तनहुँ । अहोरात्र खटिने सुरक्षा निकायका तल्लो तहका सुरक्षाकर्मीले राम्रो खाना नपाए पछि कति चित्त दुखाउलान्, तिनको आत्माले कति सराप देला, कल्पना गर्न सकिन्न । जोतिएर ड्युटीमा खटिनुपर्ने तर खाना भने अति निम्नस्तरको । यस्तै दुख पीडा, दुखेसो र गुनासो पोखेका छन् सशस्त्र प्रहरी बलको २३ नम्बर मनकामना गण भानु तनहुँका सिपाही हवल्दारले ।
नगरून् पनि किन सशस्त्र प्रहरीको सबैभन्दा कमसल खाना खुवाउने गण नै भानु हो भन्ने उनीहरूलाई लागेको छ । राशनको रकम कम भयो भनेर सरकारले यस आर्थिक बर्षदेखि १५ प्रतिशत थप गरिदिएसँगै अब प्रत्येक सुरक्षाकर्मीले राशन बापत झण्डै ७ हजार ३ सय रूपैयाँ मासिक रूपमा प्राप्त गर्छन् । तर सशस्त्र प्रहरीको भानुस्थित मनकामना गणका गणपति एसपी संजय भट्टराईका लागि भने सरकारले उक्त रकम थपिदिएपछि थप आम्दानीको स्रोत बनेको छ ।
सशस्त्र प्रहरीका हरेक गणमा जस्तै यहाँ पनि ६२५ दरबन्दी भए पनि २३ नम्बर गणमा भने ३ सय ३० जना जति मात्रै छन् । त्यसमध्ये पूर्वी नवलपरासीको चोरमारास्थित बेशमा निरीक्षकसहित १५ जना जाने गर्छन् । बाँकी करिव ८० जना जति गणमा राखेर बाँकी २ सय जना सधैं बिदामा छोड्ने गरिएको छ । पुग नपुग गणमा ८० जना भन्दा बढी कहिल्यै नहुने गणका एक निरीक्षकले बताए । उनले भने, यो गण मातहत कुनै बिओपी छैन । बेश चोरमारामा एउटा छ । बेशमा १५ जना हुन्छन्, त्यसमध्ये पनि निरीक्षकले १० जना राखेर पाँच जना बिदा छोड्छन र त्यसबापतको रकम पनि गणपति भट्टराईलाई मासिक रूपमा बुझाउनुपर्छ । गणभित्रको कुरा गर्ने हो भने दिनमा तीनवटा र रातिमा पाँच वटा पोष्ट छन् ।
पुरानो राशन बापतको रकमको हिसाब गर्दा पनि दुई सय जना बिदा छोड्दा १० लाख ८० हजार र अहिलेको थप समेतको हिसाबले मासिक न्यूनतम १४ लाख रूपैयाँ मनकामना गणका गणपति संजय भट्टराईले कमाउने रहेछन् । एसपी भट्टराईले आफूले भनेको नमान्ने कोर्ट माष्टर भए बारम्बार परिवर्तन गरिरहन्छन् । अहिले कुमाल थरका कोर्टमाष्टर छन् । जसले खानामा गुनासो गर्छ उसले चोरमारा बेश वा तालिममा लखेटिनु पर्छ । सिपाही हवल्दारको एउटै आवाज छ, मनकामना गण भानुमा जस्तो निम्नस्तरको खाना सशस्त्रको कुनै युनिटमा छैन होला । यहाँको खाना देखेर रून मन लाग्छ । यस्तै भएर पहिले सशस्त्रका गणमा सिपाही बिद्रोह भएको रहेछ राशनकै कारण ।