एजेन्सी। भारतको उत्तर प्रदेश राज्यको बाराबंकी जिल्लामा भएको सडक दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ ।
भारतीय संचार माध्यमका अनुसार ट्रकले बसलाई ठक्कर दिँदा भएको दुर्घटनामा परी दर्जनौं घाइते भएका छन्।
लखनउ–अयोध्या सडकखण्डमा मंगलबार राति सो दुर्घटना भएको हो । सञ्चारमाध्यमका अनुसार सडक किनारमा रोकिराखेको दुई तले बसलाई मंगलबार राति करिब १२ बजेतिर ट्रकले ठक्कर दिएको हो ।
प्रहरीका अनुसार हरियाणाको पलवल भन्ने स्थानबाट बिहार जाँदै गरेको बस बिग्रिएपछि चालकले राति करिब आठ बजेदेखि सडक किनारमा रोकेका थिए ।
बसमा १४० जनाभन्दा बढी सवार रहेको प्रहरीले जनाएको छ। धेरैजसोको घटनास्थलमै मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।
घाइतेहरुको जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।