काठमाडौं। कोभ्याक्स फ्यासिलिटीमार्फत ‘जोन्सन एन्ड जोन्सन’को १५ लाख मात्रा खोप यसै साता नेपाल आउने भएको छ । अमेरिकी राष्ट्रपति कार्यालयको भनाइ उद्धृत् गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले पनि उक्त परिणामा खोप नेपाल आउने जनाएको हो ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले गरिब देशहरूलाई ८० मिलियन खोप दिने घोषणा गरेका थिए । सोही घोषणाअनुसार नेपालले खोप पाउन लागेको हो । ‘अमेरिकाले कोभ्याक्सलाई डोनेट गर्ने हो । कोभ्याक्समार्फत खोप नेपाल आउने हो,’ स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका प्रमुख डा। तारानाथ पोखरेलले भने ।
रोयटर्सको समाचारमा भने कोभ्याक्समार्फत आउने हो वा होइन भन्ने खुलाइएको छैन । स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले खोप आउने भए पनि कहिले र कति आउने जानकारी नभएको बताएका छन् । ‘खोप आउने हो, तर कहिले र कति आउने यकिनै छैन, सम्भवतः यसै साता आउँला’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। कृष्ण पौडेलले भने ।
खोप आयातका लागि औषधि व्यवस्था विभागले स्वीकृति दिनुपर्ने हुन्छ । औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीले भने खोप आयातको प्रक्रिया पूरा भइसकेको बताएका छन् । अमेरिकी कम्पनी जोन्सन एण्ड जोन्सन कम्पनीले उत्पादन गरेको यो खोप एक मात्रा लगाए पुग्छ ।