एजेन्सी । अफगानिस्तानका राष्ट्रपति अशरफ गनीले आफ्नो देशमा शरण लिएको संयुक्त अरब एमिरेट्स (यूएई) ले बताएको छ । गत आइतवार तालिबान राजधानी काबुलतर्फ अघि बढेपछि गनीले देश छाडेका थिए ।
यूएईको विदेश मन्त्रालयले ”मानवीयताका आधारमा” गनी र उनको परिवारलाई स्वागत गरिएको जनाएको छ । बुधवार अबेर जारी गरेको एउटा भिडिओमा गनीले आफू देशबाट नभागेको दाबी गर्दै देशलाई “ठूलो दुर्घटना” बाट बचाउन देश छाडेको बताए ।
“रक्तपात र अराजकतालाई रोक्न सकियोस् भनेर अहिलेका लागि म एमिरेट्समा छु,” उनले भने ।” हाल म अफगानिस्तान फर्कनेबारे छलफलमा रहेको छु ।”
फेसबुकबाट प्रत्यक्ष सम्बोधन गरेका उनले देश छाड्ने क्रममा ठूलो मात्रामा रकम लिएर गएको भन्ने हल्लालाई त्यो “पूर्ण रूपमा आधारहीन झुट” भएको भन्दै अस्वीकार गरे ।
आलोचना
देश छाडेपछि ७२ वर्षीय गनीले अफगानिस्तानका अन्य राजनीतिज्ञले उनको कडा आलोचना गरिरहेका थिए । अफगानिस्तानको राष्ट्रिय मेलमिलामसम्बन्धी उच्च परिषद्का अध्यक्ष अब्दुल्लाह अब्दुल्लाहले “ईश्वरले उनलाई जबाफदेह बनाऊन् र देशले पनि उनलाई न्याग गर्ने नै छ ।”
सोमबारको मन्तव्यमा अमेरिकी राष्ट्रपति जो बाइडनले पनि देश छाडेर भागेकोमा अफगान सरकारको आलोचना गरेका थिए । बुधवार अबेर अमेरिकी उप-विदेशमन्त्री वेन्डी शर्मनले सञ्चारकर्मीहरूसँग “गनी अफगानिस्तान अब कुनै व्यक्तित्त्वका रूपमा नरहेको” बताएकी थिइन् ।
यद्यपि अमेरिकाले लगातार उनलाई “राष्ट्रपति गनी” भनेर सम्बोधन गरिरहेको छ । अमेरिकी विदेश मन्त्रालयले अफगानिस्तानमा औपचारिक रूपमा सत्ता हस्तान्तरण नभएको भन्दै त्यसलाई जारी राखेको हो । भिडिओ सन्देशमा गनीले “आफूले जुत्ता पनि लगाउन नसक्ने अवस्थामा” आफूलाई राष्ट्रपति भवनबाट आफ्नो सुरक्षा टोलीले सुरक्षित रूपमा बाहिर निकालेको बताए ।
“घटनाक्रम तीव्र रूपमा विकास भयो । म तालिबानसँग मिलेर एउटा समावेशी सरकार बनाउन चाहन्थेँ,” उनले भने । गनीले आफूले तालिबान र आफ्नो प्रशासनका अधिकारीबीच भएको वार्तालाई समर्थन गरेको जनाउँदै त्यस्तो भनेका हुन् ।
-बीबीसी