एजेन्सी । युरोपेली मुलुक बुल्गेरियामा मंगलबार बिहान गुडिरहेको एउटा बसमा आगो लाग्दा कम्तीमा ४५ जनाको मृत्यु भएको छ ।
मंगलबार बिहान २ बजेतिर पश्चिम बुल्गेरियाको स्ट्रुमा राजमार्गमा उक्त घटना भएको अधिकारीहरूलाई उल्लेख गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।
बसमा पहिला आगो लागेर पछि दुर्घटनामा परेको हो कि दुर्घटनामा परेपछि आगो लागेको हो भन्ने प्रष्ट भइसकेको छैन । मृत्यु हुनेमा केही बच्चाहरू पनि छन् ।
मृत्यु हुनेमा धेरैजसो आफ्ना नागरिक रहेको सोफियास्थित नर्थ मेसेडोनियाको राजदूतावासले जनाएको छ । नर्थ मेसेडोनिया बुल्गेरियाको छिमेकी मुलुक हो जुन सन् १९९१ मा स्वतन्त्र भएको थियो ।
उक्त बसमा नर्थ मेसेडोनियाका ५२ जना पर्यटकहरू चढेको समाचार संस्था तासले उल्लेख गरेको छ । बिबिसीका अनुसार उक्त बस टर्कीबाट नर्थ मेसेडोनिया जाँदै थियो ।
बसमा आगो लाग्दा जलेका सात जनालाई उपचारका लागि राजधानी सोफियाको अस्पतालमा लगिएको छ ।