Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अफगानिस्तानबाट नेपाली फर्कनेक्रम जारी, आज १६५ जनाको आगमन


    शुक्रबार, भाद्र ४ २०७८
    655
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । अफगानिस्तानबाट उद्धार भएका थप नेपाली नागरिकको स्वदेश फर्कनेक्रम जारी छ । आज जजिरा एयरको कुवेत–काठमाडौँ नियमित उडानबाट थप १६५ नेपाली स्वदेश फर्केका छन् ।

    हालसम्म ४६१ नेपाली काठमाडौँ आइपुगेका तथा थप नौ जना नियमित उडानबाट आज राति आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । उद्धार भई स्वदेश आएकाहरूमा काबुलस्थित विभिन्न कूटनीतिक नियोगमा काम गर्नेहरूका अतिरिक्त अनौपचारिक क्षेत्रमा रोजगारी गरिरहेका केही छन् ।

    काठमाडौँ आइपुगेकाहरूलाई अध्यागमनलगायत प्रक्रिया पूरा गरी कोभिड सङ्कट व्यवस्थापन केन्द्रको समन्वयमा सामाखुसीस्थित सरकारले व्यवस्थापन गरेको ‘होल्डिङ सेन्टर’मा स्वास्थ्य मापदण्डानुसार कोभिड–१९ को परीक्षणलगायत प्रक्रियागत काम सम्पन्न गरी आवश्यक व्यवस्थापन भएको उक्त मन्त्रालयले बताएको छ । ‘कन्सुलर’ सेवा विभागको ‘वेब पोर्टल’मा आज साँझ ५ बजेसम्म ३१० नेपालीले आफ्नो विवरण दर्ता गराएका उक्त मन्त्रालयका मध्य एशिया, पश्चिम एशिया तथा अफ्रिका महाशाखाका प्रमुख हरिश्चन्द्र घिमिरेले राससलाई जानकारी दिनुभयो ।

    अफगानिस्तानमा फसेका नेपाली नागरिकलाई सकुशल स्वदेश फिर्तीको व्यवस्था प्रभावकारी तुल्याउन सरकारले गठन गरेको उद्धार कार्यदलका संयोजक घिमिरेका अनुसार उद्धार कार्यको सहजताका लागि कन्सुलर सेवा विभागको वेबसाइटमा रहेको अनलाइन पोर्टलमा दर्ता भएका, नेपाल राजदूतावास, नयाँदिल्लीबाट प्राप्त विवरण तथा ‘सिचुएशन सेन्टर’ मा नाम टिपाएका नेपालीलाई सम्पर्क गरी उनीहरू हाल रहेको स्थानअनुसार समूह सूची तयार गरेर काबुलबाट उद्धार उडान गरिरहेका मित्रराष्ट्रहरूलाई उपलब्ध गराई उनीहरूको उद्धारमा आवश्यक सहकार्य र समन्वय भइरहेको छ । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार