कलैया । बारा जिल्लाका विभिन्न नाकाबाट खुलेआम भन्सार छली तस्करी भइरहेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीका घुमुवाहरू नै तस्करीको सेटिङमा लागिपरेका छन् भने स्थानीय चौकी, इप्रका र बीओपी प्रमुखहरूको तस्करीमा सहयोग र साथ रहेको छ । जबकि तस्करी नियन्त्रणका लागि भनी सशस्त्रको दुई नम्बर प्रदेशबाट स्क्वाड टोलीको नाममा दुई जना सिभिलमा परिचालन गरिएको छ । तर उनीहरू नै तस्करीधन्दा रोक्ने भन्दा पनि सुचारु होस् भन्ने अभियानमा रहेको देखिन्छ ।
सशस्त्र प्रहरीको बारास्थित १२ गणका एसपी रविनराज कर्णजितले पनि हवल्दार प्रदीप कुशवाह र सहायक हवल्दार सनोज यादवलाई घुमुवाको रूपमा परिचालन गरेका छन् । तस्करी नियन्त्रणका लागि भनी सशस्त्रको गोलागंज (सिम्रौनगढ) स्थित बीओपीबाट समेत सिपाही नन्दकिशोर ठाकुर घुमुवाको रूपमा परिचालित छन् । घुमुवा ठाकुर बाहिनीबाट खटिएका घुमुवा अशोक साहका ज्वाइँ हुन् । बाहिनीबाट खटिएका सहायक हवल्दार सागर झा यसअघि रौतहटको घुमुवा थिए र धेरै बदनाम भएका थिए । नेपाल प्रहरीको हकमा हेर्ने हो भने जिल्ला प्रहरी कार्यालय बाराका एसपी दीपेन्द्र शाहीले खटिएका घुमुवा हुन् जितन चौरसिया । यसअघि उनी जिल्लामै सहायक घुमुवाका रूपमा परिचालित थिए ।
घुमुवा कमान्डर हवल्दार हुसेन मुख्यालय गएपछि चौरसिया नै घुमुवा कमान्डर बनेका छन् । सूचना संकलन, अपराध तथा तस्करी नियन्त्रणका लागि खटाइएको र खटिएका घुमुवा नै नियन्त्रणतर्फ होइन तस्करी गराउन सेटिङ मिलाउने र रकम उठाउने काममा संलग्न भएपछि तस्करी नियन्त्रण होइन झन् खुलेआम हुन्छ जुन अहिले बारामा देखिएको छ । दुबै प्रहरीको सेटिङमा तस्करीको लाइन पाउनेहरूमा कपडाको काम गर्ने राम अयोध्या, लालबाबु, बिनोद, राकेश र मनाङ छन् । मनाङले हार्डवेयरको समेत तस्करी गर्छन् भने राजुले रजनीगन्धाको पनि तस्करी गर्छन् ।
त्यसैगरी बसन्तपुर क्षेत्रबाट तस्करीको लाइन पाउनेमा भैंसी कारोवारी इरसाद अन्सारी, रजनीगन्धा र किरानाका कारोवारी पप्पु साह र भैंसी कारोवारी मन्सुर मुख्य रहेका छन् । यहाँको तस्करीमा नेपाल प्रहरीको स्थानीय चौकीका असई सिपुजन साहको समेत सेटिङ र साथ रहेको छ ।
त्यसैगरी बेल्दारीबाट दुबै प्रहरीको सेटिङमा तस्करीको लाइन पाउनेहरूमा भैंसी कारोवारी फुलमहमाद अन्सारी, राजमहमद अन्सारी बिगु र रक्सी व्यापारीहरू अनिल र उमेश रहेका छन् । पथलवाघाटबाट तस्करीको लाइन पाउनेमा कपडा कारोवारी दीपक, अरविन्द मुकेश, शत्रुघन, कस्मेटिक कारोवारी अरबिन्द, हुण्डी कारोवारी बिनोद र डिजेल तथा पट्रोल तथा डिजेल कारोवारी बिनोद यादव रहेका छन् ।
यहाँको तस्करीमा पथलवाघाटस्थित प्रहरी चौकीका असई रामप्रवेश यादवको पनि सहयोग, साथ र सेटिङ रहेको छ । बारामा दुबै प्रहरीको सेटिङमा व्यापक तस्करी भएर सामान आएपछि भन्सार तिरेर सामान ल्याउनेका सामग्रीहरू महँगो हुने भएपछि बिक्री नहुने भन्दै उद्योग बाणिज्य संघका पदाधिकारीहरू प्रमुख जिल्ला अधिकारी हुँदै गृहमन्त्रीसम्म कुरा राख्न पुग्ने बताउँछन् ।