काठमाडौं । वर्तमान सरकार गठनपछि प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई हटाएर आइजीपी हुने चलखेलमा लागेका एआइजी हरि पालले शंकास्पद गतिबिधिमा संलग्न पाँच भारतीयलाई पक्राउ गरी गोप्यरुपमा छाडेका खुलेको छ । आइजीपी क्षेत्री र गृहमन्त्रालयलाई जानकारी नदिई गोप्यरुपमा छाडिएका ती भारतीय सुनौली नाका हुँदै स्थलमार्गबाट भारततर्फ गएको सूचनापछि उनीमाथि छानबिन सुरु भएको थियो ।
महानगरीय आयुक्त कार्यालयका प्रमुख एआइजी पालले सिभिल ड्रेसमा परिचालन गरेका डीएसपी नमराज भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ती पाँच भारतीयलाई नियन्त्रणमा लिएका थिए । कात्तिक ५ गते संयुक्त अरब इमिरेट्स (यूएई)को शारजहाँ विमानस्थलबाट आएका भारतीय नागरिकहरु यासिर अराफाद, मोहम्मद नुर, मोड रसद, सकिल अली, मोहम्मद रहबुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएपछि डीएसपी भट्टराईले नियन्त्रणमा लिएका थिए ।
नियन्त्रणमा लिइएका ती भारतीयलाई पक्राउ गरिसकेपछि गोप्यरुपमा छाडेको सूचना गृहमन्त्रालयले पाएपछि छानबिन गर्न आइजीपी क्षेत्रीलाई निर्देशन दिएको थियो । गृहसचिव टेकनारायण पाण्डेको निर्देशन अनुसार प्रहरी प्रधान कार्यालयले पक्राउ परेका पाँच भारतीयलाई गोप्यरुपमा छाडिएको बिषयमा छानबिन गरी प्रतिवेदन गृहमन्त्रालयमा बुझाइसकेको छ । एआइजी पालले उनीहरुलाई पक्राउ गरिसकेपछि माथिल्लो निकायलाई जानकारी नगराई किन भारततर्फ जान दिए ? यो बिषयलाई गृहमन्त्रालयले गम्भीरतापूर्वक लिएर प्रहरी प्रधान कार्यालयलाई छानबिन गर्न निर्देशन दिएको थियो ।
गत महिना पाँच भारतीय पक्राउ परेर छाडिएकै समयमा एआइजी पाल भारत भ्रमणमा स्थलमार्ग हुँदै गएका थिए । उनी विमानस्थलबाट नभई स्थलमार्गबाट जानु र माथिल्लो निकायमा जानकारी नदिई छाडिएका भारतीय पनि सुनौली हुँदै भारततर्फ लगिनु संयोगमात्र मान्न नसकिने प्रहरी स्रोतको दाबी छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकोे सीसीटीभी फुटेजमा पाँच भारतीयलाई महानगरीय प्रहरी कार्यालयका रानीपोखरीका डीएसपी नमराज भट्टराईले नियन्त्रणमा लिएर गएको देखिएको प्रहरी स्रोत बताउँछ । छानबिनमा संलग्न गृहका अधिकारीका अनुसार नियन्त्रणमा लिइएका उनीहरुको अवस्था अहिलेसम्म अज्ञात छ, न प्रहरी मुख्यालयलाई जानकारी गराइयो, न त गृहलाई नै ।
यूएई हुँदै भारतीय नेपाल आउनुलाई नै शंकास्पद रुपमा लिइन्छ । यूएईबाट आएका ती भारतीयमध्ये दुई जना जम्मु कस्मिरका रहेको बताइएको छ ।