काठमाडौँ । संयुक्त राष्ट्रसंघको शान्ति मिसन नेपाल प्रहरीका लागि ठूलो अवसर हो । मिसनमा जानका लागि स्याट परीक्षा दिनुपर्छ । जुन परीक्षामा सिपाहीदेखि एसएसपीसम्मले भाग लिन पाउँछन् । शान्ति मिसनमा छनोटका लागि साउन १५ र १६ मा आन्तरिक परीक्षा (प्रि–स्याट) को परीक्षामा प्रश्नपत्र ‘लिक’ भएको कुरा बाहिरिएपछि प्रहरीको प्रतिष्ठामै गम्भीर आँच पुगेको छ ।
प्रश्नपत्र लिक कसरी भयो भनेर प्रहरीले डीआईजी बसन्त लामाको संयोजकत्वमा गठन गरेको छानबिन समितिले शंकास्पदहरुसँग बयान लिइरहेको छ । छानबिन समितिले बिहीबार प्रहरी हवल्दार कुमार शाहसँग बयान लिएको छ । शाह ८ वर्ष प्रहरी प्रधान कार्यालयको युएन शाखामा कार्यरत रहेको र केही समयअघि मात्र साइबर ब्यूरोमा सरुवा भएका थिए । बयानका क्रममा शाहले आफैँले डिएसपी रुपेश खड्कालाई शान्ति मिसनको प्रश्नपत्र दिएको बयान दिएपछि प्रश्नपत्र लिक प्रकरणले नयाँ मोड लिएको छ ।
लामो समय एकै कार्यालयमा तल्लो दर्जाका प्रहरी किन रुचाउँछन् भन्ने कुरो प्रश्नपत्र लिक प्रकरणपछि उजागर भएको छ । आवधिक सरुवाको नीति लागू नगर्दाको परिणाम प्रहरीको प्रश्नपत्र लिक प्रकरण हो । ८ बर्षदेखि कार्यरत हवल्दार शाहले यसअघि पनि प्रश्नपत्र लिक गर्दैआएको उनी त्यो शाखामा लामो समयदेखि कार्यरत रहेकाले पुष्टि गर्दछ । यो पटक प्रश्नपत्र लिक भएको कुरा बाहिर आयो, यसअघि बाहिरिएको थिएन ।
प्रहरी प्रधान कार्यालय तथा ७ वटा प्रदेश प्रहरी कार्यालयमा साउन १५ र १६ मा प्रिस्याट परीक्षा सञ्चालन भएको थियो । प्रश्नपत्र परीक्षा हुनुभन्दा दुई दिनअघि बाहिरिएको थियो ।
छानबिन समितिसँगको बयानमा हवल्दार शाहले डिएसपी खड्कालाई प्रश्नपत्र दिएको बताएका छन् । यसअघि युएन शाखामा बसेका खड्का र शाहबीच पुरानो चिनजान थियो ।
समितिले युएन शाखामा कार्यरत डिएसपी बासु पाठकसहित दर्जन प्रहरी अधिकारीहरूसँग बयान लिएको छ । समितिले हवल्दार शाह र युएन शाखामा कार्यरत परिचर सुरेश बमलाई १ नम्बर गण नक्सालमा राखी बयान लिइरहेको छ । प्रिस्याट परीक्षाको प्रश्नपत्र युएन शाखाका एसपी अनुपम शमशेर जबराको घर्रामा राखिएको थियो । जुन घर्राको साँचो बमसँग थियो । साउन १३ मा एसपी राणा कार्यालय समयपछि घर गएको मौका छोपी बमले घर्राबाट प्रश्नपत्र निकालेको छानबिन समितिले निष्कर्ष निकालेको छ ।