Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बेइजिङमा हुने शीतकालीन ओलिम्पिक बहिष्कार गर्ने अमेरिकाको घोषणा


    मंगलबार, मंसिर २१ २०७८
    445
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । अमेरिकाले सन् २०२२ मा चीनको राजधानी बेइजिङमा हुने शीतकालीन ओलिम्पिक्सलाई कूटनीतिक रूपमा बहिष्कार गर्ने घोषणा गरेको छ।

    चीनमा मानव अधिकारसम्बन्धी विषयबारे चिन्ताका कारण प्रतियोगितामा आधिकारिक प्रतिनिधिमण्डल नपठाउने ह्वाइट हाउसले जनाएको हो। तर, उसले अमेरिकी खेलाडीहरू भने उक्त प्रतियोगितामा सहभागी हुन पाउने र उनीहरूलाई सरकारको पूर्ण समर्थन रहने बताएको छ।

    गत महिना अमेरिकी राष्ट्रपति जो बाइडनले आगामी वर्ष बेइजिङमा हुन लागेको शीतकालीन ओलिम्पिक्सको कूटनीतिक बहिष्कारबारे आफूले विचार गरिरहेको बताएका थिए।

    ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले सोमवार बहिष्कारको पुष्टि गर्दै अमेरिकी प्रशासनले ओलिम्पिक्सको “उत्सव” मा योगदान नगर्ने बताइन्।

    साकीले अमेरिकी सरकारले ”यो क्षणका लागि प्रशिक्षण गरिरहेका खेलाडीहरूलाई दण्डित गर्नु सही कदम नहुने” तर २०२२ का खेलहरूमा आधिकारिक अमेरिकी प्रतिनिधिमण्डल नपठाउनुले ”स्पष्ट सन्देश दिन सक्ने” महसुस गरेको बताएकी छन्।

    अमेरिकाले सन् २०२८ मा लस एन्जलसमा ओलिम्पिक्स आयोजना गर्दैछ।

    चीनको विदेश मन्त्रालयले अमेरिकी बहिस्कारलाई ‘नाङ्गो राजनीतिक उक्साहटपूर्ण कार्य’को सङ्ज्ञा दिँदै उक्त कार्य ‘चिनियाँ जनताविरुद्ध अपराध’ ठहरिने यसअघि नै बताइसकेको छ।

    वाशिङ्टनस्थित चिनियाँ दूतावासले बहिष्कारलाई एक ‘कपटपूर्ण कार्य र राजनीतिक पहल’को सङ्ज्ञा दिँदै प्रतियोगिताको सफलतामा यसले कुनै असर नपार्ने जनाएको छ।

    तर बाइडन प्रशासनको कदमलाई अमेरिकाका दुवै प्रमुख राजनीतिक दलका नेताहरूले प्रशंसा गरेका छन्। अमेरिकाको तल्लो सदन हाउस अफ रेप्रिजेन्टटिभ्सकी सभामुख न्यान्सी पेलोसीले प्रशासनको निर्णयको स्वागत गरेको बताएकी छन्।

    तर केही नेताहरूले भने कूटनीतिक बहिस्कार पर्याप्त नरहेको आफूहरूको विश्वास रहेको जनाएका छन्। बीबिसीको सहयोगमा

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार