वीरगञ्ज । बाराको जितपुर सिमरा उपमहानगरपालिकामा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ ।
शनिबार राति साढे दश बजेको समयमा जितपुर सिमरा उपमहानगरपालिका–१६ टाँगिया बस्ती नजिकै भएको दुर्घटनामा परि तीनजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पूर्व पश्चिम राजमार्ग सडक खण्ड अन्तर्गत प्र.२–०३–००२ प ५३३५ र विपरीत दिशाबाट आउँदै गरेको बा ६५ प २७५६ नम्बरको मोटरसाइकल ठोक्किँदा दुवै मोटरसाइकलमा आगो लागेको थियो ।
दुर्घटनामा प्र.२–०३–००२ प ५३३५ नम्बरको मोटसाइकल चालक निजगढ नगरपालिका–९ बस्ने १६ वर्षीय विकाश साह र मोटरसाइकलको पछाडि सवार उनकी फुपु पर्साको बहुदरमाई नगरपालिका–४ डकैला बहुअरी बस्ने ३५ वर्षीय सुनैना देवी साह र बा ६५ प २७५६ नम्बरको मोटरसाइकल चालक नुवाकोट जिल्लाको घुङताङ–३ बस्ने ४० वर्षीय टुलुराज तामाङको घटनास्थलमै मृत्यु भएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।