काठमाडौं। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ०७७ वैशाख ८ गते दल त्यागसम्बन्धी अध्यादेश जारी गरे । ओलीनिकट नेताले उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवलाई रातारात जनकपुरबाट काठमाडौं ल्याए । उक्त पार्टी फुटाउन अध्यादेश जारी भएको चर्चा चल्यो। अनि, रातारात समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच ‘चमत्कारिक’ एकताको घोषणा भयो, २०७७ वैशाख १० गते। नेतृत्व, संरचना र विधान तयार नहुँदै दुई पार्टीबीच एकता गरेर नयाँ पार्टी घोषणा गरियो, जनता समाजवादी पार्टी नेपाल (जसपा)। तर, जसपा गठनको १५ महिनापछि विभाजित भएको छ। निर्वाचन आयोगले पार्टीको आधिकारिकता यादव पक्षलाई दिएको छ।
महन्थ ठाकुर पक्षलाई आयोगले नयाँ नाम र नयाँ चुनाव चिह्नसहित पार्टी दर्ता गर्न आउन मौका दिएको छ। आयोगमा २०७४ असार २४ गते जसपा नयाँ दलका रूपमा दर्ता भए पनि नेताहरूको व्यवस्थापन र नेतृत्वको लडाइँ टुंगिएको थिएन। ठाकुर नेतृत्वको राजपामा एकतापूर्वका ६ पार्टीका नेताको व्यवस्थापन नटुंगिँदै समाजवादीसँग एकता भएको थियो। त्यसपछि नेता र नेतृत्व व्यवस्थापन थप पेचिलो बनेको थियो।
तत्कालीन प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गर्दा जसपा मूलत: एकै ठाउँमा उभिएको थियो। तर, दोस्रो पटकको विघटनसँगै जसपामा विवाद चर्कियो। ओलीलाई साथ दिने कि नदिने भन्नेमा दुई धार देखिए। ठाकुर र राजेन्द्र महतो ओलीका पक्षमा उभिए भने यादव र डा. बाबुराम भट्टराईलगायत नेता ओलीसँग कार्यगत एकताको विपक्षमा उभिए। ठाकुर पक्ष ओली नेतृत्वको सरकारमा सहभागी भएपछि जसपा प्राविधिक रूपमा एक रहे पनि सैद्धान्तिक रूपमा विभाजित अवस्थामा पुगेको थियो। विवाद चर्किंदै गएपछि यादव पक्षले निर्वाचन आयोगमा आधिकारिकताको निवेदन दिएको थियो। अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ।