काठमाडौं । दरबारमार्गस्थित विइङ ह्युमन क्लोथिङ नेपालबाट काठमाडौं प्रहरी परिसरको टोलीले शुक्रबार ६९ लाख ५० हजार हुन्डीको रकम बरामद गरेपछि उक्त पसलका संचालकहरुले उल्टै ढाकछोप गर्न खोजेका छन् । र, जग्गा खरिदका बिइङ ह्युमनसँग सम्बन्धित ब्यक्तिले सहकारीबाट लिएको रकमलाई हुन्डीको रकम भनेर बदनाम गर्ने प्रहरीबिरुद्ध नै कानुनी उपचार खोज्ने पसलका संचालक सुु्दीप बख्रेल र राजु थापाले बिज्ञप्ति निकालेका छन् । तर कुन सहकारीबाट लिएको हो भन्ने उल्लेख छैन । सहकारीबाट लिएको रकम भनेर हुन्डीको रकम होइन भनेर उल्टै बिइङ ह्युमनले प्रहरीलाई चुनौती दिएको छ । बिइङ ह्युमन भारतीय अभिनेता सलमान खानद्वारा स्थापित पसल भएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । यद्यपि राजु थापाले यसअघि सलमान खानलाई नेपालमा ल्याउने भन्दै ल्याउन नसकेको आरोप पनि लाग्ने गरेको छ ।
बिइङ ह्युमनद्वारा आइतबार निकालिएको विज्ञप्तिमा उल्लेख छ–‘संस्थालाई बदनाम गरी आफ्ना निजी स्वार्थपूर्ति गर्ने कार्यमा संलग्नहरुको पहिचान गरी आवश्यक कानुनी कारबाहीका लागि समेत संस्थाले आवश्यक कदम चाल्ने सबैमा जानकारी गराउँदछौं ।’
बख्रेल र थापाले संचालन गरेको विइङ ह्युमन नामक पसलबाट प्रहरीले मंसिर १७ गते नै हुन्डीको रकम बरामद गरेको थियो । तर विइङ ह्युमनका संचालक बख्रेल र थापाले भित्रभित्रै मिलाउन खोजेकाले प्रहरीले मंसिर १७ गते हुन्डीको रकम बरामद भए पनि १९ गते मात्रै विज्ञप्ति निकालेको थियो । जबकि प्रहरीले हुन्डीको रकम बरामद गरेको बिज्ञप्ति तत्कालै जारी गर्ने गरेको छ । हुन्डीको रकम बरामद भएको हल्ला ब्यापक भएपछि प्रहरीले घटनाबारे विज्ञप्ति निकाल्न त बाध्य भएको छ । तर हुन्डीको रकम बरामद गरिएको बरामद भएको विइङ ह्युमनका संचालक बख्रेल र थापालाई भने अझै नियन्त्रणमा लिएको छैन ।
हुन्डीको रकम बरामद भए पनि पसलका संचालकलाई नियन्त्रणमा नलिइएकोबारेमा काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहले भने– ‘विइङ ह्युमनका दुवै संचालक फेला पार्न सकिएको छैन । प्रहरीले खोजी गरिरहेको छ, सुदीप बख्रेल नेपालमै लुकेको र राजु थापा इण्डियामा भएकाले पक्राउ नपरेका हुन् ।’ प्रहरीले आइतबारै सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा रकम सहित पक्राउ परेका विइङ ह्युमनका म्यानेजर हिरोसी खनाललाई बुझाइसकेको एसएसपी सिंहले बताए ।