Nepal Face
  • बुधबार, ३ मंसिर २०८३
  • प्रदेश २ का बदनाम प्रहरी मुख्यालय तानिए, केहीलाई जोगाइयो ?


    मंगलबार, मंसिर ७ २०७८
    825
    Shares
    Basu Dev Paudel
  • ५ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरी प्रदेश नम्बर २ अन्तर्गतका जिल्लामा कार्यरत सादा पोशाकमा खटिएका विभिन्न दर्जाका १४ घुमुवा प्रहरीलाई आज २ दिनभित्र प्रधान कार्यालयमा हाजिर हुन पत्र काटिएको छ । प्रहरी प्रधान कार्यालय प्रशासन महाशाखाले केही कुरा बुझ्नुपर्ने भएकाले प्रदेश २ का आठ जिल्लामा कार्यरत सादा पोशाकमा परिचालन गरिएका घुमुवालाई २ दिनभित्र पठाइदिनका लागि आइतबार परिपत्र गरेको छ ।

    प्रशासन महाशाखाले जिल्ला प्रहरी कार्यालयका इन्चार्जलाई उनीहरुलाई कात्तिक ७ गते बिहान १० बजेभित्र हाजिर हुनेगरी पठाइदिन अनुरोध गरेको छ । यी घुमुवाहरुको बारेमा प्रहरी आचारसंहिता बिपरीत क्रियाकलाप गरेका उजुरी परेकाले प्रहरी महानिरीक्षकको सचिवालय अन्तर्गत निरीक्षणालयले उनीहरुलाई उपस्थित गराउन प्रशासन महाशाखामार्फत् परिपत्र गरेको छ ।

    प्रहरी प्रधान कार्यालयले बुझ्नका लागि तानिएका घुुमुवाहरु लामो समयदेखि २ नम्बर प्रदेशका जिल्लामा कार्यरत छन् । प्रदेशका डीआइजी र जिल्लाका एसपीहरुले सादा पोशाकमा घुमुवा राखी अतिरिक्त असुली गर्दैआएका छन् । यसअघिका डीआइजी धिरजप्रताप सिंहले प्रदेशबाटै घुमुवा टोली परिचालन गरी कुस्त असुली गरी फर्किएका थिए भने हालका उमेश रंजितकारले पनि घुमुवा परिचालन गरी असुली गरेको समाचार सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालयले लटै घुमुवालाई तानेको छ ।

    तस्कर र अपराधिक गतिबिधि गर्नेहरुसँग घुमुवाको कनेक्सन देखिएपछि २०६७ मा २ नम्बर प्रदेशमा सशस्त्र गतिबिधि बढेपछि तत्कालीन गृहमन्त्री भीम रावलले लामो समयदेखि सादा पोशाकमा खटिएका प्रहरीलाई सुदूरपश्चिमका पहाडी जिल्लामा सरुवा गरिदिएका थिए । तत्कालीन डीआइजी विज्ञानराज शर्माले पनि घुमुवा अप्रेसन गरी पहाडतिर सरुवा गरेपछि तराईमा सशस्त्र समूहका गतिबिधि नै निस्तेज भएका थिए । तर डाँडा कटाइएका ती घुमुवाहरु फेरि प्रहरीका हाकिमहरुलाई प्रभावमा पारी तत्तत् जिल्लामा फर्किन सफल भएका छन् ।

    प्रहरी प्रधान कार्यालयले आज हाजिर हुन पत्र काटेका घुमुवा पनि दस बर्ष भन्दा बढी समयदेखि घुमुवाका रुपमा कार्यरत छन् ।
    प्रहरीले हाजिर हुनका लागि पत्र काटेका घुमुवाहरुमा धनुषाका प्रनानि(सई) रामरेख यादव, सिरहाका सई राजेशकुमार यादव, बाराका प्रसनि(असई) प्रमोदकुमार सिंह छन् ।

    त्यसैगरी, धनुषा जिल्ला प्रहरी कार्यालयबाट सादा पोशाकमा खटिएका घुमुवाहरु हवल्दार बैजुलाल राय यादव, जवान, सुरेन्द्र राम र धर्मेन्द्रप्रसाद यादव छन् ।

     सिरहाका प्रहरी हवल्दार कृष्णकुमार यादव, इलाका प्रहरी कार्यालय लहानका जवान देवकुमार यादव र दंगा नियन्त्रण गण सिरहाका हवल्दार रामचन्द्र यादव छन् ।

    सर्लाहीका घुमुवा जवान जितनारायण यादव, रौतहटका घुमुवा हवल्दार नरुल होदा मियाँ, महोत्तरीबाट खटिएका घुमुवा प्रहरी जवान नारायण गुरुङ, सप्तरीका हवल्दार सुरेन्द्र लामा छन् ।

    लामो समयदेखि प्रदेश र जिल्लाका हाकिमका घुमुवाका रुपमा कार्यरत सादा पोशाकका घुमुवालाई तानेर आइजीपी शैलेश थापा क्षेत्रीले राम्रो सुरुवात गरेका छन् । तर धनुषामा लामो समयदेखि कार्यरत घुमुवा सई सन्तोष झा र रौतहटका राजमंगल सिंहलाई तानिएको छैन । जागिर खाएदेखि २ नम्बर प्रदेश र १० बर्षदेखि पर्साको क्राइम ब्रान्चमा कार्यरत अर्का बदनाम घुमुवा प्रहरी लालबाबु साहलाई पनि तानिएको छैन । पर्सामा जुन एसपी गए पनि उनलाई क्राइम ब्रान्चमा राखी अतिरिक्त आम्दानीका लागि प्रयोग गर्र्दैआएका छन् । शनिबार सरुवा भएका एसपी बेलबहादुर पाण्डेले पनि उनैलाई उपयोग गरी लाभ लिंदैआएका थिए ।
    धनुषाका सई सन्तोष झा पनि जागिर खाएदेखि त्यही जिल्लामा हाकिमका घुमुुवा रहँदैआएका छन् । एसपी बसन्त रजौरे धनुषामा भर्खरै गएपछि पनि उनले झालाई औरही इलाका प्रहरी कार्यालयमा खटाउने निर्णय गरेका छन् ।

    धनुषाका एसपी रमेश बस्नेत र शेखर खनालको कार्यकालदेखि नै झा घुमुवा थिए । प्रकाश रानाभाट धनुषा जानुअघि औरही नाकाको इन्चार्ज थिए । ६ महिना भइसकेकाले रानाभाटले उनलाई औरहीबाट तानेका थिए । औरही नाका धनुषाको सबैभन्दा बढी तस्करी हुने ठाउँका रुपमा चिनिन्छ । औरही इप्रकामा कार्यरत छँदा झाले तस्करहरुसँग लाखौं असुलीमा विवादमा परेका थिए, सई झा । अहिले उनैलाई पुनः तस्करहरुकै डिजाइनमा औरही पठाइएको छ । प्रदेश प्रहरीबाट सादा पोशाकमा खटाइएका डीएसपी ज्ञानकुमार महतोको सल्लाहमा बुझ्दै नबुझी रजौरेले झालाई घुमुवा कमाण्डर राखेका छन् ।

    रजौरेले झाको पृष्ठभूमि नै नबुझी महतोको सिफारिसमा घुमुवा कमाण्डर राखेका छन् । डीएसपी महतो प्रदेश २ का घुमुवा कमाण्डरका रुपमा सप्तरीदेखि पर्सासम्मको सेटिङ मिलाउने गर्दछन् । ६ महिना धिरजप्रताप सिंह प्रदेश २ को डिआइजी हुँदा प्रदेश र जिल्ला दुवैतर्फको घुमुवाका रुपमा सई सन्तोष झाले काम गर्ने मौका पाएका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार