Nepal Face
  • मंगलबार, २ मंसिर २०८३
  • एसएसबीको उर्दीः भारतीय बजार जान परिचयपत्र अनिवार्य, पुलमै लाइन लगाएर परिचयपत्र माग


    शनिबार, मंसिर ११ २०७८
    550
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • बिरा दत्त भट्ट

    दार्चुला । भारतीय बजार धार्चुला जान नेपालीले परिचपत्र अनिवार्य देखाउनुपर्ने भएकाे छ । नेपाल-भारत जोड्ने खलंगाको सीमा पुलमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले  नेपाली नागरिकलाई अनिवार्य परिचयपत्र देखाउन सूचनाबोर्ड नै टाँसेकाे छ ।

    हरेक दिन मदजुरी र काम विशेषले भारत जानेलाई पनि परिचयपत्र अनिवार्य गरिएको छ । सामान किनबेच गर्न भारतीय बजार धार्चुला जाने नेपालीलाई पुलमै लाइन लगाएर एसएसबीले नागरिकता वा परिचयपत्र हेरेर मात्रै भारतीय क्षेत्रमा प्रवेश दिइरहेका छन् ।

    राहदानी, नागरिकता, मतदाता परिचयपत्र, सरकारी निकायको परिचयपत्रमध्ये एउटा परिचयपत्र देखाए मात्रै भारत जान दिइँदैछ । पाँच प्रकारका परिचयपत्रमध्ये कुनै एउटा देखाएमा मात्रै भारत प्रवेश गर्न दिइने एसएसबीको सूचना पाटीमा उल्लेख छ ।

    भारतले व्यासको छाङरू र तिंकरमा जनगणनामा असहयोग पनि गरेको थियाे । भारतको बाटो भएर हिँडने अनुमति नदिएपछि जनगणना टोलीलाई बिहीबारमात्रै हेलिकप्टरबाट खलंगा ल्याइएको छ । 

    अतिक्रमित नेपाली भूमिमा पर्ने कुटी, नाभि र गुञ्जीमा नेपालले जनगणना गर्नसक्ने भन्दै भारतीय सुरक्षा निकाय सशंकित बनेको छ । नेपालमा राष्ट्रिय जनगणना भइरहेकोले गणक अतिक्रमित क्षेत्रसम्म पुग्न भारतीय बाटो प्रयोग गर्न सक्ने भन्दै सीमापुलमा निगरानी बढाएको छ । 

    सीमा क्षेत्रमा आवतजावत सहज बनाउने प्रयास भइरहेको पुलघाट प्रहरी चौकी इन्चार्ज प्रहरी सहायक निरीक्षक मनोज खड्काले बताए । आवतजावत सहजका विषयमा कोतवाली धार्चुलाका इन्चार्जसँग कुराकानी गरिएको उनकाे भनाइ छ ।

    भारतीय एसएसबीले दशैँतिहारमा पनि भारतीय क्षेत्रमा प्रवेश गर्न परिचयपत्र अनिवार्य गरेको थियो ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार