काठमाडौं । नेपालको राष्ट्रिय ध्वाजावाहक नेपाल वायुसेवा निगम नेपालको गौरवसँग जोडिएको छ । आफ्नो राष्ट्रिय ध्वजावाहक विदेशी भूमिमा देख्ने बित्तिकै जो कोही नेपालीको मन गर्व र खुसीले ढक्क फुल्छ । जो कोही नेपाली उपलब्ध भएसम्म आफ्नो राष्ट्रिय ध्वजावाहकमा चढ्न चाहन्छन् । तर नेपाल वायुसेवा निगमका विदेशस्थित स्टेसन र कार्यालयहरुमा कर्मचारीहरुको कार्यशैली र व्यवाहारको कारण यात्रुहरु दिक्क हुने गरेका छन् ।
विदेशमा रहेका स्टेसनमध्ये पछिल्लो समयमा भारतको राजधानी नयाँदिल्लीस्थित स्टेसनका कर्मचारीहरुको व्यवहारले यात्रुहरु दिक्क बनेका छन् । नेपाल एयरलाइन्स नयाँ दिल्लीका स्टेसन म्यानेजर हुन् निगमका सातौं तहका कर्मचारी मानबहादुर चौधरी । चौधरीको जिम्मेवारी हो, नयाँदिल्लीको स्टेसन म्यानेजरको काम ग्राउन्ड ह्याण्डलिङ अर्थात् फिल्डमा रहेर निगमको दैनिक उडान र यात्रुहरुको समस्या समधान गर्ने । तर चौधरीको ध्यान सेवामा होइन ‘बार्गेनिङ’मा रहेको यात्रुहरुको गुनासो छ । उनको ध्यान कहाँ छ भन्ने बुझ्न गत ३ मंसिर २०७८ को एउटा घटना हेरे पुग्छ ।
३ मंसिर २०७८ मा निगमका जहाज मार्फत् काठमाडौं आउन लागेका यात्रुलाई समस्या पर्छ । ती यात्रुले आफ्नो राष्ट्रिय ध्वजावाहक विमानको कर्मचारी देखेर नेपाली भाषामा आफ्नो समस्या सुनाउन खोज्छन् । तर चौधरी निरन्तर हिन्दीमा बोल्छन् । ती यात्रुले अनुरोध गर्छन्– ‘म नेपाली हुँ । नेपालीमा नै बोलुम् न सर ।’ चौधरीले रिसाएर भन्छ, ‘तपाईंसँग मात्रै बोल्ने फुर्सद छैन मलाई ।’ ती यात्रुका अनुसार स्टेसन म्यानेजर चौधरी फुर्सदमा थिए । तर व्यस्त भए जसरी उनले यात्रुलाई कुनै सहयोग नै गरेनन् ।
निगमको टिकट काटेका ती यात्रुहरु आफ्नो बच्चाको जन्मदर्ताको ‘ओर्जिनल’ प्रमाणपत्र नभएर समस्यामा परेका थिए । अध्यागमनमा यो समस्याको समधान उनैबाट त सम्भव थिएन । ‘समस्या समधान कसरी गर्ने ? त्यो सुझाव दिने काम स्टेसन म्यानेजर चौधरीकै थियो । तर उनले त्यो सुझाव दिनुको साटो चौधरीले राम्रो व्यवाहार गरेनन् । उल्टै ‘मेरो काम तपाईसँग बोल्ने मात्रै होइन’ भन्दै छेउमा रमिता हेरेर बसिरहे ।
स्रोतका अनुसार स्टेसन म्यानेजर चौधरीको यो नयाँ घटना भने होइन । समस्यामा परेका यात्रुहरुलाई सहयोग गर्नुको साटो ‘बार्गेनिङ’मा ध्यान रहेको निमग स्रोतकै दाबी छ । उनले मुख्य ध्यान टिकट बिक्रीमा रहेको स्रोतको दाबी छ । अहिले यात्रुहरुले नेपाल भ्रमणका निम्ति टिकटको मूल्य अनलाइन मार्फत् हेर्ने गरेका छन् । तर दिल्लीदेखि काठमाडौंसम्मको उडानको लागि अनलाइनमा २० देखि ३० हजारसम्म देखिन्छ । तर सिधैं निगमको कार्यालयमा सम्पर्क गर्दा कम हुने गरेको छ । काठमाडौंस्थित निगमका कर्मचारीहरुसँग मिलेर उनले एउटा टिकट बराबर ५ हजार नाफा खाने गरेको स्रोतको दाबी छ ।
उनको बारेमा पटक पटक उजुरीसमेत निगमको कार्यालयमा परेको छ । तर यात्रुहरुलाई समेत मैले ‘माथिल्लो निकाय सबैतिर मिलाएको छु’ भन्दै दादागिरी गर्ने गरेको स्रोतको दाबी छ । नयाँदिल्ली कार्यालयमा जिम्मेवारी लिदा मन्त्रालयदेखि निगमको नेतृत्वलाई समेत ‘बुझाएर’ आएको हुँ भन्ने गरेको निगमकै कर्मचारीहरुको दाबी छ ।
नेपाल वायुसेवा निगम अहिले दैनिक १ करोड घाटामा छ । ५० अर्ब बढी आर्थिक भार बोकेको छ । निगमले कर्मचारीको लागि मासिक १५ करोड पैसा खर्च गर्छ । कहालीलाग्दो समस्या भोगिरहेका निगमको प्रमुख गन्तव्यमध्येको एक स्थानको मुख्य कर्मचारीको यस्तो व्यवाहारले यात्रुहरु कम हुदा समेत निगम नेतृत्व ध्यान नदिनु दुःखत भएको निगमका अधिकारीहरुको भनाइ छ ।