Nepal Face
  • बुधबार, ३ मंसिर २०८३
  • बेलारुस आप्रवासी सङ्कटको मुख्य योजनाकार पुटिन रहेको पोलिस प्रधानमन्त्रीको आरोप


    बुधबार, कार्तिक २४ २०७८
    540
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • एजेन्सी । पोल्याण्डका प्रधानमन्त्रीले आफ्नो देशको बेलारुससँगको सीमामा उत्पन्न आप्रवासी सङ्कटको पछाडि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन रहेको आरोप लगाएका छन्।

    माटयुस मोराभियस्कीले पुटिनका निकट साझेदार बेलारुसी राष्ट्रपति एलेक्जेन्डर लुकासेन्काले यस्तो सङ्कट सिर्जना गराएको तर ‘त्यसको मुख्य योजनाकार मस्कोमा रहेको’ बताएका छन्।

    ब्रशल्स र वार्साले युरोपेली सङ्घले बेलारुसमाथि प्रतिबन्धहरू लगाएपछि मिन्स्कले गैरकानुनी आप्रवासीहरूलाई हतियारका रूपमा प्रयोग गरेको आरोप लगाएका छन्।

    बेलारुसी नेता एलेक्जेन्डर लुकासेन्काले युरोपेली सङ्घको प्रतिबन्धको बदलामा मानिसहरू सीमातर्फ पाठाइएका भन्ने आरोपलाई अस्वीकार गरेका छन्।

    तर बेलारुसका नेताले अवस्था बिग्रिएमा आफूले रुसको सहायता लिने चेतावनी दिएका छन्।

    पोलिस प्रधानमन्त्रीले के भने?
    मङ्गलवार पोलिस प्रधानमन्त्री मोराभियस्कीले सीमामा फौजहरूलाई भेटेपछि संसद्को एउटा आपत्कालीन सत्रमा बोलेका थिए। त्यहाँ उनले भने, “लुकासेन्काले सञ्चालन गरिरहेको हमलाका योजनाकार मस्कोमा छन्। ती मुख्य योजनाकार राष्ट्रपति पुटिन हुन्।”

    मङ्गलवार पोलिस प्रधानमन्त्री मोराभियस्कीले सीमामा फौजहरूलाई भेट्न पुगेका थिए उनले ३० वर्षमा पहिलोपटक पोल्याण्डको सीमा सुरक्षामाथि ‘निर्दयी हमला’ भएको बताए।

    भिडिओ फुटेजहरूमा काँडेतारले छुट्याइएको पोल्याण्डसँगको सीमामा बेलारुसतर्फ मानिसहरूको भिड देख्न पाइन्छ।

    सङ्कट

    निकै चिसो मौसमकाबीच यतिखेर कम्तीमा २ हजार आप्रवासीहरू सीमामा रोकिएका छन्। ती आप्रवासीहरू धेरैजसो मध्यपूर्व, अफगानिस्तान र अफ्रिकाका मानिसहरू छन्। जसमा युवा पुरुषहरू भए पनि त्यसमा महिला र बालबालिकाहरू समेत छन्।

    केहीले तिनलाई काटेर, मुढा ढलाएर र सामूहिक बल लगाएर अगाडि बढ्न खोजेको देखिन्छ। जबकी पोलिस सुरक्षाकर्मीहरूले अश्रुग्यासको प्रयोगले तिनलाई पछाडि धकेल्न खोजेका देखिन्छन्।

    एकातर्फ पोल्याण्ड र अर्कोतर्फ बेलारुसका सुरक्षाकर्मीबीच फसेका उनीहरू बेलारुसतर्फ टेन्ट टाँगेर बसेका छन्। नर्वेजिअन शरणार्थी परिषद्का महासचिव यान एगल्याण्डले आप्रवासीहरूमाथि गरिएको व्यवहारको निन्दा गरेका छन्।

    उनले भने, “तपाईँहरूले युरोपेली ईशाई सभ्यताको प्रतिरक्षा गरिरहेको भन्न पाउनुहुन्छ जब तपाईँले व्यग्र मानिसहरूलाई काँडेतार र हातमा बन्दुक बोकेका सेनासाथ सामना गर्नुहुन्छ।”

    उक्त सीमा क्षेत्रमा रातीको तापक्रम शून्य डिग्री सेल्सिअसभन्दा तल झर्नेगर्छ र पछिल्ला सातामा कयौँको मृत्यु समेत भइसकेको छ। (बीबीसीको सहयोगमा)

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार