मख्खुबेंसी । काठमाडौं–तराई/मधेस दु्रतमार्ग (फास्ट ट्रयाक) रणनीतिक महत्वको सडक हो। यो निर्माणको जिम्मा नेपाली सेनालाई दिइएको छ। चार वर्षमा सक्ने लक्ष राखिएको यो आयोजनाको काम २०७७/०७८ सम्ममा १६.१० प्रतिशत भएको छ।
सरकारले लामो विवादपछि २०७४ वैशाख २१ मा राष्ट्रिय गौरव एवं रणनीतिक महत्व बोकेको दु्रतमार्ग सडक आयोजनाको निर्माण व्यवस्थापनको जिम्मा सेनालाई दिएको थियो। सेनाले सडकको पहिलो चरणको ‘ट्र्याक’ खोल्ने काम सम्पन्न गरिसकेको छ। सरकारले २०७६ भदौ १ मा आयोजनाको विस्तृत परियोजना (डीपीआर) स्वीकृत गरेको थियो। यो आयोजनाको कुल लागत १ खर्ब ७५ अर्ब छ। सुरुवातबाट हालसम्म २५ करोड ४० लाख खर्च भइसकेको छ।
एसियन हाइवे स्ट्यान्र्ड मापदण्डअनुरूप निर्माण गरिने द्रुत मार्ग आर्थिक वर्ष २०८०/८१ सम्म सम्पन्न गर्नुपर्ने लक्ष्य छ। जिम्मा पाए लगत्तै डीपीआरसमेत तयार नहुँदै २०७३/७४ बाट सेनाद्वारा आयोजनाको निर्माण कार्य थालनी गरिएको थियो। तीनबटा सुरुङमार्गसहित ४ लेन (दुईतर्फी २/२ लेन) को ७२.५ किलोमिटर लम्बाइ भएको दु्रतमार्ग निर्माणाधीन अवस्थामा छ।
यो सडक ललितपुरको खोकनादेखि काठमाडौं, मकवानपुर हुँदै बाराको पूर्व–पश्चिम राजमार्गस्थित निजगढसम्म निर्माण हुनेछ। यो आयोजनालाई ११ वटा क्लस्टरमा विभाजन गरिएको छ। सडकको पहिलो चरणको ट्र्याक खोल्ने काम सम्पन्न गरिसकेको नेपाली सेनाको कार्यान्वयन तथा अपरेसन प्रमुख, प्राविधिक प्रमुख सेनानी विश्वबन्धु पहाडीले बताए। ‘ढुंगामाटोको ट्र्याक खोल्ने काम सकिएको छ। जग्गा अधिग्रहण भएको छ। अस्थायी बेलिब्रज बनेको छ। पहुँच मार्ग पनि बनाइरहेका छौं,’ उनले भने।
१४ वटा बेलिब्रिजमध्ये निजगढमा २, बागदेवमा ३, धेद्रेमा २ वटा र सिस्नेरीमा १ गरी ८ वटा बनिसकेका छन्। बाँकी ६ वटामध्ये खोकनामा ३, सिस्नेरीमा १ र लेनडाँडामा २ वटा जडान गर्ने योजना छ। पहाडीका अनुसार ढुंगा माटो तथा संरचना कार्यअन्तर्गत ०७४/०७५ मा २० वटा र ०७५/०७६ मा १० वटा प्याकेज गरी ३० वटा प्याकेजमा राष्ट्रिय निर्माण व्यवसायीद्वारा निर्माण भएको छ। उनका अनुसार तीनवटा सुरुङको गत वर्ष नै ठेक्का भइसकेको छ।
द्रुतमार्गमा तीनवटा सुरुङ छन् । जसमध्ये ३.३५५ किमि लामो महादेवडाँडा सुरुङमार्गको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनी लिमिटेडले ठेक्का लिएको छ। १.६३० किलोमिटरको धेद्रे र १.४३० किलोमिटर लेनडाँडा सुरुङमार्गको गत वर्ष नै ठेक्का भइसकेको छ। यो चाइनिज पोलिचन्दा इन्जिनियरिङ कम्पनीले यो ठेक्का लिएको छ। गत २०७८ वैशाख ३१ यी दुइटा प्याकेजमा ठेक्का सम्झौता भएको थियो। २० जनाभन्दा बढीको समूह आयोजना स्थलमा आएर साइट क्याम्प व्यवस्थापन तथा पूर्वतयारीको काम गरिरहेका छन्। उनीहरूले फिल्ड सर्भेका साथै जिओटेक्निकल तथा जिओफिजिकल इभेस्टिगेसनअन्तर्गत ड्रिलिङको कार्य अन्तिम चरणमा रहेको छ।
डिजाइनको काम सकेर कन्सल्टेन्डले अध्ययन गरी सुरुङ मार्गको निर्माण पुसबाट सुरु हुने सेनाले जनाएको छ। सुरुङ मार्गको निर्माणलाई रफ्तारमा अगाडि बढाउने प्रमुख सेनानी पहाडीले जानकारी दिए। चिनियाँ कम्पनीले ठेक्का लिएको कारण छिटो गर्नका लागि कूटनीतिक पहल पनि जरुरी रहेको सेनाले महसुस गरेको छ। उनले राष्ट्रिय महत्वको यो आयोजनाको निर्माणलाई सेनाले महत्वका साथ लिएको बताए। गत आर्थिक वर्षमा सुरुङ खण्डसम्बन्धी २ वटा प्याकेजको ठेक्का लागिसकेको छ। चालू वर्ष २०७८/०७९ मा प्राथमिकताको आधारमा सडक तथा पुलको बाँकी प्याकेजको ठेक्का लगाउने योजना सेनाको छ। अन्नपूर्ण पोष्ट दैनिकबाट