काठमाडौं । १६ औं संस्करणको युरोकप फुटबलको उपाधि इटालीले जितेको छ ।
घरेलु टोली इङ्ल्याण्डको उपाधि जित्ने सपनालाई चकनाचुर पार्दै इटालीले पेनाल्टी सुटआउटमा इङ्ल्याण्डलाई ३–२ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।
लण्डनस्थित वेम्बली रंगशालामा सोमबार बिहान निर्धारित तथा अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।
खेलमा लुक शाले इङल्यान्डलाई खेलको दोस्रो मिनेटमै अग्रता दिलाए पनि इङल्याण्डले खेल आफ्नो पक्षमा पार्न भने सकेन । ६७ मिनेटमा इटलीका लियोनार्दो बनुचीले गोल गरेसँगै खेल बराबरीमा पुगेको थियो । अतिरिक्त समयमा भने दुबै टोलीले कुनै गोल गर्न सकेनन् ।
इंग्ल्यान्डका ह्यारी केन र ह्यारी मग्वाएरले मात्र गोल गरे । तर, मार्कुस राषफोर्ड, जाडोन सान्चो र साका बाकुयोले गोल गर्न सकेनन् ।
डेनमार्कलाई २–१ गेलअन्तरले हराउँदै इंग्ल्यान्ड पहिलो पटक फाइनलमा प्रवेश गरेको थियो । इंग्ल्यान्डले ५५ वर्षपछि मुख्य प्रतियोगिताको फाइनलमा पुगेको हो । सन् १९६६ मा सम्पन्न विश्वकपको फाइनल खेलेपछि इंग्ल्यान्ड फुटबल टिमले मुख्य प्रतियोगितामा फाइनल यात्रा तय गर्न सकेको थिएन ।
इटालीले युरोकप जितेको यो दोस्रो पटक हो । यसअघि १९६८ मा इटालीले पहिलोपटक यो उपाधि जितेको थियो । सन् २००० र २०१२ मा भने फाइनल पुगेर इटाली पराजित भएको थियो ।