Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • वर्षाले बैतडीकाे अन्नबालीमा मात्रै दुई करोड बढीको क्षति


    बिहिबार, कार्तिक २५ २०७८
    440
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • बैतडी । अविरल वर्षाका कारण बैतडीमा दुई करोडभन्दा बढीको धानबाली र तरकारीमा क्षति भएको छ । गत असोज ३१ देखि यही कात्तिक ३ गतेसम्म परेको  वर्षाका कारण सो  क्षति भएको हो ।  जिल्लाका १० स्थानीय तहहरुमध्ये छ स्थानीय तहको विवरण सङ्कलन गरिएकोमा एक हजार १४० हेक्टर क्षेत्रफलमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    सिगास , शिवनाथ,सुर्नया, दोगडाकेदार  गाउँपालिका र  दशरथचन्द र पाटन नगरपालिकाबाट सङ्कलित  अन्नबाली क्षतिको तथ्याङ्कअनुसार एक हजार ३२० मेट्रिक टन अन्नबाली र तरकारी बालीमा क्षति भएको हो ।  जिल्लाका अन्य स्थानीय तहहरुमा भएको क्षतिबारे विवरण सङ्कलनको काम भइरहेको  निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।

    उनले भने, “वर्षाले आवातजावत गर्न बाटोसमेत नहुँदा क्षतिको विवरण सङ्कलन गर्न ढिलाई भएको हो ।” जिल्लाको सिगासमा सबैभन्दा बढी क्षति भएको जनाइएको छ । सिगासको ढुङ्गाड र थलाकडामा मात्रै एक हजार १०० मेट्रिक टन अन्नबालीमा क्षति गुगेको जिप्रकाले जनाएको छ ।

    यसका साथै क्षतिको विवरण सङ्कलन भएका स्थानीय तहहरुमा ३० घरमा पूर्ण र ४५ घरमा आंशिक क्षति पुगेको छ । यस्तै तीनवटा झोलुङ्गे पुल, दुई विद्यालय, २४ सिँचाइ आयोजना, १५ सडकमा क्षति पुगेको छ । भौतिक संरचना गरेर यहाँ एक अर्ब बढीको क्षति भएको अनुमान गरिएको छ ।

    तथ्याङ्क सङ्कलन काम सम्पन्न गरी कृषकलाई उचित राहत तथा क्षतिपूर्तिका लागि सम्बन्धित निकायमा पठाइने जनाइएको छ । किसानले भित्र्याउन नपाएको धानबालीमा क्षति पुगेको हो । धान उत्पादनको पकेट क्षेत्रमा नै अन्नबालीमा ठूलो क्षति भएपछि भोकमरी हुने भन्दै किसान चिन्तित भएका छन् । उक्त वर्षाका कारण पहिरोले घर पुरिँदा जिल्लाको शिवनाथका तीन र सुर्नयाका एक जनाको ज्यानसमेत गएको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार