Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आमाले घर छाडेपछि जुम्ल्याहा बालबालिकाको बिचल्ली


    शुक्रबार, भाद्र ४ २०७८
    730
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–४ चौकीटोलकी एक महिलाले घर छाडेर हिंडेपछि जुम्ल्याहा बालबालिकाको बिचल्ली भएको छ । स्थानीय संगीता तामाङ गन्धर्वले यही भदौ १ गतेदेखि घर छाडेर हिंडेपछि जुम्ल्याहा बालबालिकाको बिचल्ली भएको हो ।

    केही दिन अगाडि श्रीमान्–श्रीमतीको झगडा परेपछि उनी घर छाडेर हिँडेको बताइएको छ । उहाँ हराएको बारेमा परिवारले बिहीबार गाउँपालिकालाई जानकारी गराएको छ । गाउँपालिकाले प्रहरीलाई खबर गरेर उहाँको खोजीका लागि अनुरोध गरेको उपाध्यक्ष करुणा गुरुङले जानकारी दिइन् ।

    ‘ती महिला हराएका बारेमा गाउँपालिकामा जानकारी आएपछि प्रहरीको सहयोगमा खोजी गरिरहेका छौं’, उनले भनिन् । ती महिलाले मोबाइल फोन घरमै छाडेको छ । ‘ती महिलाको आमासँग कुरा गरेका छौं, माइती पनि नगएको जानकारीमा आयो’, गुरुङले भनिन् ।
    उस्मानका लागि सहयोग जुट्दै
    विश्वकै दुर्लभ रोगबाट ग्रसित नौ महिने बालकको उपचारका लागि सहयोग जुट्ने क्रम जारी छ । ‘स्पाइनल मस्कुलर एट्रोफी’ रोगबाट ग्रसित शुक्लागण्डकी नगरपालिका–५ का मोहम्मद उस्मान अलीको उपचारका लागि देश तथा विदेशबाट सहयोग जुटिरहेको छ ।

    उनको उपचारमा सघाउन जिल्लाका युवाले आर्थिक सङ्कलनलाई तीव्रता दिएका छन् । रकम सङ्कलनका लागि उनीहरुले घरदैलोदेखि सामाजिक सञ्जालमार्फत सहयोगको अपिल गरिरहेका छन् । यसैक्रममा शुक्लागण्डकीस्थित गल्छिनाका युवा युवतीले राजमार्गमै सहयोगको अपिल गरेर रु एक लाख दुई हजार ५२२ सङ्कलन गरेका छन् । खैरेनी र दुलेगौडास्थित बस रोक्ने ठाउँमा बसेर सहयोगको अपिल गर्दा उक्त रकम सङ्कलन भएको स्थानीयवासी रुकिया खातुनले जानकारी दिइन् ।

    यसै गरी खैरेनी युवा क्लबले घरदैलोमार्फत सङ्कलन भएको रु ५५ हजार ५५५ बालकका आफन्तलाई हस्तान्तरण गरेको छ । घरदैलोबाट सङ्कलित ४४ हजार ३४० र के गाइजबाट रु ११ हजार २१५ गरी रु ५५ हजार ५५५ क्लबका अध्यक्ष सुरज थापाले बालकका हजुरबुवालाई हस्तान्तरण गरे । निकै महङ्गो उपचार लाग्ने भएकाले पीडित परिवारले सहयोगको आग्रह गरेको छ । ती बालकमा जन्मिएको तीन महिनामै एसएमए रोगको लक्षण देखिएको परिवारले जनाएको छ ।

    स्थानीय तहमा बारअनुसार सेवा

    कोभिड–१९ को सङ्क्रमण दिनदिनै बढ्दै गइरहेको र कार्यालयमा सेवाग्राहीको चाप अत्यधिक बढेपछि जिल्ला प्रशासन कार्यालयले अब बारअनुसार सेवा प्रवाह गर्ने भएको छ । दश स्थानीय तह रहेको जिल्लाका नागरिकलाई कार्यालयले यही भदौ ७ गतेदेखि बारअनुसार सेवाप्रवाह गर्न लागेको हो ।

    कार्यालयमा अत्यावश्यक सेवाबाहेक अन्य सबै किसिमका दैनिक सेवा लिन आउने सेवाग्राहीको सङ्ख्या अत्यधिक बढेकाले यस्तो व्यवस्था सुरु गर्न लागिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । ‘कार्यालय तथा बजारमा मानिसको भीडभाडसँगै सङ्क्रमण पनि बढेको हुँदा मानिसको आवागमन कम गर्न यही भदौ ७ गतेदेखि अर्को व्यवस्था नभएसम्मका लागि स्थानीय तहगतरूपमा सेवा प्रवाहको व्यवस्था मिलाएका छौं’, बरालले भने ।

    कार्यालयका अनुसार आइतबार शुक्लागण्डकी नगरपालिका, भानु नगरपालिका, आँबुखैरेनी गाउँपालिका र ऋषिङ गाउँपालिका, सोमबार व्यास नगरपालिका र म्याग्दे गाउँपालिका, मङ्गलबार शुक्लागण्डकी नगरपालिका, घिरिङ गाउँपालिका र ऋषिङ गाउँपालिकाका जनताले सेवा लिन पाउने छन् ।

    बुधबार भिमाद नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका, देवघाट गाउँपालिका, बन्दीपुर गाउँपालिका तथा बिहीबार आँबुखैरेनी गाउँपालिका, देवघाट गाउँपालिका, भिमाद नगरपालिका र भानु नगरपालिका एवं शुक्रबार व्यास नगरपालिका र बन्दीपुर गाउँपालिकाका जनताले सेवा लिन पाउने छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार