Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति जेकब जुमा जेल परेसँगैको हिंसामा ७२ जनाको मृत्यु


    बुधबार, असार ३० २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । पूर्वराष्ट्रपति जेकब जुमा जेल परेसँगै दक्षिण अफ्रिकाको केही भागमा सुरु भएको हिंसाकाबीच त्यहाँ मृत्यु हुनेहरूको सङ्ख्या ७२ पुगेको छ।

    त्यसमा सोमवार राति सोवेटोस्थित एक सपिङ सेन्टरमा लुटपाट मच्चिएसँगै भएको भाग दौडका क्रममा मारिएका १० जना पनि समावेश छन्।

    तल्लो तलामा रहेका पसलहरूमा आगजनी गरिएसँगै डर्बनस्थित एक भवनबाट बच्चालाई फ्याँक्दै गरिएको दृश्य बीबीसीले कैद गरेको छ।

    प्रहरीलाई सहयोग गर्नका लागि हाल त्यहाँ सेना परिचालन गरिएको छ।

    दक्षिण अफ्रिकाको प्रहरीले एक विज्ञप्ति जारी गर्दै हिंसा भड्काएको हुन सक्ने १२ जनाको पहिचान भएको जनाएको छ। त्यस्तै १,२३४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

    राष्ट्रपति सिरिल रामापोसाले दक्षिण अफ्रिकामा सन् १९९०को दशक यता देखिएको अप्रिय हिंसाका रूपमा पछिल्लो घटनालाई व्याख्या गरेका थिए।

    लुटपाटका घटना जारी रहे प्रदर्शन भइरहेका क्षेत्रहरूमा खाद्य सामाग्रीहरू सकिन सक्ने मन्त्रीहरूले चेतावनी दिएका छन् तर त्यहाँ सङ्कटकाल घोषणा गर्ने सम्भावना भने नरहेको जनाइएको छ।

    पूर्वाराष्ट्रपति जुमालाई जुन २९ तारिखमा आफ्नो नौ वर्षे कार्यकालका बेला भएको भ्रष्टाचारसम्बन्धी सुनुवाइका क्रममा सबुत पेस गर्न दिइएको आदेश नमानेको आरोपमा १५ महिना लामो जेल सजाय सुनाइएको हो।

    दक्षिण अफ्रिकामा पूर्व राष्ट्रपतिलाई जेलसजाय सुनाइएको यो नै पहिलो पटक हो।

    जुमाको नेतृत्वका बेला निर्णय लिने प्रक्रिया प्रभावित पार्नका लागि राजनीतिज्ञहरूसँग साठगाँठ गरेको व्यापारीहरूमाथि आरोप लगाइएको छ।

    तर जुमाले भने बारम्बार आफू राजनीतिक षडयन्त्रको सिकार हुन पुगेको बताउँदै आएका छन्।

    सन् २०१८मा उनलाई आफ्नै दलले पदबाट बाहिरिन बाध्य पारेको भए पनि समर्थकहरूको एउटा पक्षलाई आफूसँगै राख्न उनी सफल भएका थिए। (बीबीसीको सहयोगमा)

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार