काठमाडौँ । कोरोना भाइरसको अत्यधिक उत्परिवर्तन क्षमताको ‘ओमिक्रोन भेरिअन्ट’ फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै सरकारले दक्षिण अफ्रिका क्षेत्र भएर आउने हवाई यात्रुलाई अनिवार्य क्वारन्टीन राख्ने निर्णय गरेको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताएका छन्।
विश्व स्वास्थ्य सङ्गठनले ओमिक्रोनबाट सङ्क्रमणको जोखिम उच्च रहेको जनाउँदै ‘भेरिअन्ट अफ कन्सर्न’ घोषणा गरेपछि विभिन्न देशहरूले दक्षिण अफ्रिका क्षेत्रबाट आउने यात्रुहरूमाथि प्रतिबन्ध लगाउनुका साथै निगरानी बढाएका छन्।
नेपालको दक्षिण अफ्रिकी क्षेत्रमा सिधा हवाई उडान सम्पर्क नभए पनि त्यस क्षेत्रबाट आउने र त्यस क्षेत्रलाई ट्रान्जिट पारेर आउने हवाई यात्रुहरूलाई एक साताको क्वारन्टीन अनिवार्य गर्ने निर्णय भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्ण पौडेलले बताए।
दक्षिण अफ्रिकामा पहिलो पटक पहिचान भएको ओमिक्रोन भेरिअन्ट हालसम्म हङकङ, बेल्जियम र इजरेल सहितका देशहरूमा फैलिएको पाइएको छ।
हङकङसँग सिधा हवाई उडान रहेको नेपालले उडान स्थगित गर्ने वा नगर्नेबारे आइतवार बस्ने कोभिड सङ्कट व्यवस्थापन समन्वय समितिको बैठकबाट निर्णय गर्ने प्रवक्ता पौडेलले बताए।