काठमाडौं । नेपाली कांग्रेसको भदौ १८ गतेदेखि सुरु भएको १४औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन आज पनि जारी छ । वडा अधिवेशनका क्रममा आज झापा र मुस्ताङ गरी दुई जिल्लाको कार्यक्रम भएको समितिका संयोजक महादेवप्रसाद यादवले राससलाई जानकारी दिए । शुक्रबार ३५ जिल्लाको वडा अधिवेशन सम्पन्न भएको थियो । पार्टीले क्रियाशील सदस्यताको सूची दिएका जिल्लामध्ये ३७ जिल्लाको वडा अधिवेशन सम्पन्न भएको छ । कांग्रेसले भदौ १८ अघि ५६ जिल्लाका क्रियाशील सदस्यको सूची बुझाएको थियो ।
आज डढेल्धुराका क्रियाशील सदस्यको सूची समितिलाई प्राप्त हुने जानकारी आएको संयोजक यादवले बताए । बेलुकीसम्म पनि सूची प्राप्त नभएको समितिले जनाएको छ । डढेल्धुरा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्ला हो । क्रियाशील सदस्य सार्वजनिक भएका बाँकी जिल्लाको वडा अधिवेशन छिटो गर्न समितिले पार्टीलाई निर्देशन दिएको छ ।
क्रियाशील सदस्यको सूची सार्वजनिक हुन बाँकी रहेका २१ जिल्लामा तत्काल निर्वाचन अधिकृत खटाउन सक्ने गरी तयारी अवस्थामा रहेको समितिले जनाएको छ । क्रियाशील सदस्यको सूची सार्वजनिक भएको दुई घण्टाभित्र जिल्ला निर्वाचन अधिकृतको जिम्मेवारी दिएर खटाउन सकिने गरी तयारी भएको छ ।
कांग्रेसले ७५३ वटै स्थानीय तहको अधिवेशन भदौ २७ गते गर्ने निर्वाचन तालिका सार्वजनिक गरेको छ । त्यसअघिसम्म ७७ वटै जिल्लाका सबै वडाको अधिवेशन सक्ने गरी काम गर्न निर्वाचन समितिले पार्टीको ध्यानाकर्षण गराउँदै आएको छ ।
करिब नौ लाखको सङ्ख्यामा रहेका कांग्रेस क्रियाशील सदस्य पार्टीको गाउँ-नगर वडा अधिवेशनका मतदाता हुन् । क्रियाशील सदस्यले आफ्नो वडाको वडा समिति र क्षेत्रीय प्रतिनिधिको चयन गर्छन् । वडा अधिवेशनले आफूमध्येबाट सभापति एक, उपसभापति दुई, सचिव दुई र सहसचिव दुई गरी सात पदाधिकारी निर्वाचित गर्ने कांग्रेसको विधानमा व्यवस्था छ । यसबाहेक मतदाता सङ्ख्याको अनुपातका आधारमा वडा सदस्य र क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् ।
मुलुकभरका सबै ६ हजार ७४३ वडामा अधिवेशन सम्पन्न हुँदा ४७ हजार २०१ पदाधिकारी र सदस्य एक लाख २१ हजार ६८१ निर्वाचित हुने समितिका संयोजक यादवले जानकारी दिए । यसबाहेक मनोनीत हुनेको सङ्ख्या थप रहेको छ । त्यस्तै देशभरका वडाबाट एक लाख १४ हजार ५७५ क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् ।
महाधिवेशनअन्तर्गत गाउँ-नगर वडा अधिवेशन आज भदौ १८, गाउँ-नगरपालिका अधिवेशन भदौ २७, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन-एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते तोकिएको छ ।
यसैगरी कांग्रेसले एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १०, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरेको छ ।
मुलुक सङ्घीय संरचनामा गइसकेपछि पार्टीको तल्लो तहसम्म निर्वाचनमार्फत आन्तरिक प्रजातन्त्रको अभ्यास गर्ने कांग्रेस पहिलो पार्टी बनेको छ । यसअघि कांग्रेसको १३औँ महाधिवशेन २०७२ साल फागुनमा काठमाडौँमा सम्पन्न भएको थियो । वडा अधिवेशन गर्न तोकिएको भदौ १८ को मिति नाघिसक्दासमेत २० जिल्लाका क्रियाशील सदस्यको सूची अझै सार्वजनिक नभएकामा सम्बन्धित जिल्लाका कार्यकर्ता निराश बन्न थालेका छन् ।
क्रियाशील सदस्य सार्वजनिक नभएका २१ जिल्ला
चाँडो थप सूची सार्वजनिक गर्न सम्बन्धित जिल्लाका कार्यकर्ताले पार्टी नेतृत्वलाई दबाब दिँदै आएका छन् । प्रदेश नं १ मा मोरङको सदस्यता सूची अझै सार्वजनिक भएको छैन । प्रदेश नं २ का सप्तरी, सिराहा, रौतहट, धनुषा, महोत्तरी, सर्लाही, बारा र पर्सा गरी आठवटै जिल्लाका क्रियाशील सदस्यताको सूची केन्द्रीय निर्वाचन समितिमा प्राप्त नभएको सचिव जगन्नाथ श्रेष्ठले सुनाए ।
यसैगरी बागमती प्रदेशका सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ र रसुवा गरी चार जिल्लाका क्रियाशील सदस्यको सूची अझै सार्वजनिक हुन सकेको छैन । गण्डकी प्रदेशका सबै जिल्लाको सदस्यता सूची सार्वजनिक भइसकेको छ । लुम्बिनी प्रदेशका कपिलवस्तु, बाँके र बर्दियाको सूची सार्वजनिक हुन सकेको छैन । कर्णाली प्रदेशका डोल्पा र सुर्खेत, सुदूरपश्चिम प्रदेशका बाजुरा, डढेल्धुरा र कैलालीका क्रियाशील सदस्यको सूची पनि हालसम्म प्राप्त नभएको निर्वाचन समितिले जनाएको छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend