Nepal Face
  • बुधबार, ३ मंसिर २०८३
  • एकपछि अर्को सत्ता गुमाउँदै एमाले, दोषी को ?


    बिहिबार, साउन २८ २०७८
    2.3K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेले एकपछि अर्को सत्ता गुमाउँदै गएको छ ।

    गत निर्वाचनमा अभूतपूर्व शक्तिसहित संघ र प्रदेशमा सरकार बनाएको एमालेले नेकपा विघटनको पाँच महिनामै संघ, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सत्ता गुमाएको हो । 

    बुधबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएपछि एमाले नेतृत्वको सरकार अब प्रदेश नं १ र वाग्मतीमा मात्रै बाँकी छ ।

    पछिल्लो समय पार्टी भित्रको आन्तरिक द्वन्द र अध्यक्ष केपी शर्मा ओलीको अहमताले गर्दा एमालेले सत्ता गुमाउँदै गएको देखिएको छ । गत निर्वाचनमा एक भएका एमाले र माओवादी अहिले छुट्टै कित्तामा छन् । 

    एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीमा रहँदा प्रतिनिधिसभाको दुईदुई पटक विघटन गरेपछि संघमा उनलाई सत्ताच्युत गर्न पार्टीकै वरिष्ठ नेता माधवकुमार नेपालको पक्षले निर्णायक रोल खेलेको थियो  । ओलीलाई सत्ताबाट बहिर्गमन  गर्नकै लागि नेपाल पक्षले कांग्रेस, माओवादी केन्द्र र जसपासँग गठबन्धन नै बनाएको थियो । अहिले ओलीपक्षीय मुख्यमन्त्री रहेको प्रदेश १ र वाग्मतीमा पनि नेपाल पक्ष निर्णायक अवस्थामा छ ।

    तत्कालीन नेकपा विवादको असर अहिले सबैतिर देखिएको छ। अध्यक्ष ओली र नेता नेपालबीको आन्तरिक द्वन्दका कारण दुई तिहाइ बहुमतसहित सत्तारोहण गरेका ओलीले साढे ३ वर्षमै सत्ताबाट बाहिरिनुपर्‍यो । 

    गत जेठ ८ मा दोस्रोपटक गरिएको प्रतिनिधिसभा विघटनको निर्णयलाई जेठ २८ मा सर्वोच्च अदालतले बदर गरेपछि ओली प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा छन् । आफ्नै पार्टीको सरकार ढालेको भन्दै ओली–नेपाल पक्षप्रति आक्रोशित छन् । यसले एमालेको आन्तरिक एकता प्रक्रियालाई जटिल बनेको छ। 

    ओली सत्ताबाट बहिर्गमन हुनु एक महिना अघि गण्डकीका पृथ्वीसुब्बा गुरुङको मुख्यमन्त्री पद गुमेको थियो । कांग्रेस, माओवादी, जनमोर्चा, जसपा र स्वतन्त्र सांसदले गठबन्धन बनाएपछि गण्डकी प्रदेशमा गुरुङ अल्पमतमा पुगेका थिए । गण्डकीमा जेठ २९ देखि कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री छन् । सुदूरपश्चिम र कर्णाली प्रदेशमा भने माओवादी केन्द्रका मुख्यमन्त्रीलाई एमालेको नेपाल पक्षका सांसदले विश्वासको मत दिएका छन् । 

    प्रदेश–२ मा एमाले सुरुदेखि नै सत्तामा छैन । एमालेभित्र अन्तरविरोध बढ्दै गए वाग्मती र प्रदेश १ को सत्ताबाट पनि ओली पक्ष बाहिरिने अवस्था छ । सत्ता गठबन्धनले ओली सरकारका पालामा नियुक्त प्रदेश प्रमुख पनि हेरफेर गरिरहेको छ । जसमा साउन १२ मा लुम्बिनी प्रदेशमा धर्मनाथ यादवलाई हटाएर अमिक शेरचन तथा गण्डकीमा सीताकुमारी पौडेललाई हटाएर पृथ्वीमान सिंह गुरुङलाई प्रमुख बनाइएको छ । सरकारले अन्य प्रदेश प्रमुख पनि हेरफेरको कार्यसूची बनाएको छ । ओलीका पालामा भएका राजनीतिक नियुक्ति पनि देउवा सरकारले उल्ट्याउँदै छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार