Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सिन्धुपाल्चोकका बाढी प्रभावितकाे गुनासो : बस्ती जोगाउन सरकारले सहयोग गरेन


    सोमबार, साउन १८ २०७८
    860
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • सिन्धुपाल्चोक । गत असार १ गते आएको बाढीले सिन्धुपाल्चोकको हेलम्बुमा ९० र मेलम्चीमा ८६ घरपरिवार विस्थापित भएका थिए । पाँच जनाको मृत्यु भयो भने अझै २० जना बेपत्ता छन् । शनिबारदेखि मेलम्चीमा पुनः बाढी आएको छ । बाढीले हेलम्बु र मेलम्चीमा ६० वटा टहरा बगाएको छ ।

    त्यस्तै यी दुई पालिकाका विभिन्न वडा जोड्ने पुल पनि बगाएको छ । पुल बगाउँदा मेलम्ची–७, ८, ९ र १०, हेलम्बु–१, २ र ३, पाँचपोखरी थाङ्पाल तथा इन्द्रावतीका सबै वडासँगको सडक सञ्जाल टुटेको छ ।

    नदीको धार परिवर्तनमा सरकारले सहयोग गरे पुरिएका घरमा बस्न सकिने स्थानीयवासी बताउँछन् । तर उनीहरुको कुरा सरकारले नसुनेको गुनासो छ ।

    असार १ गते र असार १६ गते आएको बाढीले करोडौँको क्षति पुर्‍याएको तर विस्थापित भएको ४९ दिन बितिसक्दासमेत जोगाउन सक्ने बस्ती पनि जोगाउन सरकारले कुनै पहल नगरेको मेलम्चीका होटल व्यवसायी चन्द्रबहादुर तामाङले गुनासो गरे ।  उनले भने, ‘ हामीलाई राहतभन्दा पनि बस्ती संरक्षण गरिदिन तीनै तहका सरकार चाहिएको छ । तर बस्ती जोगाउन यतिबेला कुनै तहका सरकारले  न त कुनै पहल गरेको छ, न त सहयोग नै। खाली आश्वासन मात्रै दिएका छन् । ‘

    करोडौँ लगानी गरेर बनाएका घर, फार्म तथा खेतीयोग्य जमिन बगर बनेपछि बाढी प्रभावितको मन अझै विचलित छ । सम्पत्तिका नाममा बचेको चार आना जग्गा पनि खोलाले कटान गरिरहेको मेलम्चीकै लक्ष्मी श्रेष्ठ बताउँछिन् ।

    टाढाको सरकार त के कुरा स्थानीय सरकारले पनि बाढी प्रभावितको कुरा नसुनेकामा श्रेष्ठले दुखेसो पोखिन् । अहिले बाढीले बगाउन नसकेका कतिपय घर जोगाउन सकिने अवस्था रहेको तर सरकारले नदी नियन्त्रणमा कुनै पहल नगरेको प्रभावितको गुनासो छ ।

    स्थायी वा अस्थायी आवास निर्माणको पहल नथालेको भन्दै प्रभावित आक्रोशित छन् । बस्ती जोगाउन स्थानीय सरकारले चाहेको भए एक हप्तामा जोगाउनसक्ने तर बेवास्ता गरेको बाढी प्रभावित एवं मेलम्ची पुनःनिर्माण सरोकार समितिका अगुवा सागर श्रेष्ठले बताए ।

    बाढी प्रभावित आफैँले पैसा उठाएर आफ्नो बस्ती आफैँ बचाउने अभियान चलाइरहेका छन् । सरकारले आफूहरुलाई बेवास्ता गरेको उनीहरुको गुनासो छ । प्रमुख जिल्ला अधिकारी अरुणकुमार पोखरेलले बाढी आएको मुहान क्षेत्र भ्रेमाथानको अध्ययन नगरी तल्लो भेगमा कुनै पनि काम थाल्ने अवस्था नभएको बताए ।

    तारजाली राखेर जोगाउन प्रयास गरे पनि हिमाली क्षेत्रमा व्यवस्थित नगरी तटीय क्षेत्रमा गरेको काम प्रभावकारी नहुने उनको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार