Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बाढीले एक घर बगायो, ४५ घर जोखिममा


    सोमबार, भाद्र ७ २०७८
    785
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • म्याग्दी । बेनी नगरपालिका–३ भकिम्लीको दूधेखोलामा आज बिहान बाढीले एक घर बगाएको छ । बाढीका कारण ४५ घर जोखिममा परेका छन् ।

    भकिम्लीको चिनाखेत, तोराखेत र लरेनीको सिमानामा पहिरो खसेर दूधेखोलामा आएको बाढीले कटान गरेर घर, सडक र खानेपानीको पाइप बगाउनाका साथै जोखिम बनाएको हो । 

    वडा नं ३ भकिम्लीका वडा सदस्य गेमप्रसाद घर्तीले बाढीले बगाएर दिपा पुनको घर पूर्ण क्षति भएको जानकारी दिए । “नारायण पुन र तिलाराम थापाका घर उच्च जोखिममा छन्”, उनले भने, “दूधेखोलाको दाँयाबायाँ किनारमा रहेका ४५ घरधुरी भएको बस्ती नै बाढीको जोखिममा परेको छ ।” नारायणको गोठमा बाँधेको दुहुना भैंसी भाग्ने क्रममा बाढीले बगाएर मरेको छ । 

    करिब सात सय मिटरको दुरीमा बाढीले बस्तीतर्फ कटान गरेको छ । कोप्रेतर्फ पनि कटानको जोखिम छ । बाढीका कारण बेनी नगरपालिका र मङ्गला गाउँपालिकाका चार वडालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–बरङजा सडक अवरुद्ध भएको छ । 

    सडक अवरुद्ध हुँदा भकिम्ली, सुर्केमेला, बास्कुना, थामडाँडा र बरङजा सिधायातायात सम्पर्क विच्छेद भएको छ । सो क्षेत्रका किसानलाई बेनीमा दूध ढुवानी गर्न समस्या भएको छ । खानेपानी र सिँचाइका पाइप बाढीले बगाएको छ । हल्लेगौँडाको पहिराका कारण दूधेखोला–हल्लेगौँडा–डाडाँखानी हँुदै भकिम्ली जोड्ने सडक गत जेठ देखि नै अवरुद्ध छ । 

    दूधे खोलाको बाढीले म्याग्दी खोला बग्ने ठाउँलाई साँघुरो बनाउँदा तलाउ बनेको छ । तलाउका कारण चुत्रेनीमा डुबान र कटानको जोखिम बढेको छ । राति १ः ०० बजे भूकम्प जाँदाको जस्तो कम्पन आएपछि घर बाहिर निस्किँदा बाढी आएको देखेको र सुरक्षित ठाउँमा गएर रात कटाएको स्थानीयवासी ओमबहादुर घर्तीमगरले बताए  ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार