Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पूर्वआइजीपी खनाललाई ओलीको लोप्पा, सौराहामा प्रकट हुन नसकेपछि रातारात पोखरा पुगे 


    बुधबार, मंसिर १५ २०७८
    900
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल नेकपा एमालेमा प्रवेश गर्ने समाचार गएको कात्तिक सुरुमा भाइरल बन्यो । गएको कात्तिक पहिलो हप्ता संचारमाध्यममा पूर्वआइजीपी खनाल तत्कालै एमालेमा जान लागेको समाचार आए पनि उनी मंसिर दोस्रो सातासम्म पनि औपचारिक रुपमा प्रवेश गरेको जानकारी सार्वजनिक भएको छैन । उनी एमालेमा प्रवेश गर्न लागेको समाचार विभिन्न अनलाइनमा खनालले नै प्रवाह गर्न लगाएका थिए ।

    एमालेका नेता किरण गुरुङले नै खनाल एमालेमा आउन लागेको प्रतिक्रिया संचारमाध्यमलाई दिएका थिए । कात्तिक ९ को पालिका अधिवेशन सकिएपछि उनी एमाले प्रवेश गर्ने गुरुङको भनाइ संचारमाध्यममा आयो । तर पालिका अधिवेशन सकिसकेर महाधिवेशनले केपी शर्मा ओलीलाई पुनः अध्यक्ष बनाउँदासम्म पनि उनी एमालेमा प्रवेश गरेका छैनन् ।

     खनाल मंसिर १० देखि १४ गतेसम्म भएको एमालेको दसौं महाधिवेशनस्थल चितवनमा गएका थिए । तर उनी चितवनमा सार्वजनिक रुपमा देखिएनन् । उनले एमालेमा केन्द्रीय सदस्य मागेको र नदिने संकेत पाएपछि रातारात मंसिर ११ मा पोखरातिर लागेका थिए । आइजीपी नियुक्तिमा तत्कालीन सरकारले अन्याय गरेपछि एमाले अध्यक्ष ओलीले सांसदको उम्मेदवार बनाएका नवराज सिलवाललाई त ओलीले केन्द्रीय सदस्य दिन सकेनन् भने खनाललाई उनले प्रवेश गराउनुअघि पद दिन सक्ने कुरै थिएन ।

    नवराज सिलवालले एमालेको केन्द्रीय सदस्य हुनका लागि ओलीसँग याचना नै गरे पनि भागबण्डामा उनी पर्न सकेनन् । ओलीले कीर्ते प्रकरणमा पनि महान्यायाधीवक्ता कार्यालयबाट मुद्दा नचल्ने निर्णय गराएर जोगाइदिएका सिलवालका लागि सांसद नै ठूलो अवसर भएकाले पनि उनी त्यसमै सन्तुष्ट भएर बस्नुपरेको छ । लामो योगदान नभएका एमालेका नेता र पूर्वमाओवादी नेताको ब्यवस्थापन गर्न नै सकस परेको बेला सर्वेन्द्र खनालले केन्द्रीय सदस्यको बार्गेनिङ गरेपछि ओलीले उनलाई महत्व नै नदिएको एमाले बृत्तमा चर्चा छ । ओलीले महत्व नदिएपछि उनी सौराहामा प्रकट नै नभई पोखरातिर हान्निएका थिए । एमाले महाधिवेशनकै सन्दर्भमा खनाल सौराहामा गएको तस्वीर पनि सार्वजनिक भएको छ ।

    खनाल कोराना महामारीमा ज्ञानेन्द्र शाहीको अभियानमा लागेर एन्बुलेन्स सेवा संचालन गर्न लागेको समाचार पनि आयो । तर त्यो अभियानमा पनि उनी लामो समयसम्म संलग्न हुन नसकेपछि एमाले प्रवेशको हल्ला चलाएका थिए । एमाले प्रवेशको हल्ला पनि हल्लामै सीमित हुने भएको छ ।

    २०७७ बैशाखमा डा. सुरेन्द्र यादवको ‘अपहरण काण्ड’ पछि ओलीको नजिक हुन पुगेका पूर्व महानिरीक्षक खनाल अख्तियारकै आयुक्त हुने दाउमा थिए । तर यादव काण्डले उनी विवादको भूमरीमा परे । अख्तियारको यात्रामा पनि पूर्णबिराम लागेको छ । त्यसपछि ज्ञानेन्द्र शाहीको अभियानमा लागेका उनी त्यहाँ पनि भविष्य नदेखेपछि एमालेमा जाने र बाराबाट सांसद हुने दाउमा थिए । तर एमालेले उनले मागेको केन्द्रीय सदस्य नदिएपछि उनी पुनः टाढिएका छन् । बाराको सिमरामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ(किसान)सँग उनको जग्गामा लगानी छ । किसान श्रेष्ठको सिमरामा करिब १ अर्ब मूल्यको जग्गा छ । जसमा खनाल समेत साझेदार रहेको स्रोत बताउँछ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार