काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले पदबाट राजीनामा दिन गरेको आग्रहलाई नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ठाडै इन्कार गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाकै अगाडि शाक्यले पदबाट राजीनामा नदिने प्रष्ट पारेका हुन् ।
प्रधानमन्त्रीको सचिवालयबाट बोलावट भएपछि २०७८ साउन १९ गते मंगलबार बिहान ११ः३० बजे प्रधानमन्त्री निवास बालुवाटार पुगेका शाक्यलाई ऊर्जा मन्त्री भुसालले राजीनामा दिन आग्रह गरेकी थिइन् । जवाफमा शाक्यले राजीनामा नदिने प्रष्ट भाषामा जवाफ दिएको स्रोतले बतायो ।
‘ऊर्जा मन्त्री भुसालले साउन १९ गते मंगलबार बिहान प्रधानमन्त्रीको अगाडि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकसमक्ष राजीनामा माग गरेकोमा शाक्यले आफूले राजीनामा नगर्ने जवाफ दिएका छन्,’ स्रोतले भन्यो ।
पदबाट राजीनामा दिन दबाब झेलेका शाक्यले मन्त्रिपरिषद् बाट यसबारे निर्णय लिन प्रधानमन्त्रीकै अगाडि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसाललाई चुनौती पनि दिएका छन् । पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारले प्रक्रियासम्मत ढंगले नियुक्त गरेकाले उनलाई बर्खास्त गर्न मिल्दैन । गरिहालेमा उनी अदालतबाट पुनर्वहाली हुने अवस्था रहेकाे स्राेतकाे दावी छ ।
प्रधानमन्त्री देउवा मौन
शाक्यलाई हटाएर उनको स्थानमा कुलमान घिसिङलाई ल्याउने मनस्थितिमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसाल रहेकाे स्राेत बताउछ । यही प्रयोजनार्थ शाक्यलाई राजीनामा निम्ति दबाब दिन २०७८ साउन १९ गते मंगलबार बिहान ११ः३० बजे बालुवाटारबाट कुनै एकजना व्यक्तिकाे फाेनबाट बोलावट भएको थियो ।
स्रोतका अनुसार शाक्य निर्धारित समयमा नै प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । जहाँ शाक्यले केही समय कुुर्नु पर्याे । केही समयपछि शाक्यलाई प्रधानमन्त्री शेरबहादुर देउवासँगै ऊर्जामन्त्री पम्फा भुसाल गफिइरहेकाे कक्षमा उपस्थित हुन भनियाे । हितेन्द्रले सामान्य औपचारिकता निर्वाह गर्दै बोलावट गर्नुको कारणबारे मनमा जिज्ञासा राखेर बसेका थिए ।
त्यसपछि ऊर्जामन्त्री भुसालले लामो भूमिका नबाँधी शाक्यलाई पदबाट राजीनामा गर्न आग्रह गरिन् । तर हितेन्द्रले प्रष्टसँग राजीनामा नदिने, हटाउन मन भए क्याबिनेटबाट डिसिजन लिन चुनौती दिए ।
साउन १९ गते मंगलबार मात्रै हितेन्द्रलाई हटाएर कुलमानलाई नियुक्त गर्न देउवाले दबाब दिएका समाचार प्रकाशमा आएका छन् । स्रोतका अनुसार, हितेन्द्रले राजीनामा नदिने बताइरहँदा प्रधानमन्त्री देउवा भने कुनै प्रतिक्रिया नजनाइ मौन बसेका थिए । ”ऊर्जामन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्न गरेको आग्रह हितेन्द्रले इन्कार गरे पनि प्रधानमन्त्री भने कुनै प्रतिक्रिया नजनाइ मौन रहनु भएको थियो” स्रोतले भन्यो ।
हितेन्द्र हटाउन ऊर्जामन्त्री परामर्शमा
हितेन्द्रले राजीनामा दिन इन्कार गरे पनि भुसाल उनको कार्यसम्पादन सन्तोषजनक नरहेको बहाना बनाएर उनलाई बर्खास्त गर्ने मनस्थितिमा छिन् । साउन १९ गते मंगलबार मात्रै उनले मन्त्रालयका सचिव र सहसचिवसँग दिनकाे २ बजे हितेन्द्रलाई हटाउने बारेमा कानूनी प्रक्रिया के कसाे हुन्छ भनेर छलफल गरेकाे स्राेत बताउछ ।
स्रोतका अनुसार, ऊर्जाका सचिव र सहसचिवहरुले शाक्यले राजीनामा नदिएको अवसमा हटाउन नसकिने राय मन्त्री भुसाललाई दिएका छन् ।
कुलमान घिसिङको कार्यकाल सकिएपछि २०७७ माघ २७ गते ओली नेतृत्वको सरकारले शाक्यलाई साे जिम्मेवारीमा नियुक्त गरेको थियो । देउवा नेतृत्वको सरकार शाक्यलाई यो जिम्मेवारीबाट बिदा गरेर कुलमानलाई दिन चाहन्छ । तर, शाक्यसँग सरकारले गरेकाे कार्य सम्पादन सम्झाैता अनुसार उनकाे कामकाे ६ महिने र एक वर्षे मूल्यांकन नगरी हटाउन कानूनी त मिल्दैन । त्यसैले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पदबाट मुक्त गर्ने कुरा जटिल हुने देखिएको छ । साँघु साप्ताहिकबाट खबर छ।