Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अरबौंको ठेक्का सेटिङ भत्काउँदै मन्त्री आले, पर्यटन विभागका इन्जीनीयर नै ठेकेदार


    बुधबार, मंसिर १५ २०७८
    2.2K
    Shares
    Basu Dev Paudel
  • ७ मिनेट पाठ
  • काठमाडौं । सरकारी कार्यालयबाट हुने ठेक्कापट्टामा कसरी अनियमितता हुन्छ भन्ने दृष्टान्त पर्यटन विभाग, भकृटीमण्डपलाई लिन सकिन्छ । विभागका योजना पूर्वाधार तथा अनुगमन शाखाका इन्जीनियर सचिन्द्रकुमार यादवले आफ्नै पिता रामकुमार यादव सञ्चालक रहेको बिम कन्सल्ट्यान्ट प्रालिलाई परामर्शदाता छनोट गर्दैआएका छन् । छोरा विभागका हाकिम बाबुको कम्पनीलाई ठेक्का दिएर पदको दुरुपयोगको गतिलो उदाहरण यादवले प्रस्तुत गरेका छन् । परामर्शमा बाबु संचालक रहेको कन्सलटेन्सीसँग जेभी गर्ने कम्पनीलाई मात्र छनोट गर्ने गरिएको छ ।

     इन्जीनीयर यादव १० बर्षदेखि विभागको पूर्वाधार महाशाखाका प्रमुख छन् । विभागको पूर्वाधार महाशाखाको प्रमुखमा उपसचिव (डीई)को दरबन्दी छ । तर पर्यटन मन्त्रालयबाट डीईलाई सरुवा गर्न नदिनका लागि इन्जीनीयर शाहले पर्यटन मन्त्रालयका हरेक सचिव र सहसचिवलाई प्रभावमा पार्दैआएका छन् । उनलाई निजामती सेवा ऐनअनुसार सरुवा गर्न पनि मन्त्रालयले सकेको छैन ।

    यादवले पर्यटन विभागका अध्ययनसम्बन्धी परामर्शदाताको काम सबै सेटिङमा इसीओसीओडीई–सीटूटेक जेभी, टीसी इम्पल्स–सेड्स जेभी, मल्टी गिडान–पेस जेभी, जीओईसी नेपाल प्रालि र जीओकम–नेस्ट–पिकासो जेभीलाई दिने गरेका छन् । जीओकमबाहेक अरु चारवटा कम्पनी एकै व्यक्तिका हुन् । यी कम्पनीले सचिन्द्रका बाबु रामकुमारको बिम कम्पनीलाई अरु सरकारी कार्यालय वा आयोजनाको परामर्शदातामा जेभी राख्नुपर्ने सर्त स्वीकार गरी पर्यटन बिभागका परामर्शका काम लिने गरेका छन् ।

    ठेक्कामा यसरी गरिन्छ सेटिङ

    सचिन्द्रकुमार यादवका पिताको नाममा रहेको बिम कन्सल्टेन्सीलाई ती ५ वटा कम्पनीहरुले अरु आयोजनाको परामर्शको काममा एसोसिएट पार्टनर राख्ने भित्री सहमतिमा पर्यटन विभागका सबै परामर्शका काम उनीहरुलाई दिने गरिएको छ । आव २०७४-७५ मा सचिन्द्रकुमार यादवका पिताको नाममा रहेको बिम कन्सल्टेन्सीले पर्यटन विभागको सुनसरीको धार्मिक पर्यटन सर्किटको अध्ययनको १६ लाख ७५ हजार बराबरको काम पाएको थियो । जसमा विजयपुर, धरान उपमहानगरपालिकालगायतको अध्ययनको काम थियो ।

    सचिन्द्रकुमार यादवका पिताको नाममा रहेको बिमलाई टीसी इम्पल्स–सेड्स जेभीसहित ४ कम्पनी सञ्चालकले हरेक आयोजनाको ठेक्कामा एसोसिएट पार्टनर राख्ने गरेका छन् । जसका केही प्रमाण पनि नेपालफेसलाई प्राप्त भएका छन् । पर्यटन विभागका काम टीसी इम्पल्स–सेड्स जेभीसहित ४ वटा कम्पनीलाई दिने र पिताको कम्पनीलाई हरेक आयोजनाका परामर्शका काममा एसोसिएट वा जेभी राख्ने शर्त सचिव यादवले राख्ने गरेका छन् ।

    पर्यटन विभागका विगत ५ वर्षदेखिका परामर्शका कामहरुको छानबिन गर्ने हो भने सचिन्द्रकुमार यादवले यी कम्पनीसहित ४ वटालाई मात्र ठेक्का दिएको खुलासा हुनेछ । यी ४ वटा कम्पनीले ठेक्का लिएका तत्कालीन डोलिडार (हाल डोली), सिंचाई विभाग, सामुदायिक सिंचाई परियोजनाजस्ता आयोजनामा सचिन्द्रकुमार यादवका पिताको नाममा रहेको बिमलाई एसोसिएट पाटर्नर राख्दै आएको छ । पर्यटन विभागले आर्थिक वर्ष २०७६–७७ मा परामर्श सेवाको काम प्राय सबै यिनै ४ वटा कम्पनीलाई दिएको छ ।

    विभागका २० लाखभन्दा माथिका करोडौंका परामर्शका काम यिनै चारवटा कम्पनीले पाएका छन् । त्यसमा जिओ कम्पनी एक हो । सचिन्द्रकुमार यादवले प्राविधिक मूल्यांकनमा यी ४ वटा कम्पनीलाई ९६.८, ९७.८, ९६.५, ९६.४ गरी अत्याधिक नम्बर दिने र अरु प्रतिस्पर्धीलाई १० नम्बर कम दिएर फेल गराउने गरेका छन् । प्राविधिक मूल्यांकनमा अत्याधिक नम्बर दिई आर्थिक मूल्यांकनमा १० नम्बर दिएर तिनै चारवटा कम्पनीहरु छनौट हुनेगरी सेटिङ मिलाउँदै आएका छन् । अख्तियारले ५ बर्षको परामर्श र निर्माणका ठेक्काहरुको छानबिन गर्ने हो भने सेटिङको डरलाग्दो तथ्य भेटिने स्रोत बताउँछ ।

    सचिन्द्रकुमार यादव पर्यटन विभागमा जरो गाडेर बसेका इन्जीनियर हुन् । उनलाई महानिर्देशक, सचिव र मन्त्रीले समेत छुन नसक्ने विभाग स्रोत बताउँछ । यसरी आफ्नै हात जगन्नाथ गर्दै आफ्नै बाबुको कम्पनीलाई ठेक्का दिने यादवलाई अख्तियारले समेत छानबिन नगरेकोमा विभागका अधिकारीहरु उनको शक्ति देखेर चकित छन् । आफ्नै बाबुको कम्पनीलाई ठेक्का दिएको कुरा इन्जीनियर यादवले ठाडै अस्वीकार गरे ।

    सेटिङ तोड्दै मन्त्री आले

    विभागमा डीईलाई आउनै नदिएर सचिन्द्रकुमारले परामर्शदातामात्र होइन, बार्षिक अरब रुपैयाँको निर्माणको काममा समेत उत्तिकै ब्रम्हलुट गर्दैआएका छन् । बार्षिक करिब १ अर्बको विगभाको निर्माणको काममा खानी निर्माण सेवा र बिरुवा निर्माण सेवालाई मात्र दिइएको छ । सचिन्द्रकुमार यादवले पूर्वाधार महाशाखा सम्हालेपछिका निर्माणका कामको ठेक्का सधैं खानी निर्माण सेवाले पाउँदैआएको छ । रत्न गौतमले विभागका इन्जीनीयर सचिन्द्रककुमार यादवलाई खानी निर्माण सेवाको पार्टनर नै बनाएर १० बर्षदेखि बार्षिक १ अर्ब भन्दा बढीको ठेक्का सेटिङमा लिने गरेका छन् ।

    खानी निर्माण सेवालाई मिल्नेगरी ठेक्कामा स्पेसिफिकेसन राखी अरु कम्पनीलाई भागै लिन नदिएर सेटिङमा ठेक्का दिने गरिएको पर्यटन मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरे खुलस्त हुने स्रोत बताउँछ । विभागका इन्जीनीयर यादवलाई साझेदार राखी प्रतिस्पर्धा नै हुन नदिएर राज्यलाई अरबौं घाटा पारी रत्न गौतमले एक्लौटी पर्यटन विभागका ठेक्का हत्याउने गरेको गुनासोपछि पर्यटन मन्त्री प्रेम आलेको निर्देशनमा एक महिनाअघि गरिएको टेण्डर रद्द गरिएको थियो ।

    मन्त्री आलेले विभागको सेटिङ भत्काउनका लागि उक्त टेण्डर रद्द गर्न निर्देशन दिएपछि रत्न गौतम र सचिन्द्र यादव यो सरकारकै खिलाफमा लागेका छन् । उनी मन्त्री आलेलाई पर्यटन मन्त्रीबाट हटाउनुपर्ने भन्दै लबिङमा लागेका छन् । रत्न गौतमसँग खानी निर्माण सेवामा पार्टनरशीप रहेका इन्जीनीयर यादव पर्यटन विभागका डन नै मानिन्छन् । उनले परामर्शमा बार्षिक २५ करोडको काममा ४० प्रतिशत घुस लिने गरेका छन् । निर्माणको त आफ्नै सेयर भएको खानी निर्माण सेवालाई नै दिंदैआएका छन् ।

    मन्त्री आलेले १० बर्षदेखि विभागमा ठेक्का सेटिङ गर्दैआएका इन्जीनीयर यादवलाई सरुवा नै गर्ने तयारी गरेपछि उनले सचिव यादव कोइरालालाई भेटी बुझाएर रोकेका छन् । पर्यटन विभागका हरेक महानिर्देशकदेखि मन्त्रालयका सचिवसम्मलाई ठेक्काको केही हिस्सा बुझाएर सचिन्द्रले राज्यलाई प्रतिस्पर्धालाई सीमित गरी ठेक्का दिएर २० औं करोड आर्जन गरेको स्रोत बताउँछ ।

    अख्तियारले उनले विगत १० बर्षमा गरेको ठेक्काको सेटिङको छानबिन गरी अकूत सम्पत्तिको पनि अनुसन्धान गर्न उजुरी परे पनि उनले शक्ति प्रयोग गरी त्यहाँ पनि मिलाएको आशंका गरिएको छ । यादव डीई बढुवा भई पुनः पर्यटन विभागमै पदस्थापन हुनका लागि ५० लाख रुपैयँको घुसको बिटो नै बोकेर लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मीको घर अनामनगर नै पुगिसकेको स्रोतले बताएको छ ।     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार