Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काभ्रेको जुवा अप्रेसनले प्रहरी हेडक्वाटरसम्म तरंग


    बिहिबार, साउन २१ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • ९ मिनेट पाठ
  • काभ्रे । नेपाल प्रहरीका हाकिमहरुले घुमुवा राखेर अतिरिक्त कमाइ गर्ने क्रम बढिरहेको छ । तराईका जिल्लामा घुमुवा राखेर अतिरिक्त कमाइ गर्ने गरेका गुनासा धेरै आउने गरेका छन् । पहाडी जिल्लामा पनि पनि प्रहरीका इन्चार्जहरुले घुमुवा राखेर असुली गरेका गुनासा आउने गरेका छन् ।  

    पहाडी जिल्लामध्ये देशको राजधानी काठमाडौं उपत्यकासँग जोडिएको काभ्रेमा जुवा अखाडादेखि क्रसर आम्दानीका स्रोत हुँदैआएका छन् । काभ्रेका पाँचखाल, धुलिखेल, बनेपा, भकुन्डबेसी, पनौतीमा धेरै जुवा अखाडा प्रहरीकै संरक्षणमा संचालित छन् । जहाँ लाखौं लाखको जुवा खेल हुने गरेको छ । यी जुवा अखाडा संचालकसँग मिलेमतो गरी संरक्षण गरेबापत काभ्रे जिल्ला प्रहरीका घुमुवादेखि संघीय इकाई प्रहरी कार्यालयका घुमुवासम्मले मासिक ५ लाखभन्दा बढी असुली गर्ने गरेको खुलेको छ ।  

      जुवा र क्रसरको अतिरिक्त कमाइमा संघीय ईकाई कार्यालय प्रमुख एसएसपीदेखि जिल्लाका एसपी र वडा प्रहरी कार्यालय बनेपासम्मको भागबण्डा लाग्ने गरेको छ । संघीय इकाई प्रहरी कार्यालय बनेपा जनागालमा १३ बर्षदेखि कार्यरत घुमुवा सिपाही हुन्, टोपबहादुर गिरी ।

     गिरीले काभ्रेका बनेपा, धुलिखेल, पनौती, भकुन्डेबेसी र पाँचखालमा संचालित जुवा अखाडाबाट मासिक ५ लाख घुस संकलन गर्ने गरेका छन् । संघीय इकाई प्रहरी कार्यालयको इन्चार्ज तत्कालीन एसएसपी धिरजप्रताप सिंहभन्दा पहिलेदेखि नै गिरी घुमुवा हुन् । १३ बर्षदेखि सिभिलमा जुवा खेलाउनको संरक्षण गर्ने र आफैं जुवा अखाडा नै संचालन गर्ने कार्य सिपाही गिरीले गर्दैआएका छन् ।

    पाराङ तामाङको धुलिखेल र बनेपामा जुवा अखाडा छ । सोमबहादुर तामाङले धुलिखेल, बनेपा, भकुन्डेबेसी र पाँचखालमा जुवा खेलाउने गरेका छन् । पनौतीमा हिरा लामाको अर्को टोलीले जुवा खेलाउँदैआएको छ । यिनीहरुले पनौतीको जंगलमा समेत जुवा खेलाउने गरेका छन् । यी जुवा अखाडाबाट घुमुवा गिरीले मासिक ५ लाख रुपैयाँसम्म असुली गर्दै हरेक एसएसपीलाई बुझाएर १३ बर्षदेखि रजगज गर्दैआएका छन् ।

    जुवाडेसँग एसएसपीका घुमुवा गिरीले लाखौं असुलेको घटनामा छानबिन सुरु भएको छ । गत महिना काभ्रेमा पक्राउ परेका जुवाडेले एसएसपीका घुमुवा गिरीलाई मासिक लाखौं रुपैयाँ घुस दिने गरेको बयान दिएका छन् । जसले गर्दा प्रहरी नै चकित परेका छन् । जिल्ला प्रहरी कार्यालय, काभ्रेले बनेपाको मगरगाउँबाट पक्राउ गरेका जुवाडेले पटक–पटक घुुमुवा गिरीलाई पैसा बुझाएर सेटिङ मिलाउदै आएको बताएका छन् । उनीहरुले घुस बुझाएको प्रमाणसमेत बुझाएका छन् । यो बिषयमा प्रहरी प्रधान कार्यालय तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन थालेको छ । आयोगबाट प्राप्त भिडियोमा कहिले कहाँ  र कति पैसा आफुहरुले बुझाएको जुवाडेहरुले बताएका छन् ।

    काभ्रे जिल्ला प्रहरी कार्यालयमा ५ बर्षदेखि कार्यरत अर्का घुमुवा हवल्दार कृष्ण अधिकारीले जुवा अखाडा र क्रसरबाट घुस उठाउँदै हाकिमलाई भागबण्डा गरी टिकेका थिए । तर उनको बारेमा प्रहरी प्रधान कार्यालयको उजुरी छानबिनमै गुनासो पुगेपछि केही दिनअघि उनको सरुवा भएको छ । उनले पनि मासिक रुपमा ६ लाख रुपैयाँसम्म घुस संकलन गरी जिल्ला, संघीय र वडा प्रहरी कार्यालयमा १ लाखका दरले बुझाउने र अरु आफूले लिने गरेका थिए । काभ्रेका प्रहरी प्रमुख रवि पौडेलदेखि बनेपाको वडाका इन्स्पेक्टर योगेन्द्र तिमल्सिनासम्म जुवाको घुस पुग्ने गरेको थियो ।

    घुमुवा सिपाही र हवल्दारसँग करोडौंको सम्पत्ति !

    संघीय इकाई प्रहरी कार्यालय बनेपाका सिपाही टोप गिरी दर्जाले सिपाही हुन् । तर जुवा अखाडा संचालकहरुसँग मिलेमतो गरी संरक्षण गरेबापत उनले मासिक रुपमा लिएको घुसबाट अकूत सम्पत्ति जोड्न सफल भएका छन् । दर्जाले सिपाही गिरीले करोडौंको सम्पत्ति जोडेका छन् । उनी २५ लाख मूल्य पर्ने आ ६४८६ नम्बरको आर्ई ट्वान्टी गाडीमा सरर यात्रा गर्दछन् । बुडोल धुलिखेलमा पक्की घर बनाइसकेका छन् । उनको लगानीमा बनेपाको गोदामचोकमा १ करोड रुपैयाँभन्दा बढी लगानीमा कटेज सहितको रेष्टुरेन्ट संचालनमा छ । तर उनले यो सम्पत्ति सबै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरी छानबिनमा पर्नसक्ने संभावनालाई ध्यानमा राखी आफन्तको नाममा राखेका छन् । गाडी पनि उनको नाममा छैन । आफन्तको नाममै छ ।

    adhkari home.jpg

    जिल्ला प्रहरी कार्यालय काभ्रेमा घुमुवा बसी जुवामा घुस लिएको पाइएपछि सरुवा भएका हवल्दार कृष्ण अधिकारीले बनेपामा ६ आना जग्गामा घर बनाएका छन् । आनाको २० लाख पर्ने जग्गामा उनले २ तल्ले घर निर्माण गरिसकेका छन् । जग्गा र घरको हालको चलनचल्तीको मूल्य ३ करोड रुपैयाँ पर्दछ ।

     सिपाही र हवल्दारको मासिक तलवले जीवीकोपार्जन गर्न पनि मुस्किल हुन्छ । तर गिरी र अधिकारीले कराडौंको सम्पत्ति कसरी जोडे त ? प्रहरीभित्रै खोजीको बिषय बनेको छ । कृष्ण अधिकारीले बनेपाको होराइजन होटलमा जुवा अखाडाको समाचार आउट नगर्ने सर्तमा हरेक हप्ता ५० हजार रुपैयाँ बराबरको पत्रकारहरुलाई कक्टेल भोज दिने गरेका छन् । जहाँ काठमाडौंका केही पत्रकारसमेत जाने गरेका छन् ।

    काभ्रेको जुवा अखाडामा घुमुवा प्रहरी मुछिएका छन् । यी घुमुवामध्ये केही  काभ्रे जुवाको घुस प्रकरण मिलाउन बिरामी बिदा लिएर बसेका छन् ।  यीमध्ये कतिपय पुराना घुमुवा पनि छन्, जसले जुवा अखाडा संचालकसँग मासिक घुुस लिंदैआएको आरोप छ । ती पुराना घुमुवाहरु काभ्रेको जुवाको घुसबाट करोडौंका मालिक भइसकेका छन् ।  

    जुवा अखाडाबाट असुली गरेको घुस प्रकरणमा संघीय प्रहरी ईकाई प्रहरी कार्यालयका तत्कालीन एसएसपी उमेशराज जोशी पनि मुछिएका छन् । जोशी पनि जुवाडेहरूसँग कमिशन खाएको अभियोगमा अनुसन्धानको दायरामा परेका छन् ।

    संघीय प्रहरी इकाई कार्यालय बनेपा, काभ्रेमा प्रमुख रहेका बेला एसएसपी जोशीले घुमुवामार्फत् जुवाडेहरूसँग कमिशन खानेदेखि अबैध रुपमा प्राकृतिक स्रोत दोहन गर्न दिएर असुली धन्दा चलाएको बयान घुमुवाले काभ्रे प्रहरी समक्ष दिएको स्रोतले जनाएको छ । काभ्रे जिल्लाका क्रसर व्यवसायीहरूसँग ती घुमुवासँग जोशीले अबैध असुली गरेको आरोप छ ।

    अबैध असुली धन्दाका लागि एसएसपी जोशीले घुमुवा परिचालन गरेको स्रोतको बनाइ छ । ती घुमुवालाई जिल्ला प्रहरी कार्यालय काभ्रेले अनुसन्धानको दायरामा राखेर बयान लिने लगायतका छानबिन प्रक्रिया अगाडि बढाएको छ । एसएसपी जोशीले आफ्नो क्षेत्राधिकार मिचेर घुमुवा राखेको आरोप पनि छ । 

    कस कसले खेलाउँछन् जुवा ?

    काभ्रेको बनेपाबाट २०७८ साउन १२ मा ११ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरूलाई बनेपा नगरपालिका वडा नम्बर १४ को खालचौरस्थित थोप्चेन तामाङको घरबाट पक्राउ गरेको काभ्रे प्रहरीका प्रवक्ता हरि खतिवडाले जानकारी दिएका छन् । प्रहरीले उनीहरूको साथबाट नेपाली ७ लाख १५ हजार ३५ रुपैयाँ बरामद गरेको छ ।

    juwa  2.jpg

    २०७८ साउन १२ मा काभ्रे प्रहरीले पक्राउ गरेका जुवाडेहरु

    जुवा अखाडाबाट पक्राउ पर्नेमा बनेपा नगरपालिका वडा नम्बर १० जनागालका २८ वर्षीय कृष्ण केसी, रोशी गाउँपालिका वडा नम्बर ३ साजाकोटका ३५ वर्षीय पाराङ लामा भन्ने खड्ग सिं लामा, बनेपा नगरपालिका वडा नम्बर ११ पाकु टोलका ४४ वर्षीय सुमन अधिकारी, बनेपा नगरपालिका वडा नम्बर १४ साँगाका ४० वर्षीय गणेश थापा, बनेपा नगरपालिका वडा नम्बर ७ धनेश्वर का ४२ वर्षीय अनिल मुस्याजु, रोशी गाउँपालिका वडा नम्बर ३ शिखर आम्बोटेका ३४ वर्षीय हिरा लामा छन् ।

    त्यसैगरी पक्राउ पर्ने जुवाडेहरुमा रोशी गाउँपालिका वडा नम्बर १ घर भई बनेपा नगरपालिका वडा नम्बर ७ बस्ने ३७ वर्षीय चन्द्र लामा स्याङ्ताङ, रोशी गाउँपालिका वडा नम्बर ३ घर भइ हाल बनेपा नगरपालिका वडा नम्बर ८ का ३५ वर्षीय थर्कमान लामा, बनेपा नगरपालिका वडा नम्बर ६ बस्दै आएका २६ वर्षीय किशोर अधिकारी, धुलिखेल नगरपालिका वडा नम्बर १० सारदाबतासेका ३४ वर्षीय छिरिङ लामा र भक्तपुर सुर्यबिनायक नगरपालिका वडा नम्बर ९ का ३४ वर्षीय दीपक बस्नेत रहेको प्रहरीले बताएको छ ।

    प्रहरीका अनुसार घरको अण्डर ग्राउण्डको कोठामा तास लेखिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले तास नखोलेको ३ बट्टा, खोलेको ११ बुक र तन्ना १ थान पनि बराबद गरिएको प्रहरीले जनाएको छ । यी पक्राउ परेकामध्ये पाराङ लामा भन्ने खड्ग सिं लामा जुवा अखाडा संचालक हुन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार