Nepal Face
  • आइतबार, १० साउन २०८३
  • खोप लगाउनेलाई प्रतिव्यक्ति सय डलर पुरस्कार दिने अमेरिकी राष्ट्रपति बाइडनको निर्णय


    शुक्रबार, साउन १५ २०७८
    890
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी। अमेरिकी राष्ट्रपति जो बाइडनले कोरोना भाइरसको सङ्क्रमण बढिरहेका बेला खोप लगाउने दरमा देखिएको कमीलाई सम्बोधन गर्नका निम्ति खोप लगाउने नयाँ व्यक्तिलाई प्रतिव्यक्ति १०० डलर रकम दिन राज्यहरूलाई आह्वान गरेका छन्।

    उनले सङ्घीय सरकारका कर्मचारीका लागि पनि नयाँ कडा खोपसम्बन्धी निर्देशन जारी गरेका छन्। अमेरिकामा सङ्घीय सरकार सबैभन्दा ठूलो रोजगारदाता जहाँ करिब २० लाख मानिसहरू काम गर्छन्।

    राष्ट्रपति बाइडनले जारी गरेको निर्देशन अनुसार अब कर्मचारीहरूले खोप लगाएको प्रमाण देखाउनु पर्नेछ वा अनिवार्य परीक्षणको सामना र मास्क लगाउन तयार हुनुपर्नेछ।

    आधिकारिक विवरण अनुसार हालसम्म अमेरिकामा आधा जनसङ्ख्याले मात्र खोपको पूरा मात्रा लिएका छन्।

    बिहीवार ह्वाइट हाउसमा बोल्दै बाइडनले बढी सङ्क्रामक डेल्टा भेरिअन्टका कारण नयाँ प्रतिबन्धहरू लगाउनु परेको बताए।

    उक्त भेरिअन्टले खोप नलगाएकाहरूमा महामारी निम्त्याएको छ। खोप नलगाउँदा हुनसक्ने जोखिमबारे उनले भने, “मानिसहरूको मृत्यु भइरहेको छ र जसको निधन नहुनु पर्ने हो उनीहरूको पनि हुनसक्नेछ।”

    बाइडनले पहिले नै खोप लगाइसकेका अमेरिकीहरूका लागि न्यायसङ्गत जस्तो नदेखिए पनि सबैका हितका लागि नगद प्रोत्साहन दिने घोषणा गरिएको बताए।

    बाइडनले खोप लगाउन कामदारलाई समय दिने साना र मझौला व्यवसायमा त्यसबाट पुगेको आर्थिक क्षतिको सङ्घीय सरकारले परिपूर्ति गरिदिने बताए।

    यद्यपि खोप लिन अस्वीकार गर्ने सरकारी कर्मचारीलाई जागिरबाट निकालिने छैन। ह्वाइट हाउसले देशभरिका अन्य रोजगारदाताका लागि पनि त्यस्तै गर्न प्रोत्साहित गर्नका निम्ति उक्त कदम चालेको हो।

    गत महिनाको एउटा अध्ययनले अमेरिकामा ९९ प्रतिशत कोभिडसम्बन्धी मृत्यु खोप नलगाएका व्यक्तिमा देखाएको छ।

    अहिले अमेरिकामा प्रतिहप्ता करिब दुई हजार व्यक्तिको कोभिडका कारण निधन भइरहेको छ। त्यस्तै त्यहाँ दैनिक सङ्क्रमण दर पनि ६० हजारसम्म रेकर्ड भएको छ। (बीबीसीको सहयोगमा)

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार