Nepal Face
  • मंगलबार, २ मंसिर २०८३
  • नेता वर्षमान पुनकाे स्वास्थ्य अवस्था गम्भीर, थप उपचारका लागि थाइल्याण्डबाट चीन लगियो


    शुक्रबार, मंसिर १० २०७८
    1.8K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । डेढ महिनादेखि थाइल्याण्डको बैंककस्थित समितिभेज अस्पतालमा उपचार गराइरहेका नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुनलाई थप उपचारका लागि  चीन लगिएको छ ।

    विश्वमै विरलै देखिने जटिल प्रकृतिको जण्डिसबाट पीडित भएका पुनलाई चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेन लगिएको हो ।

     माओवादी केन्द्रका केन्द्रीय सदस्य दुर्गा चापागाईंका अनुसार बैंककमा गराइएको उपचारबाट उल्लेख्य सुधार नभएपछि थप उपचार गर्न शुक्रबार चीन लगिएको हाे ।

    आजै मध्याह्न अस्पताल पुगेर उपचार सुरु गर्ने तालिका अनुसार नेता पुनसँगै पूर्वसभामुख तथा उनकी पत्नी ओनसरी घर्ती र छोरी शीला बैंककबाट चीनको सेनजेन उडेका छन् । 

    जण्डिसले सताएपछि नेता पुनलाई गत असोज १३ गते बैंकक लगेर समितिभेज अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँका चिकित्सकहरुले अब योभन्दा थप उपचार गर्न नसक्ने र स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार पनि नदेखिएको भन्दै चीनको सेनजेन लैजान सुझाव दिएका थिए ।

    काठमाडौंबाट बैंकक लैजाँदा जण्डिस (बिलरुविन) को तह १८ रहेकोमा उपचारका क्रममा बढेर अहिले २२ पुगेको देखिएको छ । जण्डिससँगै शरीरका अन्य अंगहरुमा पनि त्यसको असर देखिन थालेपछि नेता पुनलाई चीन लैजानु परेको चापागाईंले बताएका छन् ।

    नेपालमा हुँदा ललितपुरस्थित सुमेरू अस्पताल र त्यसअघि ग्राण्डी अस्पतालमा परीक्षण गराएका नेता पुन चिकित्सकहरूको परामर्श र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगको सल्लाहमा बैंकक गएका थिए । यसअघि जण्डिसकै कारण स्वास्थ्य अवस्था निकै गम्भीर भएका बेला नेता पुनको सोही अस्पतालमा उपचार भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार