Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेको केन्द्रीय कमिटी चयनः केपी बा भन्ने यी दश भाइ किन आउट भए ?


    शनिबार, मंसिर १८ २०७८
    910
    Shares
    Basu Dev Paudel
  • ५ मिनेट पाठ
  • काठमाडौं । नेकपा(एमाले)को नवौं महाधिवेशनमा केन्द्रीय कमिटी सदस्य रहेका सुरेन्द्र मानन्धर दसौंमा पर्न सकेनन् । दसबुँदे सहमति गरी पार्टी एकता गर्नुपर्छ भन्ने पक्षमा दृढतापूर्वक लागेका मानन्धर एमालेका संघर्षशील र अवसर नपाउने नेतामा पर्दछन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको केन्द्रीय कमिटीमा उनी आउट भए ।

    त्यसैगरी, नेकपाको एकता भंग भई एमाले-माओवादी ब्यूँतिएपछि माधव नेपाल, झलनाथ खनालको नेतृत्वमा समानान्तर गतिबिधि भइरहेको बेला केपी ओलीले बालुवाटारमा बोलाएको संसदीय दलको बैठकमा भाग लिन पुगेका चितवनका कृष्णभक्त पोखरेल पनि केन्द्रीय कमिटीमा परेनन् । ओलीले उनलाई पनि समेटेनन् । पोखरेलले दस बुँदे सहमति अनुसार चितवनको पार्टी अध्यक्ष पाउनुपर्ने थियो, तर उनले पार्टीको एकताका खातिर पार्टी अध्यक्ष पनि त्याग गरे । तर उनलाई केन्द्रीय कमिटीमा नपारी अपमान गरिएको छ ।

    दस बुँदे पक्षधर मात्र होइन, केपी शर्मा ओलीको पक्षमा लागेकाहरु पनि केन्द्रीय कमिटीमा पर्न सकेनन् । पर्वतका विकास लम्साल, प्रेस चौतारीका पूर्वअध्यक्षद्वय गगन बिष्ट, राजेन्द्र अर्याल पनि केन्द्रीय कमिटीमा अटाउन सकेनन् ।  

     पर्वतका प्रदेश सांसद तथा पूर्वमन्त्री विकास लम्साल केपी ओलीकै निकट भए पनि केन्द्रीय कमिटीमा पर्न सकेनन् । पर्वतका सांसद पदम गिरी पनि केन्द्रीय कमिटीमा समेटिएनन् । युवासंघका वर्तमान अध्यक्ष किरण पौडेल केन्द्रीय कमिटीमा परे तर पूर्वअध्यक्ष रमेश पौडेल र बचनबहादुर सिंह पर्न सकेनन् । पौडेल र सिंहले ओलीका लागि ज्यान दिदै आएका थिए । युवासंघका बहालवाला उपाध्यक्ष पनि केन्द्रीय कमिटीमा परेका छन् । पूर्वउपाध्यक्ष तथा ओलीको जिल्ला झापाका भएकै कारण गोविन्द थापा पनि केन्द्रीय कमिटीमा परेका छन् । पौडेल र सिंहहरुले महेशको बिरोध गरेका कारण छटनीमा परेको बताइन्छ । त्यसो त भक्तपुरबाट निर्मल भट्टराईलाई लिष्टमा राखेर गोकुलहरुले महेशलाई देखाइदिएको सौराहामा चर्चा थियो ।

    अनेरास्ववियुका वर्तमान अध्यक्ष सुनिता बराल पर्दा पूर्वअध्यक्ष ऐन महर पर्न सकेनन् । अनेरास्ववियुका पूर्वउपाध्यक्ष रश्मी आचार्य, महेश बर्तौला, अस्कल क्याम्पसमा २ पटक स्ववियु सभापति भइसकेका र जुम्लामा एमालेलाई स्थापित गराउन सक्रिय नेता टेकराज पछाई पनि ओलीको छनौटमा पर्न सकेका छैनन् ।  

    एमालेका प्रमुख सचेतक र २०७० मा पनि खोटाङबाट सांसद जितेका बिशाल भट्टराई केन्द्रीय कमिटीमा पर्न नसकेको कुरा त यसअघि नै उजागर भइसकेको छ ।
    एमालेका यी दस भाइसहित बिशाल भट्टराईहरुको नाम केन्द्रीय कमिटीमा नपर्नुमा बिष्णु पौडेलले नै भूमिका खेलेको चर्चा उक्त पार्टीमा हुने गरेको छ । महासचिव नपाएपछि पौडेलले शंकर पोखरेलका निकटहरुको नाम एक एक गरी रेट्ने क्रममा यी दस भाइ पनि रेटिन पुगेको एमालेजनको बुझाइ छ । शंकर पोखरेल महासचिव हुनैतिर बढी ब्यस्त भएपछि पौडेलले आफ्ना मान्छे हाल्न सफल भएका छन् । पौडेलले आफ्नो पक्षमा लबिङ गर्ने पृथ्वी सुब्बा गुरुङ, महेश बस्नेतहरुले भनेका मान्छेलाई ठाउँ दिएको आरोप छ । । ऐन महर केन्द्रीय कमिटीमा नपरेपछि भोट नहाली हिंडेको चर्चा पार्टी मुख्यालयमा छ । अखिलका पूर्वअध्यक्ष सबै पर्दा उनी अटाउन नसकेपछि उनी बैरागिएर हिंडेका थिए ।

    एमालेले पत्रकारलाई महत्व दिएन 

    अर्यालसँग चौतारीको अध्यक्षमा पराजीत भएका बिष्णु रिजाल एमालेको केन्द्रीय कमिटीमा दोस्रो पल्ट बाजी मार्न सफल भएका छन् । अर्याल चौतारीको अध्यक्ष हुँदा रोल्पा चौतारी अध्यक्ष ईश्वरी जीएम एमालेको केन्द्रीय सदस्य भइन् । तर उनी पर्न सकेनन् । त्यसो त एमालेले पत्रकारलाई त्यति महत्व नै दिंदैन भन्ने गुनासो पनि छ । एमालेले न त सांसदको टिकट न त केन्द्रीय सदस्य नै दिन्छ । २०४३ मा पाल्पामा जनपक्षीय उपप्रधानपंचमा चुनाव लडेका चौतारीका तीन कार्याकाल अध्यक्ष भएका शम्भु श्रेष्ठलाई ओलीले प्रयोग गर्नुसम्म गरेर आँपको कोयो जस्तै बनाएर फालेको इतिहास साक्षी छ ।

    २०५९ मा जनकपुरको रंगभूमि मैदानमा भएको एमालेको सातौं महाधिवेशनपछि ओलीको पक्षमा कोही नहुँदा श्रेष्ठले दृष्टि साप्ताहिकमार्फत् ओलीलाई समर्थन गरी उनका बिचारहरु जनसमुदायमा लाने काम गरे । तर ओलीले उनलाई न त संसदमा लगे, न त पार्टीमा केन्द्रीय सदस्य नै दिए । उनका नाति भन्न सुहाउनेलाई टपक्क टिपेर केन्द्रीय सदस्य बनाउँदा श्रेष्ठलाई भने ‘यूज एण्ड थ्रो’ गरे ।

     यसपटक पनि ओलीले पत्रकारहरुलाई उपेक्षा नै गरेका छन् । अरु जन संगठनका पूर्वअध्यक्षहरु केन्द्रीय सदस्य हँुदा चौतारीका अर्याल र बिष्ट त परेनन् परेनन् ओलीको कान्छो छोरो हुँ भन्ने अध्यक्ष गणेश बस्नेत पनि जिल्लिएका छन् । जब कि अखिल र युवासंघका दुबै वर्तमान अध्यक्ष केन्द्रीय कमिटीमा पर्न सफल भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार