काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएकै दिन कुलमान घिसिङलाई नेपाल आयल निगमको कार्यकारी निर्देशक बनाउनुपर्ने बिषय सामाजिक संजालमा चर्चामा ल्याइएको छ ।
नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक घिसिङले नेपालमा लोडसेडिङ अन्त्य गरी उज्यालो नेपाल अभियानलाई सार्थक बनाएका थिए । तर उनलाई प्रधानमन्त्री केपी ओलीले पुनः विद्युत प्राधिकरणमा नियुक्त गरेनन् । घिसिङलाई पुनर्नियुक्ति गरिने अपेक्षा जनसमुदायको थियो, तर ओलीले उनलाई पुनर्नियुक्ति गरेनन् । कुलमानलाई पुनर्नियुक्ति नगरेपछि लोडसेडिङ सुरु भएको छ ।
काठमाडौंमा अघोषित लोडसेडिङ हुँदैआएको छ भने उपत्यकाबाहिर त दिनहुँ लोडसेडिङ हुने गरेको छ । कुलमानलाई नियुक्ति नगरेपछि ओलीको सामाजिक संजालमा चर्को बिरोध भएको थियो । नेकपा माओवादीको समर्थनमा देउवा प्रधानमन्त्री भएपछि पुनः कुलमान चर्चामा आएका छन् ।
उनलाई आयल निगमको कार्यकारी निर्देशक बनाउने चर्चा सामाजिक संजालमा भएको छ । आयल निगमको कार्यकारी निर्देशकमा कुलमानको नाम चर्चामा आएपछि उनले सामाजिक संजालमा आफ्नाबिरुद्ध भ्रमपूणर् समाचार आइरहेको उल्लेख गरेका छन् ।
उनले लेखेका छन्-‘मेरोबारेमा गलत समाचारहरु सामाजिक सञ्जालमा आइरहेकोले यस्ता गलत समाचारहरुमा विश्वास नगरिदिनुहुन हार्दिक अनुरोध छ ।’ नेपाल आयल निगमको कार्यकारी निर्देशक सुरेन्द्र पौडेल छन् । उनले निगमको नेतृत्व कुशलतापूर्वक गरिरहेका छन् । पौडेलको नेतृत्वमा निगमले स्वचालित मूल्यप्रणाली लागू गरेको छ । उनको कार्यकाल आगामी २०७८ पुससम्म छ ।
