक रुपनारायण भट्टराईले भूसालसँग सेटिङ गरी तामेलीमा हालिदिएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार