काठमाडौं । आज पनि मौसम बदली भएको छ । मौसमविदले आजदेखि मनसुन थप सक्रिय भएको बताएका छन् ।
आजदेखि लुम्बिनी, गण्डकी, सुदूरपश्चिम र प्रदेश–१ मा मनसुन थप सक्रिय भएको मौसमविद् निराजन सापकोटाले जानकारी दिएका छन् ।
सक्रिय मनसुनी वायुका कारण आजबाट लुम्बिनी, गण्डकी सुदूरपश्चिम र प्रदेश–१ भारी वर्षाको सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन् । तर, वागमती प्रदेशमा भने मंगलबारसम्म अहिले सामान्य वर्षाको सम्भावना रहेको मौसमविद् सापकोटाले बताएका छन् ।
यस्तै आज बिहान देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी प्रदेशका धेरै स्थानमा साथै प्रदेश–१, प्रदेश–२, वागमती प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आगामी २४ घण्टामा भारी वर्षाको सम्भावना रहेका पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।