काठमाडौँ । राष्ट्रियसभाका सदस्य रामनारायण बिडारी आफ्नो भाषण शैलीका कारण संधै चर्चामा रहन्छन् । सदनमा होस् या अन्यत्र आफूलाई लागेका कुरा निर्धक्क बोल्ने उनको स्वभाव हो । मनमा लागेका कुरा फ्याट्ट बोल्ने स्वभावका कारण कहिलेकाँही उनका अभिव्यक्तिहरु विवादितसमेत हुने गरेका छन् ।
भाषण या अभिव्यक्तिका क्रममा उनले प्रयोग गर्ने टिपिकल शव्द र बिन्दास शैली आलोचनात्मकमात्र हुँदैन मनोरन्जनात्मक पनि हुने गर्छ । प्रधानमन्त्री केपी ओलीप्रति त्यस्तै शैलीमा गरेको बिडारीको पछिल्लो टिप्पणी अहिले सामाजिक सञ्जालमा भाइरल छ । सामाजिक सञ्जाल फेसबुक र टिकटक तताउने गरी भाइरल भएको उनको अभिव्यक्तिमा प्रधानमन्त्री ओलीप्रति कटाक्षपूर्ण टिप्पणी गरिएको छ ।
समय, सन्दर्भ र विषय नखुलेको उक्त भिडियो क्लिपमा बिडारीले प्रधानमन्त्री ओलीमाथि हमला गरेका छन् । उनले प्रधानमन्त्री ओलीको इतिहासको नालीबेली रोचक शैलीमा प्रस्तुत गरेको भिडियोमा देख्न सकिन्छ । ओलीको जेल जीवनदेखि,एमाले अध्यक्ष हुँदै प्रधानमन्त्री बनेको कुरालाई उनले व्यंगात्मक शैलीमा भनेका छन् ।
जम्मा ४२ सेकेण्डको भिडियो क्लिपमा बिडारीले भनेका छन्, “केपी ओलीले के पो गर्या हो र एउटा मान्छे मार्या अरे,भात खान लागेको मान्छे मार्या अरे,त्यो मान्छे मारेबापत झ्यालखान पर्या अरे,झ्यालखान चौध बर्ष बस्या अरे,चौध बर्षपछि झ्यालखानबाट फुत्केर आ अरे, त्यसपछि नेता भा रे,त्यहिकारणले त्यही नेता भएको कारणले एमालेको ठूलो नेता भा रे,अनि झापाको एक चुनाव क्षेत्रबाट राप्रपासँग साठगाँठ गरेर चुनाव जित्या रे,त्यही निर्वाचन क्षेत्रमा चुनाव जितेबापत प्रचण्ड समेतले बुध्दि बिगारेको कारणले प्रधानमन्त्री भारे !’ जनआस्थामा खबर छ।