काठमाडौं । सरकारले लागू गरेको निषेधाज्ञा उल्लंघन गर्दै सशस्त्र प्रहरी परिवार महिला संघले भीडभाड जम्मा गरी नेताका घर घरमा दर खाने कार्यक्रम गर्दैआएको छ । संघका अध्यक्ष सरिता कणेल खनालसहितका महिलाहरुले स्वास्थ्य प्रोटोकललाई उल्लंघन गर्दै पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतको घरमा दर खाएर फोटो सेसन गरेका छन् ।
सशस्त्रका आइजीपी खनालको अनुमतिमा महिला संघले शनिबार पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतको घरमा दर खुवाउने कार्यक्रम आयोजना गरेको छ । बस्नेतको श्रीमती सत्या पहाडी पनि माओवादी नेतृ हुन् । बस्नेत र पहाडी दम्पत्तिको घरमा दर खाने कार्यक्रममा नाचगान, भोजका तस्वीर र भिडियो समेत सामाजिक संजालमा राखी जिल्ला प्रशासन कार्यालयले लगाएको निषेधाज्ञालाई उल्लंघन गरिएको छ । पूर्वमन्त्री बस्नेतको घरमा आयोजित दर कार्यक्रममा सहभागी सशस्त्र प्रहरी परिवार महिला संघका कसैले पनि मास्क समेत लाएका छैनन् ।
कोरोना संक्रमण दर दैनिक बढिरहेको छ । शनिबार मात्रै २ हजार ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ३० जनाले मृत्युबरण गरेका छन् । कोरोना संक्रमणको दर बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले २०७८ साउन २८ गतेदेखि निषेधाज्ञामा कडाइ गरेको छ । जनैपूर्णिमा, ऋषितर्पणी, गाईजात्रा लगायतका पर्वहरु स्वास्थ्य प्रोटोकलको पूर्ण पालना हुनेगरी परम्परागत तबरमा सांकेतिक तबरले मनाउन र भीडभाडजन्य गतिबिधि नगर्न अनुरोध गरेको छ । तर जो अगुवा उही बाटो …भनेझैं सशस्त्र प्रहरीका संगठन प्रमुखले नै नेताका घर घरमा स्वास्थ्य प्रोटोकल र निषेधाज्ञा उल्लंघन गरी नेताको घरमा चाकरी गर्न महिला संघको दुरुपयोग गरेका छन् ।
कोरोना महामारीले गर्दा लाखौंं नेपालीको रोजगारी गुमेको छ, दुई छाक खान धौ धौको अवस्था छ । तर सशस्त्र प्रहरीका हाकिमका श्रीमतीलाई त्यसको कुनै पर्वाह छैन । संगठनका जवानको गाँस काटेर जम्मा गरिएको रकम हाकिमका श्रीमतीहरुले पचासौं हजार खर्च गरी नेताका घरमा तडकभडकपूर्ण रुपमा दर खुवाउन खर्च गरेका छन् ।
तीज आउन १८ दिन बाँकी छँदै सशस्त्रका आइजीपी शैलेन्द्र खनालले नेताका घर घरमा श्रीमती कँडेललाई सशस्त्र प्रहरी परिवार महिला संघको आवरणमा दर कार्यक्रमको बहनामा चाकरीमा पठाएको आरोप पनि छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइजीपी बनाए पनि नेकपाको एकता खारेजीपछि शैलेन्द्र खनाल केपी शर्मा ओलीको विश्वासिला बनेका थिए । र, प्रचण्डका गतिबिधिको सूचना संकलन गरी ओलीलाई बुझाउँदैआएका थिए ।
सर्वोच्च अदालतको असार २८ को परमादेशबाट ओली पदमुक्त भएपछि आइजीपी खनाल प्रचण्डलाई खुसी पार्न उनका निकट नेताहरुको चाकरीमा लिप्त हुन थालेका छन् । शक्ति बस्नेत प्रचण्ड निकट भएकाले उनको घरमा महिला संघलाई दर खुवाउन पठाएको स्रोत बताउँछ ।