बीरगंज । देशकै आर्थिक नगरी र नेपालको सबैभन्दा बढी राजस्व संकलन गर्ने मुख्य भन्सार नाका बीरगन्ज रहेको छ । तर बीरगंज भन्सार कार्यालयले सरकारले दिएको राजस्व समेत असुल गर्न नसकेको समाचार छ ।
गत आर्थिक वर्ष २०७७ं–०७८ को जेठ महिनामा राजस्व संकलनमा निकै कमी आएको छ । भन्सारबाट नेपालमा आयात हुने वस्तुमा कुनै कमी नरहेतापनि राजस्व संकलन लक्ष्य अनुसार हुन नसकेको बीरगंज भन्सार कार्यालयको तथ्यांकले देखाएको छ ।
पर्साको ग्रामीण क्षेत्रमा रहेको नाका नजिक सशस्त्र प्रहरी र नेपाल प्रहरीले तस्करीमा कडाई गरेपछि तस्करहरुले भन्सार हाताबाटै कर्मचारीको मिलोमतोमा ठूलो मात्रामा तस्करी भइरहेको एक भन्सार एजेन्टले नाम नछाप्ने सर्तमा बताएका छन् ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीले तस्करीमा कडाई गरेपछि तस्करहरुले अहिले बीरगंज भन्सार कार्यालयको कर्मचारीहरुलाई मिलाई भन्सारभित्रैबाट ठूलो मात्रामा तस्करी गराउँदै आएको स्रोतको दावीे छ । अर्कोतर्फ बीरगंज भन्सार कर्मचारी, भन्सार एजेन्ट र ब्यापारीहरुको मिलोमतोमै भन्सारका कर्मचारीहरुले भन्सार जाँचपास गराउने ब्यापारीहरुसँग मोटो रकम लिएर मुल्यांकन कम गर्दैआएका छन् । कम मूल्यांकन गरेकै कारण बीरगंज भन्सारले राजस्वको लक्ष्य पूरा गर्न नसकेको स्रोत बताउँछ ।
बीरगंज भन्सारका कर्मचारीहरुले वजनमा आउने सामानहरुमा वजन कम गरी भन्सार गर्ने गरेको रहस्य समेत पता लागेको छ । वजनमा भन्सार हुने सामानहरु जस्तै मार्वल, ग्रेनाइट जस्ता महंगा सामानहरुमा मूल्यको ३० प्रतिशत भन्सार राजस्व लाग्ने भएतापनि ठूलो परिमाणमा आएका यी समानलाई वजन कम गरी भन्सारका कर्मचारीहरु, जाँचकी र भन्सार एजेन्टको सेटिङमा जाँचपास गरी राजश्व चुहावट गर्ने गरिएको छ ।
मूल्यांकन र एमआरपीको ६०–४०को भागबन्डा गर्ने साथै वजन कम देखाई किलोमा मूल्यांकन भएको सामान एमआरपीमा पास गर्ने र एमआरपी भएको सामानमा महंगो भन्सार लाग्ने माल बस्तुहरुमा एमआरपी च्यातेर ब्यापारीहरुले ल्याएपछि कम मूल्यांकन गरी जाँचपास गर्ने जस्ता कारणले बीरगंज भन्सारको राजस्व संकलनमा कमी आएको स्रोतको भनाइ छ ।
बीरगंजबाट दैनिक दुई करोड भन्दा बढी राजस्व छली गरी भन्सारकै कर्मचारीको सेटिङबाट तस्करीका समानहरु लत्ताकपडा, एलईडी टिभी जस्ता सामानहरु नेपाल भित्रिने गरेको एक भन्सार एजेन्ट्ले नाम नबताउने सर्तमा बताएका छन् ।
केही महिना पहिला बीरगंज १७ स्थित रहेको आईसिपी भन्सारबाट जाँचपास भई छुटेको धान बोकेको ट्रकभित्र अबैध रुपमा भन्सार छलेर ल्याइएको ४५ लाख मूल्य बराबरको ४० गाँठ लत्ताकपडा जिल्ला प्रहरी कार्यालय पर्साको क्राइम ब्रान्च टोलीले नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको थियो । केही महिना पहिला पनि आईसिपी भन्सार बीगंजबाट जाँचपास भई निस्केको कागज बोकेको ट्रकभित्रबाट अबैध रुपमा भन्सार छलेर ल्याइएको करोडौं मूल्य बराबरको ९४ गाँठ कपडा नियन्त्रणमा लिइएको थियो । भारतीय नम्बरको गाडीसहित १३ नम्बर गणले नियन्त्रणमा लिएर राजश्व अनुसन्धान कार्यालय पथलैया बारा बुझाएको थियो ।
त्यसैगरी सशस्त्र प्रहरी बल १३ नम्बरबाट खटिएको टोलीले २०७७ साल चैत ११ गते आईसिपी भन्सारबाट जाचपास भई धान लोड भई छुटेको बि आर ०६ जिवी ४१५६ नम्बरको भारतीय ट्रकलाई नियन्त्रणमा लिएर चेकजाच गर्दा सो धान बोकेको मालबाहक गाडीबाट ९३ गाँठ सर्टिङ सुटिङ कुर्ता शुरुवाल महंगा साडीहरु गरी करिव १ करोड ५ लाख रुपैयाँ बराबरको सामान र भारतीय नम्बरको गाडीसहित राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको थियो ।
पटक पटक गरी करोडौं रुपैयाँ बराबरका अबैध सामानसहित गाडीहरु नियन्त्रणमा लिएर राजश्व अनुसन्धान बारामा पठाइएको छ ।
नेपाल प्रहरी र सशस्त्रको आँखामा परेका कारणले गर्दा संचारकर्मीहरुले कपडा तस्करी भएको सार्वजनिक गरेका हुन् । यी केही उदाहरण हुन्, पर्साबाट निर्वाध तस्करी भइरहको छ, तर भन्सारका कर्मचारीले जानकारी नै नदिई गुपचुप राखी भागशान्ति खाने गरेका छन् । वीरगंज भन्सारमा चेकजाँच गर्ने जाँचकी र एजेन्टहरुले घुस नदिने मालबाहक गाडीहरुलाई चेक गर्न बिलम्ब गरी दुःख दिने गरेको गुनासो छ ।