जनकपुरधाम । महिनौंदेखि रेल थन्किएको र भौतिक पूर्वाधार लगायतका काम सम्पन्न भइसक्दा पनि सञ्चालनमा नआएको भन्दै रेल्वे सेवा तत्काल सञ्चालन गर्न धनुषाका स्थानीयवासीहरूले दवाब दिएका छन् ।
नेपाल–भारत सम्बन्धलाई अझै प्रगाढ बनाउन तथा भारतीय धार्मिक पर्यटन भित्र्याउन रेल सेवाको मूख्य भूमिका हुने भन्दै उनीहरुले रेल सेवा शीघ्र सञ्चालनको माग गर्दै प्रदर्शन गरेका हुन् ।
रेल्वे सञ्चालनका लागि जनकनन्दनी गाउँपालिकास्थित खजुरीमा आन्दोलन गरिएको हो । स्थानीय मनोजकुमार साहको अगुवाईमा सीताराम विवाहपञ्चमी अघि नै रेल्वे सञ्चालनका लागि सरकारलाई दबाब दिने उद्देश्यले रेल सञ्चालनको मागसहित आन्दोलन भएको हो ।
यसैबीच प्रदेश २ को प्रमुख प्रतिपक्ष लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले विवाहपञ्चमी महोत्सव अगावै जनकपुरधाम–जयनगर रेल्वे सञ्चालन गर्नुपर्ने माग गरेको छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई ज्ञापनपत्र बुझाउँदै लोसपा नेपालका नेताहरुले रेल सेवा सञ्चालन गर्न माग गरेका हुन् । लोसपाका कार्यकारिणी समिति सदस्य बृषेशचन्द्र लालले रेल सञ्चालन नहुँदा जनकपुरधामको आर्थिक विकासमा पनि बाधा पुगेको बताए ।
लोसपाका नेता उमेश मण्डलले धार्मिक पर्यटन र जनकपुरको अर्थतन्त्र बढाउन रेल सेवाले सकारात्मक भूमिका निर्वाह गर्ने भन्दै अविलम्ब सञ्चालन हुनुपर्ने बताए ।