काठमाडौं । विवादित शिक्षा सचिव रामप्रसाद थपलिया शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयबाट बिदा भएका छन् । ९ महिना ११ दिन शिक्षा सचिव भएका उनी बुधबार बिदा भएका छन् । मन्त्रिपरिषद्को सोमबारको बैठकको निर्णय अनुसार शिक्षा मन्त्रालयमा सरुवा भएका शिक्षा सचिव यादव कोइरालाले बुधबारै पदभार ग्रहण गरेका छन् ।
तत्कालीन शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको रोजाइमा परेका थपलियाले उनैलाई असहयोग गरिरहे । युवा तथा खेलकुद मन्त्रालयबाट शिक्षा मन्त्रालयमा आएका उनी आफ्ना कर्मचारीकै पनि प्रियपात्र हुन सकेनन् । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालको एसम्यानको रुपमा चिनिएका उनले शिक्षा मन्त्रालयका हरेक निर्णय सिलवाललाई सुनाउने गरेका थिए ।
मन्त्रालयका उच्च कर्मचारीका अनुसार मन्त्रालयको गोप्य निर्णयसमेत सिलवालकहाँ पुग्ने भएपछि सचिव थपलिया आलोचित भए । अधिकांश कार्यालय प्रमुखसँग आफूले यतिवटा फाइलमा हस्ताक्षर गर्दासमेत केही हात नपरेको गुनासो गर्ने गरेका सचिव थपलियाले हरेक काममा दामको मोलमोलाइ गर्ने गरेको आरोप छ ।
सचिव थपलियाले सिलवालको सेटिङमा काम गर्ने गरेका थिए । कृष्णगोपाल श्रेष्ठ शिक्षामन्त्रीबाट बिदाई हुनासाथ आफू एमालेको मान्छे नभएको भन्न भ्याएका सचिव थपलियाले पछिल्लो समय प्रधानमन्त्री पत्नी आरजु देउवासँग संगत गरेका थिए । विनाविभागीय मन्त्री उमेश श्रेष्ठको निकट भएर काम गर्न खोजे पनि उनी रमेश सिलवालको एसम्यान हो भन्ने सुईंको पाएपछि मन्त्री श्रेष्ठले मतलब गरेका थिएनन् ।
यहाँसम्म कि विदेशी विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित कलेजको सिट तोक्नुपर्छ भन्ने निर्णय गरेपछि विवादमा तानिएका थपलियाले मन्त्रालयमा मनपरी निर्णय गर्ने गरेका थिए । थपलिया शिक्षा मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा भएका छन् ।